Sat. Jul 5th, 2025

विजयीको खुसीयालीमा धादिङमा पञ्चेबाजा

६ जेठ,  धादिङ –

 
सनै, झ्याली, टयाम्पो, दमाहा, नरसिंहा मिलाएर बजाएको पञ्चेबाजाको मिठो धुन । यी धुनसँगै गुन्जायमान भाकामा रमाइरहेकाहरु, समर्थकहरु खुसिले नाचेका छन् ।  यो दृश्य कुनै विवाह, ब्रतबन्ध, मेला उत्सव नभई विजयी यात्राको हो ।

२० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा आफ्नै गाउँका प्रतिनिधि चुनिएपछि बाजागाजा सहित रमाएका छन् । गाउँघरमा अहिले बाला, बृद्ध होस् या यूवापुस्ता सबैलाई छुट्टै उत्साह छाएको छ । चर्कोघाम, भोकप्यासको कुनै मतलब छैन मनमा उत्साह मात्रै छ । आफ्नो क्षेत्रको विकास हुने भयो ।
गाउँमा कुनै ब्रतबन्ध, विवाह, पूजाआजा भएजस्तै गरेर स्थानीय सडक छेउमा जम्मा भएर विजयीहरुलाई फूलमाला लिएर स्वागत गर्न तयार भएका छन् । हुलमा पञ्चेबाजा अघिअघि, उम्मेदबारहरु पछि पछि देखिएका छन् । आफ्नो क्षेत्रको विकास हुने आशाले मतदाता उत्साहित हुँदै पञ्चेबाजाले स्वागत गरेका छन् ।
पञ्चेबाजा समूहलाई अहिले मंसिरमा विहेको लगन छोप्न जस्तै आत्तुरी छ । बाजा बजाउनेहरुलाई फोन थामिसक्नु छैन । जताजतैबाट बाजा तयार हुनुप¥यो है भनेर फोन आउछ ।  पाल्पा कालिका नेवार बाजा समूहका धर्मनारायण श्रेष्ठले भने ‘अहिले त लगनको महिना भन्दा पनि चर्काे छ ।’ जिल्लामा रहेका पञ्चेबाजा समूहहरुलाई भ्याई नभ्याई छ ।
हुन त  पञ्चेबाजा समूहलाई पनि उत्तिकै उत्साह छ । किनकी सधै भेटघाट भइरहने, चिनेजानेकै मान्छेले जनप्रतिनिधि जितेर आएका छन् । ‘बाजा हाम्रो पेसा भन्दा पनि संस्कार र सस्कृति हो, सकेसम्म सबैकोमा सहभागी हुन्छौं, सबैलाई रमाइलो दिन पाउदा पैसाको कुरै हुँदैन’ श्रेष्ठले भने ।
पार्टीले भन्दा पनि गाउँकै चिनजानको मान्छेले जनप्रनितिधि जितेर आएकोमा स्थानीयहरु खुसी छन् । नेकपा एमालेको विजयी ¥यालीमा सहभागी नीलकण्ठ १२ का उत्तम सापकोटाले जनप्रतिनिधि पाएकोमा खुसी व्यक्त गर्दै हारजितको ¥याली नभई जनप्रतिनिधि पाएको हर्ष भएको बताएका छन् । उनले भने – “दक्ष र स्थानीयको समस्यालाई चाडै पहिचान गरिदिने प्रतिनिधि चाहिएको हो, कुनै पनि पार्टीको आस्था बोकेको होइन” ।
विजयी भएका अधिकांश वडा अध्यक्षका समर्थकले पञ्चेबाजा नै बजाएर खुसी मनाएका छन् । गाउँ शहर सबैठाउँका समर्थकहरु पञ्चेबाजा नै बजाएर आफ्ना उम्मेदवारलाई विजय ¥यालीमा सहभागी गराउन व्यस्त छन् । धादिङमा करिब २० वटा नाम चलेका पञ्चेबाजा समूह छन् । उनीहरु सबैलाई भ्याईनभ्याई छ ।

२०७४ जेठ ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: