
२५ चैत, धादिङ –
न्यायमा पहुँच वृद्धिका लागि सम्बन्धित निकायको क्षमता विकास गर्ने र समुदायमा पनि सचेतनाका कार्यक्रम सञ्चालन गरी नागरिकहरुमा न्यायप्रतिको विश्वास अभिवृद्धि गर्ने कार्यक्रम धादिङ जिल्लामा सुरु हुने भएको छ ।
सहयात्री समाज नेपालले कार्यक्रमको आयोजना गरि कार्यक्रमको बारेमा जानकारी गराएका छन् । न्यायमा पहुँच वृद्धि गर्ने हिसाबले सहयात्री समाज नेपालले बेलायति अन्तराष्ट्रिय विकास नियोगको आर्थिक सहयोग तथा केयर नेपालको साझेदारीमा जिल्लामा सञ्चालन गर्ने लागेको “निश्पक्ष र समतामुलक न्यायमा पहुँच सुदृढीकरण” परियोजनाका बारेमा सरोकारवालाहरु माझ छलफल गरेको छ ।
गरिब र बिपन्न परिबेसका पछाडि पारिएका समुदायको विश्वास अभिवृद्धि गर्ने र न्यायिक तथा अर्धन्यायिक निकायलाई संवेदनशील र जवाफदेही बनाउने उद्देश्यले ३ वर्षका लागी उक्त परियोजनाको शुरु गर्न लागिएको सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटाले बताउनु भयो । परियोजनाले विपन्न र सिमान्कृत समुदाय भित्रका महिला र बालिकाहरु निश्पक्ष र समतामुलक न्यायमा पहुँच स्थापित गर्ने लक्ष्य राखेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको प्रमुख आथित्यतमा भएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारु, जिल्ला शिक्षा कार्यालयका कृष्ण कुमार श्रेष्ठ, महिला तथा बालबालिका कार्यालयका निर्मला केशी लगायत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनीधिहरु, जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधिहरु र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले यस्ता खालका कार्यक्रमहरु एउटै गाउँपालिकामा केन्द्रित हुनु आवश्यक रहेको सुझाव थिए । साथै नागरिक र न्यायिक तथा अर्धन्यायिक निकायका वीचमा विश्वास अभिवृद्धि गर्न र न्यायको पहुँचमा देखिएका अवरोधहरु हटाउन महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रम गजुरी गाउँपालिकाको वडा नम्बर ४,५,६ तथा बेनिघाट रोराङ गाउँपालिकाको ३, ४ र ५ नम्बर वडामा परियोजना आगामी सन् २०२० को डिसेम्बर सम्म सञ्चालन हुनेछ ।
२०७३ चैत २५ गते प्रकाशित