Sat. Jul 5th, 2025

सडक विभागको बेवास्ताले बिग्रियो पृथ्वीराजमार्ग

baireni sadak

शंकर श्रेष्ठ / १ चैत,  धादिङ –

पृथ्वी राजमार्गको बैरेनी खण्ड डेढ वर्षदेखि खोलाको बगर जस्तै बनेको छ । सडकको दुबै लेनमा खाल्डैखाल्डो छ । पानी परे हिलाम्मे बन्छ । घाम लागे धुलोले आँखा हेर्नै सकिदैन । दैनिक हजारौ सवारी आवात जावत गर्ने राजमार्ग सडक विभाग कै बेवास्थाले थप विग्रिएको हो ।

    बैरेनी–८ बैरेनी बजार नजिकै दराटेमा करिब ३ सय मिटर सडकमा खाल्डैखाल्डो छ । सडक सुरक्षाको जिम्मेवारी पाएको निकायले चासो नदिँदा मुलुकै प्रमुख राजमार्ग मृत्यु मार्ग बन्ने खतरा बढेको छ । राजमार्गका खाल्डाखुल्डी सवारी दुर्घटनाको उच्च जोखिम बन्न पुगेको हो । दैनिक एक न एक जना राज्यका ठूला ओहोदाका मानिसहरु यहि बाटो भएर यात्रा गर्ने भएपनि राजमार्गको अवस्था नाजुक हुँदा कसैको ध्यान पुगेको छैन ।

   दुर्घटनामा भौतिक तथा मानविय क्षति हुँदा पनि जिम्मेवारी पाएको निकाय सडक डिभिजन कार्यालय र सडक विभाग भने मौन बसेको स्थानीयहरुले गुनासो गरेका छन् । सडकको मर्मत तथा स्तरउन्नती गर्नुपर्ने जिम्मेवारी पुरा नगर्दा सडकमा बनेका खाल्डाखुल्डीले सवारी दुर्घटनाको जोखिमलाई बढाएको छ ।

    दैनिक सयौ साना ठुला सवारी गुड्ने राजमार्गमा दुर्घटनामा पर्ने गरेका छन् । पछिल्लो समयमा हुने सवारी दुर्घटनाको प्रमुख कारक मध्ये राजमार्गका ठाउँठाउँमा भत्किएका पिँच पनि हुन् । तिव्र गतिमा गुड्ने सवारीका चक्का खाल्डोमा परेपछि दुर्घटनामा पर्ने गरेका सवारी चालकहरु बताउँछन् । काठमाण्डौबाट धादिङ फर्कदा पटक पटक खाल्डाकै कारण दुर्घटनाको जोखिमबाट बचेको मोटरसाइकल चालक राजन सिलवालले बताए ।

 मर्मत भएको बेला पनि सर्वसाधरणको आँखामा छारो हाल्ने तरिकाले काम मात्रै हुने गरेकोले समस्या थपिने गरेको छ । खाल्डो परेको सडक टाल्ने काम गरिन्छ तर गुणस्तीय नहुँदा केही समयमै फेरी भत्किएर जान्छ । बैरेनी स्थित नेत्रावती प्रेस संचालक भरत अधिकारीले भने ‘सडक राम्रोसँग मर्मत नगरेर टालटुल गर्ने प्रवृत्तिले खाल्डो झनै ठूलो बन्ने गरेको छ ।’ मर्मत समयमै नगर्दा खाल्डो ठूलो भएको र सडक बगरमा परिणत भएको स्थानीयहरुको भनाई छ ।

   विग्रिएको सडकको बारेमा सडक विभागलाई पटक पटक जानकारी गराएर मर्मत गर्न आग्रह गरेपनि अहिलेसम्म मर्मत नगरेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरिक्षक कृष्णराज सापकोटा बताए । ‘मर्मतको लागि टेण्डर भइसकेको भन्ने जानकारी छ तर कहिले काम हुन्छ, किन काम सुरु भएन र कहिलेबाट सुरुहुन्छ भन्नेकुरा थाहा छैन’ उनले भने ।

   दराटे क्षेत्रमा विग्रिएको सडकको दिर्घकालिन मर्मतको लागि १० मिटर चौडाई र साढे ३ सय मिटर लम्बाई सडक ढलान गर्ने बताइएको थियो । तर अहिलेसम्म कुनै काम थालनी भएको छैन । अघिल्लो वर्ष नै काम सुरु हुने जनाएपनि बजेट व्यवस्थापन नहुँदा मर्मत गर्न नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । विग्रिएको स्थानको साढे ३ सय मिटर सडक ढलानको काम अब छिट्टै थालिने इन्जिनियर मधुसुधन साखीले बताए । बजेट नभएकोले अघिल्लो वर्ष काम गर्न सकिएन । इन्जिनियर साखी भने ‘अहिले ढलानको लागि टेण्डर भइसकेको छ छिट्टै काम सुरु हुन्छ ।’

 सडक मर्मत नहुँदा साना सवारी मात्रै होइन यात्रु बस र ट्रकहरु पनि समस्यामा पर्ने गरेको छ । सडकको बीच भागमा पनि ठूल्ठूला खाल्डामा डायर परेपछि लोड बोकेको ट्रकको पट्टा भाँचिने र गन्तव्यसम्म सामान पु¥याउनै नसकिने ट्रक चालक रविन्द्र यादबले बताए । सडक वर्षेनी ठाउँठाउँमा मर्मत गरिराको देखिन्छ । तर केही दिनमै काम नलाग्ने बन्छ । उनले भने ‘पैसा सक्नका लागि मात्र मर्मत गरेजस्तो गर्छ त्यस्तो मर्मतको के अर्थ ।’

सामान्य अवस्थामा ६० देखि ८० को स्पीडमा कुद्ने सवारी त्यहाँ पुगेपछि रोकिने गरेको छ । तिव्र गतिमा कुदेर आएको अवस्थामा खाल्डोमा चक्का परे पछि बस तथा ट्रक पल्टीने खतरा हुन्छ । त्यस्ता ठाउँमा ट्राफिकले पनि केही गर्न नसक्ने ट्राफिक प्रहरीहरु बताउँछन् । अत्याधिक सवारीको चाप रहेको सडक मर्मतको काम गुणस्तरीय नहुने र सडकको क्षमता भन्दा बढि सवारी कुदाउनुपर्ने बाध्यताले पनि चाँडै विग्रिने गरेको उनीहरुको अनुभव छ ।

     ट्राफिक प्रहरीको त्थाङ्क अनुसार पृथ्वीराजमार्गको बैरेनी हुँदै देशको ६० भन्दा बढि जिल्लाका यात्रु आवत जावत गर्छन् । यो सडक हुँदै दैनिक १२ हजारको हाराहारीमा सवारी गुढ्ने गर्दछन् ।

२०७३ चैत १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: