

सरिता श्रेष्ठ / २९ मंसिर, धादिङ –
‘भोट हालेर हामीले जितायौ, अब गाउँमा मोटरबाटो आउँछ होला नि’ नीलकण्ठ नगरपालिका वडा नं ४ की लक्ष्मी गुरुङले निर्वाचित नेतालाई अबिर माला लगाइदिँदै आफ्नो कुरा राखिन् । नगरपालिका भएर पनि मोटर गुड्ने पक्की बाटो छैन, शिक्षा, शिक्षा सेवा लिन कि सदरमुकाम की राजधानी नै धाउनुपर्छ, निर्वाचित भएकाले हाम्रो समस्यालाई समाधान गर्छन् की, लक्ष्मी आशैआशमा छन् ।
उनी भन्छिन् ‘चुनाव अघि गाउँको विकास गर्ने, देश बदल्ने अजेण्डा बोकेर भोट माग्न आएका थिए, त्यो पूरा गर्नु प¥यो नी ।’ उनी जस्तै गाउँका अधिकांश गाउँको मुहार फेरिन्छन् कि भन्ने आशमा छन् । निर्वाचनमा सहभागी भएका मात्र होइन नभएकाहरु पनि जितेका प्रतिनिधिले नयाँ कामको थालनी गर्छन् भन्ने आशमा छन् ।
हाम्रो पार्टीलाई भोट दिनुहोस् गाउँमा मोटरबाटो ल्याउँछौँ शिक्षा, स्वास्थ्य, विजुलीबत्ती, स्वच्छ खानेपानी तत्काल उपलब्ध गराउँछौँ’ भनेर नेताहरु भोट माग्न गाउँगाउँ डुलेका थिए । घर, खेतबारी सबै ठाउँमा खोजीखोजी मतदातालाई आफ्ना अजेण्डा राखेका थिए । कहिले गाउँ नपुग्ने नेता, कार्यकर्ता चुनावमा भोटका लागि पुगेका थिए ।
अब यो पाँच वर्षको अवधिमा नेताहरुले के काम गर्ने हो त्यसको मूल्याङकन हामी जनताले गर्नेछौँ, गंगाजमुनाका श्याम विश्वकर्मा बताउँछन् । उनी भन्छन् ‘सदरमुकामसम्म जोड्ने बाटो बनोस्, शिक्षा, स्वास्थ्यको पहुँच बनोस्,यसैमा खुसी हुनेछौँ ।’ चुनाव अघि भोट माग्न गाउँ गाउँ पुगेका निर्वाचित प्रतिनिधि निर्वाचित भएपछि बधाई तथा धन्यावाद दिदैँ गाउँमा पुगेका छन् । अबिरले रत्तामै भएर गलामा मालाको भारी बोकिरहेका छन् । अबिर माला लगाइदिदैँ मतदाताहरुले हाम्रो भोटको सम्मान होस् भन्ने गरेका छन् ।
धादिङको दुई प्रतिनिधि र चार प्रदेशसभाको छवटै क्षेत्रमा निर्वाचित प्रतिनिधि अहिले बधाई थाप्न जनताका माझमा पुगेका छन् । चुनावअघि भोट माग्न गाउँपुगेका नेताहरु चुनाव जितेपछि पनि जनताका माझमा पुगेका छन् । बधाई थाप्दै निर्वाचित प्रतिनिधिहरुले भूकम्पपछिको पुननिर्माण, ग्रामीण क्षेत्रमा मोटरबाटो निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीदेखि बुढिगण्डकी आयोजना निर्माणका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
रुविभ्यालीमा माइला तामाङ भन्छन् ‘हामीलाई देखाएको आश्वासन हात्ती आयो हात्ती आयो फुस्स जस्तै चाँहि नहोस् ।’ अघिल्ला निर्वाचनमा जस्तै भोट माग्न आउने तर गाउँमा पाइलै नटेक्ने चाँहि नहोस् । गाउँमा मोटरबाटो, विजुलीबत्ती तथा भएका स्रोतसाधनलाई गाउँमै परिचालन गर्ने खालका अवसरहरु आफूले पाउने पर्ने माग गरेका छन् ।
बधाई थाप्दै प्रतिनिधिसभा क्षेत्र नं १ मा निर्वाचित भूमिप्रसाद त्रिपाठीले धादिङलाई आर्थिक समृद्धी तर्फ लैजान विशेष जोड दिने र सुन्दर धादिङको परिकल्पना निर्माण गर्ने बताएका छन् । राजमार्ग क्षेत्रमा उद्योगको विकास र विस्तार तथा पूर्वाधार विकासमा जोड दिने कुरालाई अघि सारेका छन् ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचित खेमप्रसाद लोहनीले अबको विकासको समृद्धि र पुननिर्माणको बाटो आफ्नो काँधमा आएको बताएका छन् । उनले भूकम्पले क्षतविक्षत बनाएको संरचना बनाउने जिम्मेवारी निर्वाचित प्रतिनिधिको भएको बताएका छन् । त्यसलाई छिटो छरितो प्रक्रियाबाट लाभग्राहीलाई राज्यले दिने नगदसहितका अन्य सुविधा दिलाउने कार्यमा लागि पर्ने बताएका छन् । धादिङवेशी –तिप्लिङ–सोमदाङ सडक निमार्ण कार्य पूरा गरि कालो पत्रे गर्ने र धादिङ–मुलपानी–लापा सडक निमार्ण गर्ने र कालो पत्रे गर्ने र प्रत्येक गाउँमा बाटोघाटो निर्माण तथा खानेपानी, सरसफाई प्रदान गर्ने कुरामा जनतालाई ढुक्क हुन आग्रह गरेका छन् ।
२०७४ मंसिर २९ गते प्रकाशित