६ माघ ,काठमान्डौ
राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो सपथ ग्रहण गरेका ७ वटै प्रदेशका प्रमुखहरुले प्रदेश सभा सदस्यको सपथ ग्रहण तयारी सुरु गरेका छन् ।
७ वटै प्रदेशमा भोली प्रदेश सभा सदस्यको सपथ ग्रहणको तयारी भइरहेको छ । निर्वाचन आयोगले प्रदेशसभामा विजयी हुनेको विवरण हिजो उपलब्ध गराईसकेको र भोलीबाटै राष्ट्रिय सभा निर्वाचन कार्यतालिका समेत लागू हुने भएकाले सबै प्रदेशमा सपथको तयारी तीब्र पारिएको हो ।
नवनियुक्त प्रमुखहरु आजै आ–आफ्नो कार्यक्षेत्रमा खटिने बताइएको छ । निर्वाचन आयोगले प्रदेश सदस्यहरुलाई हिजो प्रमाणपत्र प्रदान गरेपछि त्यसको विवरण सम्बन्धित प्रदेश प्रमुखहरुलाई बुझाएको थियो ।
प्रदेश प्रमुखहरु आज आ–आफ्नो कार्यक्षेत्र पुग्ने भएपछि सम्बन्धित मुकामहरुमा त्यसको तयारी तीब्र पारिएको छ । यद्यपी प्रदेश नम्बर २ र ७ मा भने प्रदेश प्रमुख बस्ने भवन तय नभएकाले अन्यत्रै सपथको कार्यक्रम गर्ने तयारी गरिएको छ ।
१, ३ , ५, ४ र ६ नम्बर प्रदेशमा भने प्रदेश प्रमुख बस्ने भवन र सपथ गराउने स्थानमा रंगरोगन तथा अन्य व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । सात वटै प्रदेशमा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० गरी कुल ५ सय ५० प्रदेशसभा सदस्य रहेका छन् ।
२०७४ माघ ६ गते प्रकाशित