

सरिता श्रेष्ठ / १७ चैत, धादिङ –
स्थानीय तहको निर्वाचनका लागि धादिङ जिल्लामा १ सय ९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला मतदान केन्द्र सिफारिस समितिले केन्द्र निर्धारण गरेको हो ।
धादिङमा दुई नगरपालिका र ११ वटा गाउँपालिकाका लागि केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यलय धादिङका निर्वाचन अधिकृत इश्वर सिंम्खडाले जानकारी दिए ।
१ लाख २ हजार ९ सय ६८ जना पुरुष, १ लाख ३ हजार ७६ महिला र १ जना तेस्रोलिङ्गी गरी जम्मा २ लाख ६ हजार ४५ जना मतदाता रहेका छन् ।
२०७० सालमा भएको संविधान सभा निर्वाचनका लागि धादिङ जिल्लामा १ सय १० मतदान केन्द्र कायम गरिएको थियो । यस पटक एकवटा घटाएर १ सय ९ वटा निर्धारण गरिएको हो ।
नयाँ संरचना अनुसार जिल्लाको नीलकण्ठ नगरपालिकामा १५ वटा, धुनीबेसी नगरपालिकामा ९ वटा, थांक्रे गाउँ पालिकामा ११ वटा, गल्छी गाउँपालिकामा ८ वटा, गजुरी गाउँपालिकामा ८ वटा, वेनिघाट रोराङ गाउँ पालिकामा १० वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै सिद्धलेक गाउँपालिकामा ७ वटा, ज्वालामुखी गाउँ पालिकामा ८ वटा, त्रिपुरासुन्दरी गाउँपालिकामा ८ वटा, नेत्रावती गाउँपालिकामा ५ वटा, गंगाजमुना गाउँ पालिकामा ७ वटा, खनियाबास गाउँपालिकामा ५ वटा र रुविभ्याली गाउँपालिकामा ८ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।
२०७३ चैत १७ गते प्रकाशित