
२४ पुष, धादिङ
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका आज सार्वजनिक गर्दैछ ।
सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो । माघ ७ देखि निर्वाचन हुने माघ २४ गतेसम्म लागु हुने गरी कार्यतालिका आज अपरान्ह सार्वजनिक गर्न लागिएको आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिए।
निर्वाचन कार्यक्रमसँगै आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने मतदाताको समेत नामावली प्रकाशित गर्ने जनाएको छ । राष्ट्रिय सभा निर्वाचनमा कुल २ हजार ५६ मतदाता रहनेछन् ।
उनीहरुमध्ये गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयर गरी १ हजार ५ सय ६ तथा प्रदेश सभाका सांसद ५ सय ५० रहेका छन् । राष्ट्रिय सभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको एक भोट बराबर समान १८ मतभार कायम गरिएको छ ।
प्रदेश सभासद्को मतभार भने एक भोट बराबर ४८ कायम गरिएको छ । यसले राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहको मतभार २७ हजार १ सय ८ र प्रदेश सभाबाट २६ हजार ४ सय रहनेछ । निर्वाचनमा सम्पुर्ण मतदाताको कुल मतभार भने ५३ हजार ५ सय ८ हुने प्रबक्ता ढकालले बताए ।
२०७४ पुष २४ गते प्रकाशित