
२९ पुस, धादिङ-
डा. गोबिन्द केसीले गत सोमबारदेखि सुरु गरेको १४ औँ आमरण अनसन शनिबार तोडेका छन् । शुक्रबार राति सरकारसंग ५ बुँदे सहमति गरेपछि के.सीले अनसन तोडेका हुन् ।
सरकार र केसीबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आर्इओएम) को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने उल्लेख छ ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र कदम लिने बुँदासमेत सहमति पत्रमा छ । सहमतिको चौथो बुँदामा त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने उल्लेख छ भने पाँचौंमा केसीले अनसन कार्यक्रम अन्त गर्ने उल्लेख छ ।
केसीको प्रमुख मागमध्ये प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा एक भए पनि यो विषय भने सहमतिपत्रमा उल्लेख छैन ।
२०७४ पुस २९ गते प्रकाशित