Sat. Jul 5th, 2025

आज शिवरात्री, धादिङको सिद्धालेक र गुप्तेश्वर मन्दिरमा मेला लाग्दै

shiva
१३ फागुन,  धादिङ –

आज महाशिवरात्री पर्व । शिवरात्रीको अवसरमा गत वर्षजस्तै यस वर्ष पनि धादिङको विभिन्न ठाउँमा मेला लागिरहेको छ ।

प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने शिवरात्री पर्वमा हिन्दू धर्मावलम्बीले पशुपति लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरी मनाइने गर्दछ ।

शिवरात्रीको अवसरमा धादिङको नीलकण्ठ नगरपालिकामा रहेको पशुपति मन्दिर, नलाङको सिद्धालेक, कल्लेरीमा रहेको गुप्तेश्वर मन्दिर लगायतका ठाउँहरुमा पूजा तथा आराधना गरि मनाइँदै छ ।

नलाङ गाउँ विकास समितिको वडा नं १ र सलाङ गाउँ विकास समितिको वडा नं ४ को बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ। सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ। त्यसकै साथमा रहेको १५२५ मिटर अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक ४९ वटा गाविसहरु देख्न सकिन्छ भने अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन्।

त्यस्तै कल्लेरी गाउँ विकास समितिको वडा नं ९ मा पर्ने मुलाबारी गाउँको माथि नाङ्गो डाडाँमा अवस्थित गुप्तेश्वरी गुफालाई एक रमणीय स्थलको रुपमा लिन सकिन्छ । यहाँबाट धादिङका विभिन्न स्थानहरुको मनोरम दृश्यहरुको अवलोकन गर्न सकिन्छ । यस गुफाभित्र थुप्रै जीवहरुको आकृतिसँग मिल्ने दृश्यहरु देख्न सकिन्छ । गाई वस्तु, मानव लगायत खेतबारीको स्वरुपहरु देख्न सकिन्छ । यसैगरी महादेवको मूर्ति आकारको साथै गाईको थुनबाट दुध बगिरहे जस्तो पनि देख्न सकिन्छ ।

शिवजी उत्पन्न भएको रातका नामबाट नामाकरण गरिएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार रात्रीमध्ये एक पवित्र पर्वका रुपमा पुराणमा उल्लेख गरिएको छ ।

२०७३ फागुन १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: