
११ चैत, धादिङ –
धादिङ जिल्लामा यस आर्थिक वर्षको साउनदेखि हालसम्म २ सय ९६ जना क्षयरोगका बिरामीहरु रहेका छन् ।
ती मध्ये १ सय १५ महिला र १ सय ८१ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य निरीक्षक विष्णु रिजालले जानकारी दिएको छ । अघिल्लो वर्षको तुलनामा क्षयरोगको बिरामी घटेको कार्यलयले जनाएको छ ।
हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।
धादिङमा पनि त्यसको प्रभावकारीता र असर न्युनिकरणका लागि विभिन्न सचेतनात्मक कार्यक्रमहरु भइरहेको छ । समुदायमा लुकीछिपी रहेका क्षयरोगीका बिरामीलाई उपचारका लागि निको पारौँ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको छ ।
क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।
एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ ।
क्षयरोग किटाणुबाट लाग्ने सरुवा रोग भएकाले यसबाट बच्न सबैले सर्तक अपनाउनुपर्ने र यो रोग हाल जटिल बन्दै गएकाले न्युनिकरणका लागि आफै सर्तकता अपनाउन जिल्ला स्वास्थ्य कार्यलय धादिङले आग्रह गरेको छ ।
२०७३ चैत ११ गते प्रकाशित