

सरिता श्रेष्ठ / ३ फागुन, धादिङ –
धादिङ घोषणा पत्र जारी गर्दै दोस्रो जिल्ला सरसफाई सम्मेलन मंगलबारबाट सकिएको छ । धादिङको पीडा गाउँ विकास समितिको घाटबेसीमा दुईदिनसम्म चलेको सम्मेलनले २०७४ असोज मसान्तसम्म धादिङ जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिने उल्लेख गरिएको छ ।
भुकम्पबाट क्षति पुगेका खानेपानी योजनाहरुको सूचीबाट जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले प्राथमिकिकरण गरी सन् २०१९ सम्म जिल्लामा कार्यरत गैरसरकारी संस्थाहरुसंग समन्वय गरी संचालन गर्ने तथा प्राथमिकिरण गर्दा क्षतिको गहनता, जनसंख्याको आकार, दुर्गम, कठिनाई र पिछडिएका समुदायलाई अधिकतम प्राथमिकता दिइने सम्मेलनमा जानकारी गराइएको छ ।
जिल्लावासीको समृद्धिलाई माथि उठाउन जिल्लाको संस्कृति, परम्परा, रितीरिवाज, सामाजिक परिचालनसँग एकीकृत गरी विना अनुदान घरायसी चर्पी निर्माण अभियान सञ्चालन गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति धादिङको आयोजनामा “पूर्ण सरसफाई सबैको अभियान समृद्ध धादिङ हाम्रो पहिचान” भन्ने मूल नाराका साथ संचालन गरिएको सम्मेलनमा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख, संघसंस्था तथा स्थानीयको सहभागीता रहेको थियो ।
सम्मेलनमा जारी गरिएको घोषणापत्र
सरसफाई :
१. हाल जिल्लाको सबै गाविस तथा नगरपालिका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुले गाविस÷नगरपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको नेतृत्वमा सबै गाविस र नगरपालिकाहरुलाई खुल्ला दिशा मुक्त घोषणा गरी जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समितिको समन्वयमा २०७४ असोज मसान्तसम्म जिल्लालाई नै खुला दिशामुक्त जिल्ला घोषणा गरिनेछ ।
२. खुला दिशामुक्त घोषणा भैसकेका गाविसहरुलाई गाविस स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समितिको नेतृत्वमा सो गाविसमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहयोगमा सफा गाउँ घोषणा कम्तिमा १ वर्षे कार्यक्रम बनाई कार्यान्वयन गरिनेछ ।
३. जिल्लालाई खुला दिशामुक्त बनाउने अभियानलाई निरन्तरता दिँदै भुकम्पपछि भत्किएका शौचालयको हकमा अतिविपन्न घरपरिवारलाई शौचालय पुननिर्माण गर्न गाविस÷नगरपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समितिले आवश्यक नीति बनाई स्थानीय स्रोत परिचालन गरी गाविस÷नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिनेछ ।
४. जिल्लाको नगरपालिका तथा नगर उन्मुख क्षेत्रहरुमा नगर क्षेत्र सरसफाई योजना बनाई यथाशीघ्र कार्यान्वयन गरिनेछ ।
५. जिल्लास्थित राजमार्ग तथा अन्य सडक पुगेका क्षेत्रमा वजार व्यवस्थापन÷यातायात व्यवसायी÷स्थानीय होटल व्यवसायीहरुसंग समन्वय गरी वस रोक्ने क्षेत्रहरुमा सार्वजनिक शौचालय (सेफ्टी ट्याङ्की सहित) निर्माण, संचालन तथा मर्मत संभारकको सुनिश्चतता सहितको सार्वजनिक शौचालय यथाशीघ्र निर्माण गर्नेछौं । हाल निर्माण भएर संचालनमा रहेका शौचालयहरुको ढल (सेफ्टी ट्याक्की)लाई व्यवस्थित गराइनेछ ।
६. गाविस/ नगरपालिका स्थित शौचालय नभएका विद्यालय, स्वास्थ्य चौकी लगायत अन्य सरकारी तथा गैर सरकारी संघसंस्थाहरुमा समेत २०७४ असोजभित्र शौचालय बनाउन जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला स्थित सम्बद्ध सरकारी तथा गैरसरकारी कार्यालय, त्यस गाविसहरुमा कार्यरत संघसंस्थाहरुको सयुक्त समन्वयमा शौचालय निर्माण सम्पन्न गरिनेछ ।
खानेपानी
१. गाउँ विकास समिति तथा नगरपालिकाको अगुवाई र त्यस गाविसमा कार्यरत संघसंस्थाहरुको सहयोगमा खानेपानीमा पहुँच नपुगेका गाउँ/जनसंख्या पहिचान गरी अधिकतम प्राथामिकिकरण गरी खानेपानी आयोजनाहरु संचालन गरिनेछ ।
२. भुकम्पबाट क्षति पुगेका खानेपानी योजनाहरुको सूचीबाट जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले प्राथमिकिकरण गरी सन २०१९ सम्म जिल्लामा कार्यरत गैरसरकारी संस्थाहरुसंग समन्वय गरी संचालन गर्ने तथा प्राथमिकिरण गर्दा क्षतिको गहनता, जनसंख्याको आकार, दुर्गम, कठिनाई र पिछडिएका समुदायलाई अधिकतम प्राथमिकता दिइनेछ ।
३. जिल्लास्थित खानेपानी योजनाहरुको संचालनको अवस्था निक्र्याैल गर्न जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समितिले साझेदार संस्थाहरुको सहयोगमा मोवाईल एप्स वा अन्य नयाँ प्रविधिलाई जिल्लामा कार्यरत सबै संघसंस्थाहरुले प्रयोगमा ल्याई जिल्लाको सबै खानेपानी योजनाहरुको संचालन अवस्था पत्ता लगाई मर्मत संभार नीति बनाई सन् २०१९ भित्र सबै योजनाहरुलाई सुचारु गरिनेछ ।
४. लिफ्ट प्रविधिबाट संचालित खानेपानी योजनाहरुका लागि विद्युत प्राधिकरण तथा बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रसंग समन्वय गरी आवस्यक पर्ने विद्युतीय उपकरण व्यवस्था गर्नुका साथै महसुलमा छुटको व्यवस्थाका लागि जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिमार्फत पहल गरिनेछ । साथै खानेपानी आयोजनासँग सम्बन्धित विद्युत्तिकरण कार्यलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्नका लागि नेपाल विद्युत प्राधिकरणमा पहल गरिनेछ
५. एक घर, एक धारा, एक चर्पी तथा खानेपानी सेवाको स्तर अभिवृद्धि गर्ने अवधारणालाई खानेपानी सरसफाई रणनीतिमा समाहित गरिनेछ ।
तत्काल गर्नुपर्ने काम (Enabling Action)
१. जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठक प्रत्येक महिना कम्तीमा एक पटक बस्ने परम्परलाई निरन्तरता दिइनेछ ।
२. जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिबाट भौगोलिक, क्षेत्रगत अनुगमन समिति बनाई अनुगमनलाई प्रभावकारी बनाइनेछ ।
३. वि.स २०७४ आश्विन मसान्तसम्ममा जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न जिविस, गाविस, नगरपालिकाले उच्च प्राथमिकताका साथ सरसफाई क्षेत्रमा बजेट विनियोजन र परिचालन गरिनेछ ।
४. जिल्लालाई २०७४ असोज मसान्तसम्म खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न आवश्यक जनशक्ति तयार गर्न शौचालय निर्माणार्थ डकर्मी/सिकर्मी र प्रज्वलक(ट्रिगरर) तालिम दातृ निकायको सहयोगमा जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति मार्फत २०७४ बैशाख मसान्तसम्म संचालन गरिनेछ ।
५. जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति र जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पहिरोको जोखिम भएका गाविसहरु पहिचान गरी खानेपानी, सरसफाई तथा स्वच्छता प्रकोप जोखिम न्युनीकरण योजना बनाई कार्यान्वयन गर्ने
६. वि.स २०७१ मा तयार गरिएको मस्यौदा सरसफाई रणनीतिक योजनालाई परिमार्जन गरी खानेपानी तथा सरसफाई एकीकृत रणनीतिक योजना बनाई चालु आ.वको जिल्ला परिषदमा पारित गरी तत्काल कार्यान्वयन गरिनेछ ।
७. खानेपानी तथा सरसफाई एकीकृत रणनीतिक योजना कार्यान्वयन गर्नका लागि विस्तृत कार्ययोजना जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति अन्र्तगतको कार्यदलबाट १५ दिनभित्र तयार गरी आगामी जिल्ला परिषदमा अनुमोदनका लागि पेश गरिनेछ ।
२०७३ फागुन ३ गते प्रकाशित