

२२ फागुन, धादिङ –
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईयो) गोविन्द पोखरेलले भूकम्प पीडित सबैको गुनासो सम्बोधन गर्न नसकिएको बताएका छन् । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्प पश्चात भएको उद्धार, राहत तथा पुनर्निर्माणका क्रममा आएका ५३ हजार गुनासो सम्बोधन भएको र बाँकी अरुको सम्बोधन गर्न नसकिएको बताए । आवास निर्माणका लागि प्रदान गरिएको रकम छुट भएका घरधुरीको जतिसक्दो चाँडो सुनुवाई गरिने बताए ।
आइतबार दैविक प्रकोप उद्धार समिति धादिङको बैठकमा उठेका जिज्ञासा सम्बोध गर्दै कार्यकारी निर्देशक पोखरलले पारर्दशी रुपमा एकीकृत बस्ती निर्माणका कार्यमा गैरसरकारी निकायले सहयोग गरे त्यसको स्वागत गर्ने बताए । भूकम्पपछि पुनर्निर्माणको कार्यक्रमा केही ढिलाइ भएको स्वीकार गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक पोखरेलले नियत, संस्कार र क्षमतालाई ध्यान दिएर सबैले काम गर्न आग्रह गरेका छन् ।
जोखिमयुक्त बस्तीमा रहेका पीडितहरु आफै सर्न चाहन्छन् भने थप जग्गा किन्न राज्यको ढुकुटी अनुसार रकम दिने व्यवस्था गर्न छलफल चलिरहेको समेत बताए । भूकम्प प्रतिरोधी घर निर्माणका लागि गाउँ गाउँमा तालिम दिने तथा सरकारको संयन्त्र अनुसार जनशक्ति परिचालन व्यापक बनाउने जानकारी दिए ।
दाताले बचन पुरा नगर्दा भुकम्प पीडितलाई समयमै दोश्रो किस्ता वितरण गर्न नसकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा. गोविन्द पोखरेलले बताएका छन् । पहिलो किस्ता बुझेर निर्माण गर्नुपर्ने आवश्यक पूर्वाधार पुरा गरेपछि दोस्रो किस्ता तत्कालै उपलब्ध गराउने भनिएपनि दाताले बोले अनुरुप र समयमा रकम नदिएको उनले बताए । दाताकै भरमा पुननिर्माणको बजेट निर्माणमा नै केही त्रुटि भएको उनले स्वीकार गरे । विपन्न र दुर्गम क्षेत्रका बस्तीका पीडितहरुलाई थप रकम सहयोग गर्न गैरसरकारी निकायलाई आग्रह गरे ।
पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक पोखरेलले रिगाउँबाट दामगाडेमा आइ अस्थायी शिविरमा बसोबास गरिरहेका भूकम्प पीडितहरुसँग भेटघाट गरेका थिए ।
२०७३ फागुन २२ गते प्रकाशित