
२४ चैत, नुवाकोट –
नुवाकोट जिल्लाको लिखु गाँउपालिका–४ चौघडाको रानीटारमा बुधबार साँझ विषालु च्याउ खाँदा एकै परिवारका छ जना बिरामी परेका छन् ।
बिरामीमध्ये चार सिकिस्त छन् । विषाक्त च्याउ खाएर रानीटारका ६४ वर्षका पद्मबहादुर राई, उनकी ६४ वर्षीया श्रीमती जुनकिरी राई, २३ वर्षका छोरा रोकेश राई, २१ वर्षीया बुहारी ढोमा राई र नातिहरु क्रमशः रोहन राई र रोजन राई बिरामी भएका छन् ।
च्याउ खाएपछि सिकिस्त भएका रोकेश, उनकी श्रीमती ढोमा र छोराहरु रोहन र रोजनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचार भइरहेको छ ।
विषालु च्याउ खाएर बिरामी भएका घरमुली पद्मबहादुर र जुनकिरीको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।
राई परिवारले हिजो बेलुकाको खानामा आफ्नै अस्थायी आवासको खम्बामा उम्रिएको च्याउ खाएलगत्तै बान्ता हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने समस्या देखिएपछि स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि मध्यरातमा अस्पताल लगिएको हो ।
२०७३ चैत २४ गते प्रकाशित