Sat. Jul 5th, 2025

स्थानीय तह निर्वाचन : भोकभोकै परिणामको पर्खाइ


शंकर श्रेष्ठ / ३ जेठ,  धादिङ-

‘के हुँदै छ सर ? कस्ले जित्यो ?’ ‘कति भोट गनियो सर ? अहिले को अगाडि छ ?’  मतगणना केन्द्रबाट बाहिर देखा पर्ने जो कोहीलाई बाहिरबाट सोधिने गरेको प्रश्न हो यो ।

जब मतदान अधिकृत बाहिर देखा पर्छन्, ‘आयो.. आयो..’ भन्ने हर्सित आवाज ठूलै स्वरमा सुनिन्छ, दशौं प्रश्नहरु तेर्सिन थाल्छन् । भित्र भइरहेको मतगणनाको परिणाम सुन्न आतुर दलका समर्थकहरुलाई भोक र निन्द्रको भन्दा मत परिणामको चिन्ता छ । खनियाबास गाउँपालिकाको मतगणना केन्द्र बाहिर परिणाम कुरेर बसेका पत्रुस तामाङ भन्छन् ‘गाउँकै दाई उम्मेदवार छ, जित्छ की भनेर कुरिरहेको छु ।’

यो मतगणना स्थल बाहिर करिब ३ सयजनाले घेरेर बसेका छन् । झार्लाङ, सत्यदेवी, दार्खा देखि परिणाम थाहा पाउन यहाँ आएका छन् । यूवायुवती र बृद्धबृद्धा सबैको सहभागिता उत्साहजनक छ । सोमबार दिउसो मतगणना सुरु भएदेखि नै कुरिरहेका छन् भोक्टेनीका सुब्बा तामाङ पनि । अघिल्लो चुनावको मतगणना भन्दा यस पटक उनलाई छुटटै उत्सुकता छ । सुब्बा भन्छन् ‘मेरै साथी उम्मेदवार छ, नतिजा सुनाउला र घर जाँला भन्दा भन्दै रातै यहि वित्यो ।’ सबैको हारजित सुनेर मात्रै अरु काममा लाग्ने बुब्बाले सुनाए ।

दार्खा बृचेतका पत्रुस तामाङले भोट खसालेको यो पहिलो पटक हो । २०७० सालमा भोट हाल्न पाएन् । त्यत्ति चासो पनि लागेन । गाउँपालिका प्रमुखमा गाउँकै दाजु उम्मेदवार भएकाले सोमबारदेखि त्यहि चाउचाउ र पानी खाएर परिणाम कुरिरहेका छन् । २ सय मत गनेपछि सार्वजनिक गर्छ । एक पटक सुनेपछि अर्काेपटक सुन्न करिब २ घण्टा कुर्नु पर्छ । ‘तै पनि भोकभोकै राती नसुतेर पनि यतै बसियो’ पत्रुसले भने ।

मत गणना भइरहेका धेरैजसो केन्द्रहरुमा चार्जवाला स्पिकर छ । मतदान अधिकृतले त्यसैबाट परिणाम सुनाउँछन् । परै बसेर पनि सजिलै सुन्ने व्यवस्था मिलाइएको छ । रुवीभ्याली गाउँपालिका शिलास तामाङ भन्छन् ‘मत गणना सुरु भयो, कसैले छोडेकै छैनन् । मतपेटिका आइपुगेदेखि भोकभोकै रातभरी नै जागाराम बसेका छन् ।’ हातहातमा मोबाइल भएपनि आफैले सुनेको जस्तो विश्वास नभएकाले केन्द्रमा नै कुरेर बसेको उनीहरु बताउँछन् ।

दुर्गम र पहाडी गाउँपालिकाका केन्द्रमा मात्रै होइन सदरमुकाम धादिङबेसीकै मत गणना केन्द्रमा पनि परिणाम कुर्नेको उत्साह उस्तै छ । धादिङबेसीमा होटल व्यवसाय संचालन गर्दै आएका छविप्रसाद काप्रीलाई पनि पहिलेको चुनावको भन्दा अहिलेको चुनाव बेस्सरी लागेको छ । व्यवसाय नै छोडेर जिल्ला समन्वय समितिको अगाडि मतपरिणाम कुरेर बसेका उनी भन्छन् ‘मैले भोट दिएको मान्छेले जित्यो की जितेन भनेर सुन्न बसिरहेको छु ।’

खनियाबासका पत्रुस र निलकण्ठका छविप्रसाद जस्तै हरेक मत गणना केन्द्रका एक सय देखि ३ सय हुन्छन् । उनीहरु प्राय सबैजना आफ्नै घरका परिवार तथा आफ्नै गाउँका चिनेजानेका उम्मेदवार भएकाले पनि चासोका साथ केन्द्रमा पुगेरै परिणाम सुन्न लालाहित भएका हुन् ।
मंगलबार साँझसम्म धादिङको १ सय ४ वडा मध्ये ३६ वडाको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये नेकपा एमालेका उम्मेदवार १९ वडामा विजयी भएका छन् । नेकपा माओवादीका उम्मेदवार ९ वटा वडामा र नेपाली कांग्रेसका उम्मेदवार ८ वटा वडामा विजयी भएका छन् ।

जिल्लाभरका नगरपालिका र गाउँपालिकाको मत परिणाम अनुसार मंगलार साँझसम्म एमाले अगाडि देखिएको छ भने दोश्रोमा माओवादी केन्द्र र तेश्रोमा नेपाली कांग्रेस रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०७४ जेठ ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: