
१४ मंसिर, चितवन
आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना सुरु हुने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो ।
निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १ सय ५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुसार हात्ती र करिब २ सय जनशक्ति खटिने जानकारी दिए । उनले बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना हुन लागेको जानकारी दिए ।
पाटे बाघ र यसको आहारा प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षणका योजना निर्माणका लागि बाघ गणना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा बाघ गणनाको फिल्ड कार्यान्वयन एकाइका संयोजक रामचन्द्र कँडेलको भनाइ छ ।
यसअघिको सन् २०१३ को बाघ गणनामा नेपालमा १ सय ९८ बाघ रहेको पाइएको थियो । जसमा १ सय २० बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको तथ्यांक छ । यस्तै बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा सात र बाँकेमा चार वटा बाघ रहेको तथ्यांक थियो ।
२०७४ मंसिर १४ गते प्रकाशित