Sat. Jul 5th, 2025

मतदान सुरु, साँझ ५ बजेसम्म जारी रहने

२१ मंसिर,  धादिङ –

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान जारी रहनेछ । बिहान ७ बजे नै मतदानको समय सुरु भएको छ ।

आज हुने दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुँदैछ ।

बुधबार अपरान्ह सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले मतदातालाई छिटफुट घटनाबाट बिचलित नभई निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् । सरकारले मतदातालाई पूर्ण रुपमा सुरक्षा प्रदान गरेकाले निर्धक्क भएर मतदानमा सहभागी हुन उनले आग्रह गरेका हुन् ।

बिहीबार हुने निर्वाचनका लागि १ लाख ५५ हजार कर्मचारी खटिएको आयुक्त यादवले जानकारी दिए । दोस्रो चरणमा प्रतिनिधिसभाका १२८ पदका लागि १ हजार ६६३ तथा प्रदेशसभाका २५६ पदका लागि २ हजार ८१९ जना प्रतिस्पर्धामा छन् ।

त्यसैगरी यो निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले मतदान गर्न पाउने आयोगले जनाएको छ ।

निर्वाचनमा अपाङ्गता भएका, असक्त, गर्भवती, दृष्टिबिहीन र बृद्धबृद्धाले मतदान अधिकृतको स्विकृतीमा नजिकको आफन्त वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न सक्ने यादवले जानकारी दिए ।

मतदाता नामावलीमा नाम भएर कुनै कारणले मतदाता परिचयपत्र नभएमा अन्य सरकारद्वारा जारी परिचयपत्र लिएर पनि मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ।

नयाँ संविधानको कार्यान्वयन स्वरुप स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रदेशसभा तथा प्रतिनिधिसभाको पनि ३२ जिल्लामा मंसिर १० गते निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेकाले बिहीबार हुने निर्वाचनमा समेत उत्साहजनक सहभागिता हुने आयोगले विश्वास व्यक्त गरेको छ ।

२०७४ मंसिर २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: