
सरिता श्रेष्ठ / १५ चैत, धादिङ –
धादिङको नीलकण्ठ नगरपालिका १४ (साविकको धुवाँकोट गाउँ विकास समिति वडा नं ५ )अम्बटेका रिर्षेश्वर वस्ती ६ वर्ष विदेशमा काम गरेर नेपाल फर्किएका छन् । ३ वर्ष सिंगापुर र ३ वर्ष दुवै गरी ६ वर्ष विदेशी भूमिमा काम गरेतापनि उनी त्यति सन्तुष्ट छैनन् । पढ्दापढ्दै कामको खोजीमा भौतारिदै विदेश पुगेका वस्तीको सिंगापुरमा खासै कमाई भएन । जेनतेन पारिवारिक खर्च धान्न मात्र पुगे ।
अहिले उनी घर फर्किएका छन् । उनी भन्छन् – “विदेश भनेको दुखको बाटो रहेछ । सानोतिनो भएनी आफ्नै देश प्यारो, अब विदेशको कल्पना कहिले गर्दिन । ” काम गरेर फर्किएका वस्ती अब आफ्नै गाउँठाउँमा केही गर्ने सोचमा छन् । हातमा सीप भएत गाउँघरनै प्यारो । उनका दाई पनि ८ वर्षदेखि इजरायलमा कार्यरत छन् । तर दाईको अलिहे कुनै अत्तोपत्तो छैन ।
विदेश गएर प्रशस्त पैसा कमाउने सोच बोकर विदेशीएका निरबहादुर गुरुङ पनि अहिले गाउँघरमै आफ्नै व्यवसाय गर्दै छन् । २०६१ सालमा कतार गएका भ्ुालभुलेका निरबहादुर गुरुङ भन्छन् —“अरुले कमाएको कुरा सुनेर रुखमा फलेको पैसा नै टिपौँला भन्ने सोचेर कतार गएँ । तीन दिन सम्म खाना त के पानी पनि खान दिएन । भोक र तिर्खालाई ट्वाइलेटमा झरेको पानी पिएर मेटाउनु पर्यो ।” परिवारको आर्थिक भारलाई कम गरी आर्थिक अवस्था सुधार गर्न, परिवारको भविष्य सुनौलो बनाउने सपना बोकेर विदेश गएका थिए । तर त्यति राम्रो आम्दानी नभएपछि घरमा नै फकिए ।
साथीभाई विदेश गएको देखेपछि गरिरहेको डकर्मी काम छाडेर विदेश गएका थिए । उनी भन्छन् आफ्नो देशमा जस्तो सहज कहाँ हुँदो रहेछ र ? भाषा नबुझेर धेरै दुख भयो । हामीले बोलेको उनीहरुले नबुझदा सोचेको जस्तो काम गर्न सकिएन । हाम्रा आवश्यकताहरु पुरा हुन सकेनन् । तोकेको जति तलब दिएन । आफ्ना मागहरु राख्दा काम नगर्ने भए नेपाल फर्केर जा भन्थ्यो । जसोतसो ऋण गरेर बल्ल म समेत २५ जना नेपाली गएका थियौँ ऋण चुक्ता नहुनुञ्जेल त्यहीँ काम गरेर सबै जना तीन वर्षमा फर्कियौँ ।” उनले नेपालमा आएर डकर्मी काम फेरि सुरु गरँे । ३ वर्ष ठेकेदारसँग काम गरे । उनले पछि अलिअलि फर्मा कनेम्सनको सामानहरु जुटाएर अहिले ठेकेदारको रुपमा कमाई गरिरहेका छन् । काम भयो भने महिनामा ३० हजार देखि ५० हजार सम्म आम्दानी नेपालमा नै बसेर गरिरेका छन् ।
खनियाबास गाउँपालिका वडा नं ५ का आइतीराम कामी कतारमा छन् । उनको अहिले कुनै अत्तोपत्तो छैन । उनकी श्रीमती सुनिता विक तीन छोरीहरुलाई स्याहार्दै श्रीमानको प्रतिक्षामा छिन् । सुरु सुरुमा त फोनमा कुरा हुन्थ्यो तर न फोन आउँछ न मान्छे नै आउँछ । फोनमा कुरा हुदाँ राम्रो कमाई छैन अब घर फार्किन्छु भनेर भन्नुहुन्थ्यो तर अहिलेसम्म कुनै अत्तोपत्तो छैन । नीलकण्ठ नगरपालिका ९ पाल्पाभन्ज्याङका कृष्ण नेपाली २०६२ सालमा मलेसिया पुगे । घरव्यवहार धान्न धौधौँ भएपछि विदेशको बाटो रोजेका उनी अहिले परिवारको सम्पर्कमा छैनन् । त्यस्तै खाल्टेका चेननिधि अगस्ति पनि सम्पर्कमा छैनन् । विदेशमा कमाएर स्वदेशमा सुखले बसौला भनेर मलेसिया छिरेका अगस्तिको २०६५ सालमा मलेसिया गएका थिए ।
यी त उदारण मात्र हुन् । दुई छाक खान, राम्रो लगाउन, लालाबाला हुर्काउन विदेशीएकाहरु हराउने, अलपत्र पर्ने लगायतका उदारहणहरु प्रशस्त मात्रामा भेट्न सकिन्छ । टिनको छानोमुनि ओत लाग्नु पर्ने बाध्यताबाट बिस्तारै टड्कीन विदेशको सुनौलो कल्पनामा भौतारिएकाहरु अभाव र गरिबीले डामिएर सुविस्ताको खोजीमा निस्केका हुन्छन् ।
सुखसयल, मोजमस्तीको बाटोतर्फ लम्कन सुनौला सपनाको खोजी गर्दै विदेशको सपना साचिरहेका हुन्छन् । सम्बन्ध र सपनालाई साक्षी राखि भौतारिदैँ विदेशीको बाटोतर्फ पाइलाहरु मोडिन थाल्छ । विदेशमा पैसा फल्छ भनेर विदेशीनेहरुको उदारहरण धादिङ जिल्लामा प्रशस्त मात्रामा भेटिन्छन् । केहीले जीवन नै विदेशमै समपर्ण गरे त केही पछुताउदै पूरानै बाटो आए ।
विदेशमा कमाई परिवारलाई खुसी पारौला भनेर विदेशीएकाहरु आफ्नै देशको माटोलाई झलझलती देखिरहेका हुन्छन् । विदेमा गएर बेपत्ता हुने, स्वदेश फर्कनेहरुको संख्या जिल्लामा बढ्दो छ । बढ्दो संख्यालाई कम गर्न तथा वैदेशिक रोजगारीका विषयमा काम गर्नका लागि जिल्लामा आवाज अभियान र सुरक्षित आप्रवासी सामी परियोजनाले काम गरिरहेको छ ।
२०७३ चैत १५ गते प्रकाशित