Sat. Jul 5th, 2025

धादिङका भूकम्प पीडितको प्रश्न -‘दोश्रो किस्ता कहिले आउँछ सरकार ?’

ghar-nirman

शंकर श्रेष्ठ / ११ फागुन,  धादिङ  –

जग पुरा हुने वित्तिकै दोश्रो किस्ता आउँछ भन्थ्यो, हाम्रो त छाउन मात्रै बाँकी छ । दोश्रो किस्ता पाउन पाए जस्ता किनेर छाउन हुन्थ्यो । थाक्रेका राधाकृष्ण थापाले प्रश्न गरे– ‘दोश्रो किस्ता कहिले आउँछ सरकार ?’

 यो राधाकृष्णको मात्रै होइन, पहिलो किस्ता लिएर जग पुरा गरी दोश्रो किस्ताको पर्खाइमा रहेकाहरुको साझा प्रश्न हो । राधाकृष्णले इट्टा र सिमेन्टको जोडाइबाट चारकोठाको घर बनाएका छन् । ‘पहिलो किस्ताले जग खनियो, ऋण खोजेर गारो तुरियो । अब सरकारले दिने भनेको दोश्रो किस्ता नपाएसम्म घर छाउने उपाए छैन’ उनले भने ।

    भूकम्प अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोश्रो किस्ता वितरणको लागि का लागी ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँको अख्तियारी दिने निर्णय भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक महिना अघि नै दोस्रो किस्ता बितरणको अख्तियारी दिने निर्णय गरेको भएपनि पीडितले दोश्रो किस्ता पाउन सकेका छैनन् ।

    नीजि आवास निर्माण अनुदानको पहिलो किस्ता ५० हजार लिएर घर निर्माण गरिरहेकाहरुले जतिसक्दो चाँडै दोश्रो किस्ता उपलब्ध गराइदिन आग्रह गरेका छन् । थाक्रे–१ का श्यामलाल सुनार भने– ‘चाँडै नै डेढ लाख आइहाल्छ भनेर घर थालियो, आधा काम सकिएको छ, अहिले तत्काल पैसा पाइएला जस्तो छाट बुझिएन ।’ ऋण समेत नपाएपछि घर बनाउने काम रोकिएको उनले गुनासो गरे । थप रकम अभावका कारण श्यामलालले चारकोठे वालसिस्टमको घर अपुरै बनेको छ । दोश्रो किस्ता माग गर्नेमा कुम्पुर, नलाङ, जिवनपुर, सुनौलाबजार, कल्लेरी लगायतका गाविसका धेरै छन् ।

   घरको जग हालिसकेका भुकम्प प्रभावितले दोश्रो किस्ता छिट्टी पाउने खबरले खुसी भएकाहरु घर सम्पन्न भइसक्दा समेत दोश्रो किस्ता उपलब्ध नगराउँदा निराश बनेका छन् । जनताको आवश्यकता भन्दा आ–आफ्नै दुनो सोझ्याउने काममा सरकार लागेकोले सर्वसाधारण पीडितको समस्या थपिदै गएको दोश्रो किस्ता कुरेर बसेका भुकम्प पीडितहरुले आरोप लगाएका छन् ।

 घर बनाउन त थालियो, दोश्रो किस्ता बाड्ने सुरसार छैन । कुम्पुर– ३ फिसफिसेटारका ओम थपलियाले –‘अब कामको सिजन आयो, अब पनि दोश्रो किस्ता नआए नयाँ घरमा बस्ने सपना पुरा हुने भएन ।’ सरकारले तत्काल दोश्रो किस्ता उपलब्ध गराउन नसके यस वर्षको बर्खा पनि त्रिपालमै विताउनु पर्ने भन्दै पीडितहरु चिन्तित बनेका छन् ।

   दोश्रो किस्ताको माग गर्दै गाविस कार्यालय मार्फत पीडितले निवेदन दिएपनि तालुक निकायहरुमा पुगेको छैन । दोश्रो किस्ता माग गरेर हालसम्म सहरी विकास तथा भवन डिभिजन कार्यालय सम्म २ सय मात्रै निवेदन परेको कार्यालयका प्रमुख इन्जिनियर दिलिप भण्डारीले जानकारी दिए । जिल्लामा पहिलो किस्ता लिएर करिब ३५ सय घर दोश्रो किस्ता लिन योग्य रहेको रिपोटिङ छ तर करिब २ सयले मात्रै निवेदन दिएका छन्’ उनले भने ।     जिल्ला विकास समिति र राष्ट्रिय पुननिर्माण प्राधिकरणमा झनै दोश्रो किस्ता माग गरेर जिल्लाबाट एउटै पनि निवेदन परेको छैन । प्राधिकरण समन्वय कार्यालय धादिङका रविचन्द्र पञ्जियारले भने ‘गाउँगाउँबाट दोश्रो किस्ता माग भएको खबर सुनेका छौं तर हामीकोमा अहिलेसम्म एउटा पनि निवेदन आइपुगेको छैन ।’

   गाविस कार्यालयहरुका अनुसार भने दोश्रो किस्ता माग गर्दै एक गाविसमा एक सयदेखि २ सय सम्म निवेदन परेका छन् । थाक्रे गाविसमा २ सय, जीवनपुरमा एक सय, कुम्पुरमा एक सय ५० को हाराहारीमा दोश्रो किस्ताको लागि निवेदन दर्ता भएको गाविस सचिवहरुले बताएका छन् ।

 दोश्रो किस्ताको तत्काल आवश्यकता परेको भएपनि माग गर्ने तरिका र प्रकृया नजान्दा समस्या आएको हो । पहिलो किस्ता लिएर घर निर्माण सम्पन्न गरिसकेको भएपनि दोश्रो किस्ता कसरी लिने भन्ने ज्ञान नहँदा निवेदन नदिएको सदरमुकाम स्थित शान्तबजारका रामचन्द्र नेपालीले बताए । गाउँमा पुग्ने जोकोहीलाई ‘हामीलाई दोश्रो किस्ता कहिले आउँछ सर ?’ भनेर सोध्नेले प्रकृया पु¥याएर निवेदन दिन सकेका छैनन् । कुम्पुर–३ का वडा नागरिक मञ्चकी संयोजक सुमित्रा अर्यालले बताइन्– ‘दोश्रो किस्ता कहिले पाउँछ ? त्यसको लागि के गर्नुपर्छ नानी’ भनेर हामीलाई सोध्छन्, हामीसंग पनि त्यसको जवाफ छैन ।’ दोश्रो किस्ताको प्रकृयाको बारेमा गाउँका अगुवाहरुलै अलमलमा छन् ।

 मापदण्ड अनुसार पहिलो किस्ता पाइसकेर आधारभुत तहको निर्माण कार्य सम्पन्न गरिसकेकाहरुले दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

२०७३ फागुन ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: