२७ पुस, धादिङ–
माघेसंक्रान्तिमा यसबर्ष पनि नुवाकोटमा १८ हल गोरु जुघाईने आयोजकले बताएको छ ।
विगतमा झैँ यस वर्ष पनि नुवाकोटको तारुकामा धार्मिक तथा सांस्कृतिक पर्व गोरुजात्रा माघ १ गते आयोजना गरिने भएको हो ।
तारुकाको चन्दनीपाटोमा गोरु जुधाउन १८ हल गोरु दर्ता गरिएको छ । माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले अवलोकनकर्तालाई गोरु जुधाइने स्थान चन्दनीसम्म सहज आवात जावत गराउने बताए ।
मेलामा विजेता गोरु धनीलाई ५ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई रु ३ हजार पुरस्कार प्रदान गरिने छ । तत्कालीन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह मामाघर जाँदा भान्जाको मनोरञ्जनका लागि भन्दै गोरु जुधाइएको स्मरणमा यो परम्परा बस्दै आएको हो ।
दलीय सहमतिको आधारमा आलोपालो मूल समिति गठन गरी तयारी थालिएको गोरु जुधाई मेला सञ्चालनका लागि होमनाथ सिग्देलको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र पत्रकार विष्णु जमकट्टेल (तारुके) को संयोजकत्वमा प्रचार उपसमिति गठन गरिएको छ ।
२०७४ पुस २७ गते प्रकाशित