
१३ फागुन, धादिङ –
प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले आसन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको जिल्ला अधिवेशनका लागि वर्तमान जिल्ला अध्यक्ष नवराज छत्कुलीलाई अघि सारेको छ ।
समितिको शुक्रबार बसेको बैठकले श्रमजिवि पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघको ८ औँ जिल्ला अधिवेशनका लागि प्रेस चौतारी नेपालको तर्फबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका वर्तमान अध्यक्ष नवराज छत्कुलीलाई आगामी कार्यकालका लागि पुनः अध्यक्ष पदका लागि अघि सारेको हो ।
धादिङ जिल्लामा नेपाल पत्रकार महासंघलाई सशक्त बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरी आम श्रमजिवी पत्रकारहरुको हकहित र अधिकार प्राप्तिका निम्ति उनको नेतृत्वले खेलेको भुमिकाको कदर गर्दै प्रेस चौतारी धादिङले छत्कुलीलाई पुनः अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको प्रेस चौतारी धादिङका सचिव शंकर श्रेष्ठले जानकारी दिए ।
बैठकले सबै पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघमा सबै सदस्यहरुको प्रतिनिधित्व हुने वातावरण बनाउन अन्य क्रियाशिल पत्रकार संगठनहरुसंग छलफल, संवाद र सहकार्यलाई प्राथमिकता दिई सहमतिबाट महासंघको नेतृत्व चयन गर्न प्रेस चौतारी धादिङले पहल गर्ने निर्णय गरेको छ । साथै नेपाल पत्रकार महासंघको आसन्न जिल्ला अधिवेशन भव्य सभ्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न पत्रकार महासंघलाई सहयोग गर्ने निर्णय समेत गरेको छ ।
महासंघको नेतृत्व छत्कुलीले संहालेसँगै पत्रकार महासंघ धादिङले आफ्नै भवन निर्माण गरेर कार्य सम्पादन गर्न सफल भएको छ । महासंघको भवन भित्र नै हाल सूचना केन्द्र र संचार सहकारी स्थापना भएको छ । पत्रकारको हक हित तथा सम्मानका लागि विभिन्न पत्रकारीता पुरस्कारको अक्षय कोष पनि स्थापना गर्न सफल भएको छ । पत्रकारहरुको दुर्घटना बिमा, पत्रकारका लागि कार्ड नविकरणका लागि केन्द्रिय टोलीलाई जिल्लामा नै ल्याएर सुविधा दिन सफल भएको छ ।
बैठक प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङका अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
२०७३ फागुन १३ गते प्रकाशित