

मुरारी अधिकारी –
आकर्षक पदमार्ग पर्यटन गन्तव्यको रुपमा रहेको रुवी क्षेत्र धादिङ जिल्लाको आशा लाग्दो पर्यटन गन्तव्यको रुपमा विकास गर्न सकिने क्षेत्र हो । उत्तरी धादिङको पर्याप्त पर्यटकीय सम्भाब्यता बोकेको गणेश हिमाल क्षेत्र (रुविभ्याली) कोे प्रमुख आकर्षणको बिन्दु भनेको गणेश हिमश्रृंखलाको दृश्यावलोकन नै हो । यो हिमाल मौसम सफा हुँदा काठमाडौँबाट समेत हेर्न सकिन्छ ।
मनास्लु र लाङटाङ हिमालको बिचमा अवस्थित गणेश हिमालको लोभलाग्दो अनुहार नजिकबाट नियाल्नको लागि सवैभन्दा उत्तम विकल्प पदयात्रा नै हो । पदयात्राको लागि टान र गणेशहिमाल पर्यटन विकास समितिको पहलमा युएनडिपीको सामथ्र्यसंग सहकार्य गरि भौतिक निर्माण अन्तर्गत पदमार्गहरु निर्माण गरिएको भएपनि यसलाई अझै स्तरउन्नती गर्नुपर्ने आवश्यकता छ । अझ सामथ्र्य परियोजना अन्तर्गत बनाइएको भौतिक संरचना, पदमार्गहरु र उत्तरी धादिङको ऐतिहासिक मौलिक संस्कृति बोकेको गाउँबस्तीहरुलाई हालैको भुकम्पले गम्भीर क्षति पु¥याएकाले तत्काल त्यसलाई पर्यटनमैत्री स्वरुपमा पुननिर्माण गर्नुपर्ने आवश्यकता थपिएको छ ।
छोटो दुरी ३ दिन देखि लामो दुरी २१ दिन सम्म पदयात्राको सम्भावना बोकेको रुबी भ्याली क्षेत्रमा हिन्दुङदेखि कालो दह र सेतो दह सम्म पुग्ने पदमार्ग निर्माणलाई पूर्णता दिनु आवश्यक छ । हिन्दुङदेखि दोब्रेडाँडा सम्म पुग्ने पदमार्ग निर्माणलाई पूर्णता दिँदै कालो दह, सेतो दह देखि गणेश हिमाल बेस क्याम्प सम्म पदमार्ग निर्माण गर्न आवश्यक छ । त्यसै गरि सेर्तुङ देखि सिङला सम्मको पदमार्ग निर्माण, लापा ठूलो गाउँदेखि माङनेपाससम्म पदमार्ग, खादिङ गणेशकुण्ड हुँदै सेतो कालो दह र सेर्तुङ तातोपानीसम्म पनि पदमार्ग निर्माण गर्न आवश्यक छ ।
तिप्लिङदेखि पाल्दोर पिकसम्म पुग्ने पदयात्रा निर्माण, झार्लाङदेखि सिंलासम्म पुग्ने पदमार्ग र चालिसेदेखि तिरगाउँ सम्म पुग्ने पदमार्ग मर्मत गर्नु जरुरी छ । झार्लाङको तातोपानी ब्यवस्थापन तथा पदमार्ग निर्माणको पूर्णता, भ्यू पोइण्ट निर्माण गरि हिमालय, पहाड, गाउँबेशी, छहरा र तालतलैयाहरु अवलोकन गर्न सक्ने पुर्वाधार बनाउन सकिएमा यो क्षेत्रको पर्यटनले विशेष आकर्षक गन्तब्यको रुप लिन सक्ने प्रचूर सम्भावना बोकेको छ । त्यस्तै दोब्रेडाँडा र सिंङलामा पनि भ्यू टावर निर्माण गरि पर्यटकहरुलाई प्राकृतिक दृश्यावलोकनको आनन्द दिन सकिन्छ ।
उत्तरी क्षेत्रमा पर्ने गणेश हिमाल १, २, ३ र ४, पाल्दोर पीकजस्ता प्रसिद्ध हिम शृंखलाहरु यो क्षेत्रमा पर्छन् । नेपाल कै एक मात्र नमूनाको रुपमा रहेको जस्ता खानी, बहुमुल्य धातूहरु रुवी, क्रिस्टल, क्वार्च, निलम, पन्ना, टोपाच आदि यही स्थानमा पाइन्छन् । विभिन्न दुर्लभ जडिबुटीहरु जस्तैः यार्सागुम्बा, जटामसी, निरमसी, पाँचऔले, तीतेपाती, विष, कुट्की, सिलाजू, सात प्रजातीका लालिगुराँस, धुवी लगायतका अति मुल्यवान जडिबुटीहरु हामीले सहजै पाउन सक्छौं ।
त्यस्तै, विश्वमा नै दुर्लभ मानिएका जनावर तथा पंक्षीहरु रतुवा, मृग, झारल, घोरल, थार, बाघ, भालु, हिउँ चितुवा, पाण्डा, हुँइचिल, डाँफे, मुनाल, कालिज, लाटोकोशेरो, ढुकुर तथा बन कुखुराहरु पनि हामीले त्यस क्षेत्रमा पाउन सक्छौं । नेपालकै उत्कृष्टको रुपमा रहेको तातो पानी धादिङ जिल्लाको उत्तरी भेगमा मात्रै तीन ठाउँमा पाइन्छ । तिप्लिङ गाविसको लिङ्जो, सेर्तुङ गाविसको चालिस र झार्लाङ गाविसमा समेत तातोपानी रहेको छ ।
पर्यटकीय तथा धार्मिक दृष्टीले अति महत्वपूर्ण मानिने कालो कुण्ड, सेतो कुण्ड र गणेश कुण्ड सोही क्षेत्रमा अवस्थित छ । तामाङ, गुरुङ, विश्वकर्मा र नेवार जातिको संयुक्त वसोवास रहेको यो स्थान साँस्कृतिक हिसाबले समेत धनी क्षेत्रको रुपमा चिनिन्छ । यी जातिहरुको परम्परागत सँस्कृतिहरु अहिलेपनि जीवन्त छन् । तामाङ जातिको मेन्दोमाया, साइखोले, माने नाच, पारु नाच तथा लामा नाच । गुरुङ जातिको रोधी, घाटु र मारुनी नाच अहिलेपनि उत्तिकै चल्तीमा छ । त्यसैगरि विश्वकर्माको मालश्री र नेवार जातिको लाखे नाचपनि अहिले विशेष पर्व र अवसरहरुमा हेर्न पाइन्छ ।
उत्तरी भेगको उत्कृष्ट भ्यूप्वाइन्टको रुपमा पाङसाङ पास, सिङला पास, तीन सुरे, दोब्रा डाँडा, तिम्ला डाँडा र माङ्ने भन्ज्याङ्गलाई लिइन्छ । जहाँबाट गणेश हिमाल, लाङटाङ हिमाल, मनास्लु हिमाल, अन्नपूर्ण तथा विश्वको सर्वोच्च शिखर सगरमाथाको रेन्ज समेत देख्न सकिन्छ । यी पासहरुलाई धार्मिक दृष्टिलेपनि महत्वको रुपमा हेरिन्छ । उत्तरी भेगकै अलि तल झरेपछि गंगाजमुना झरना, नेत्र ताल, नेपालको दोश्रो ठूलो टारको रुपमा चिनिने सल्यानटार, त्रिपुरासून्दरीको मन्दिर तथा कटुन्जे डाँडाँको भ्यूप्वाइन्टलाई पनि पर्यटकीय दृष्टीले महत्वका साथ हेरिने गरिएको छ ।
पर्यटकहरु रुविभ्याली क्षेत्रमा संस्कृति र परम्परा हेर्न आउने भएकाले यस क्षेत्रको संस्कृति र परम्पराहरुलाई संरक्षण, सम्बर्धन र प्रबर्धन गर्र्नु आवश्यक छ । लापा ठूलो गाउँमा आदिबासी जनजाती संग्रालय निर्माण, चालीसे सेर्तुङमा गुरुङ संग्राहलय निर्माण, सेर्तुङ ठूलो गाउँमा तामाङ संग्राहलय झार्लाङमा मेन्दोमायाँ संग्रालय निर्माण, खादिङ गाउँमा गुरुङ गुम्बा निर्माण, रिचेत गाउँमा रोधी घर निर्माण, तिप्लिङ, सेर्तुंङ तथा झार्लाङका ऐतिहासिक गुम्बा मर्मत तथा जिर्णोद्धार पर्यटन पूर्वाधार निर्माणका लागि गर्नै पर्ने कामको प्राथमिकतामा पर्दछन् । प्राकृतिक र सांस्कृतिक रुपले सम्पन्न रुविभ्याली क्षेत्रमा वाह्य पर्यटक मात्र हैन आन्तरिक पर्यटन प्रबर्धन गर्न सकिने पनि प्रशस्त सम्भावना रहेको छ ।
रुविभ्याली ट्रेकिङ एजेन्ट एशोशियसन नेपाल टानको नयाँ प्रवद्धित पदमार्ग भएकाले केन्द्रिय रुपमा गरिने प्रवर्धन संगै जिल्ला स्तरबाट पनि यसको आकर्षण बढाउन र ब्यवस्थापन तथा पुर्वाधारमा विशेष ध्यान दिन सके रुविभ्याली र यसको रुटको रुपमा धादिङका उत्तरी क्षेत्र संग जोडिने गाविसहरुमा पनि होम स्टे, फार्म ट्रिप जस्ता पर्यटन प्याकेजहरुलाई ब्यवसायिकरण गर्न सकिने सम्भावना देखिन्छ । तसर्थ नेपालकै आकर्षक पर्यटन गन्तब्यका रुपमा रहेको रुविभ्याली क्षेत्र अर्थात धादिङका विकट भनिने रमणीय उत्तरी क्षेत्रका गाविसहरुका सांस्कृतिक, ऐतिहासिक धरोहरहरुको संरक्षण गर्दै पर्यटनमैत्री ब्यवहार र योजनाहरुमा जोड दिनु समृद्ध धादिङको परिकल्पना साकार पार्ने महत्वपूर्ण कडिको रुपमा सवैले अबलम्बन गर्नुपर्ने देखिन्छ ।
(टानका पूर्व अध्यक्ष रमेश धमला, गणेशहिमाल पर्यटन विकास समितिका पूर्व अध्यक्ष एवं टानका पूर्वउपाध्यक्ष कुलबहादुर गुरुङसँगको कुराकानीमा आधारित)
२०७३ चैत १४ गते प्रकाशित