
मनिष दुवाडी / ५ बैशाख, धादिङ –
बैशाख ३१ गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरु चुनावी योजना बोकेर गाउँ–गाउँमा आमसभा तथा वडाभेलाहरु गरिरहेका छन । बीस वर्षको अन्तराल पछि हुन लागेको स्थानिय निकायको निर्वाचनमा स्वभाभिक रुपमा आकाङक्षीहरु बढी देखा परिरहेका छन । आकाङक्षीहरुले पनि शीर्ष पदमा मात्रै इच्छा देखाएपछि धादिङका राजनैतिक पार्टीहरुमा उमेद्वार छान्न मुस्किल भएको छ ।
विशेष गरि अहिलेको निर्वाचनमा टिकट लिनको लागि युवा पुस्ताको बढी लविङ हुन थालेपछि पार्टीहरु समस्यामा परेका छन । विगतका देशमा भएका राजनैतिक उपलब्धीहरु आफ्नै पार्टीको कारण सम्भव भएकाले स्थानिय चुनावमा पनि आफ्नै पार्टीलाइ जिताउन आग्रह गर्दै सवैजसो राजनैतिक दलका कार्यकर्ताहरु चुनाव प्रचारप्रसारमा लागिरहदा गाउँपालिका र नगरपालिकामा वडा देखि नै उमेद्धार छान्न भने सवैजसो पार्टीलाइ सकस परिरहेको छ ।
वडा देखि नै धादिङमा क्रियाशील ठुला पार्टीहरुमा उम्मेदवारका आकाँक्षीहरु ३ भन्दा बढी देखिन थालेका छन् । विगतका चुनावहरु भन्दा पृथक अधिकार रहने हुँदा पनि उम्मेदवारहरुको आकाँक्षी बढेको पार्टीहरुले जनाएका छन । निर्वाचनमा प्रतिस्पर्धा गर्नको लागि अघि सरेका आकाङक्षीहरु सवैजसो अध्यक्ष, उपाध्यक्ष वा मेयर उपमेयरमै लविङ गरिरहेका छन । यसपालिकाको स्थानिय निकायको भुमिका सशक्त रहने भएकाले पनि शीर्ष पदमा दावी गर्नेहरु बढी रहेका छन । एउटै वडामा एउटै पार्टीबाट वडा अध्यक्ष पद लिनको लागि ८ जनामासम्म अघि सरेका छन । आकाङ्क्षीहरु पाए अध्यक्ष लिने नपाए मतदाता मात्रै भएर बस्ने भनेकाले पनि सवैको चित्त बुझाउन पार्टीहरुलाइ गाह्रो भइरहेको छ ।
नेपाली काङग्रेस जिल्ला कमिटि सदस्य नरेन्द्र भट्ट भन्छन, ‘२० बर्षअघिदेखी स्थानिय निकायको चुनाव भएन, त्यो बेलादेखी नै राजनितिमा होमिएका युवाहरुमा अहिले निराशा छाएको छ, युवाहरुमा केही गरेर देखाउने क्षमता र आँट भएपनि अवसर नपाएर पछि परिरहेको हुनाले पनि अवको चुनावमा युवाहरुलाइ गाउँपालिका र नगरपालिकाको शीर्ष पदमा उठाउनुपर्छ भनेर पार्टीमा समेत लविङ गरिरहेका छौँ ।’ मुलुकमा यूवा पलाएन भएकै कारण विकासले गति लिन नसकेकोले स्थानीय तहमा यूवाको जिम्मेवारी महत्वपूर्ण रहेको यूवाहरुले धारणा राख्दै आएका छन् ।
एउटा वडामा ५ जनाको प्रतिनिधित्व रहने भएपनि आकाङक्षीहरु पाएसम्म अध्यक्ष र उपाध्यक्षकै पद लिने नपाए सदस्य पद नलिने मनस्थितिका साथ पार्टीमा लविङ गरिरहेका छन । लामो समय अघि राजनिति गरिरहेपनि स्थानिय निकायको चुनाव नहुँदा आफुहरुको राजनिति ओझेलमा परेकाले यसपटक पुरानालाइ नै प्रथामिकताा राखेर उम्मेद्धार चयन गर्नुपर्नेमा पुराना नेताहरुले तर्क गरिरहेका छन तर लामो समयपछि निर्वाचन हुन लागेकाले पुराना र पाका नेताहरुको तर्कलाइ युवा पुस्ताहरुले पछि पारिरहेका छन ।
पार्टीगत हिसावमा फरक फरक ब्यक्ति उम्मेद्धार हुने भएपनि दलविशेषको भोटमात्रै भन्दा पनि स्थानिय निकायको चुनाव ब्यक्ति केन्द्रित हुने धादिङ जिल्लाको समग्र राजनीतिलाई नजिकबाट नियाली रहेका राजनीतिक जानकारहरु बताउछन । यो स्थानीय तह पुनरसंरचना पछिको चुनाव भएकोले जनताले सक्षम र काम गर्ने व्यक्तिलाई मतदान गर्ने हुँदा कस्ले कस्ता उम्मेदवार ल्याउँछन् त्यसले मात्र जीतका आधार तय गर्ने भएकाले अहिले नगरक्षेत्रमा मेयर र उपमेयर चयन गर्नको लागि राजनैतिक दलहरुलाइ धौ धौ नै परेको छ ।
२०७४ बैशाख ५ गते प्रकाशित