Sat. Jul 5th, 2025

महेन्द्ररायको उमेरमा विवाद भएपछि महन्थले शपथ खुवाउने

२० फागुन, काठमाडौं

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराउने भएका छन् ।

संसदको कार्यसूची तयारीका लागि सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग परामर्शमा नेता रायको स्थानमा ज्येष्ठ सदस्यको रुपमा नेता महन्थ ठाकुरलाई राष्ट्रपतिबाट शपथ गराउने सहमति भएको हो । यादवको वास्तविक उमेर ६३ वर्ष भए पनि नागरिकतामा उनको ८० वर्ष पाइएको थियो ।

नागरिकतामा उनको उमेरका आधारमा यादवबाट सांसदलाई सपथ गराउने तयारी भएको थियो । तर पाँच दलबीचको छलफलमा प्राविधिक रुपमा ज्येष्ठ सदस्य देखिएका यादवलाई राष्ट्रपतिबाट शपथ नगराउने सहमति भएको हो ।

यो सहमतिपछि प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतमा ७५ वर्षीय ठाकुरले राष्ट्रपतिबाट शपथ लिने भएका छन् । दिउँसो १ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

नागरिकताका हिसाबले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका नेता महेन्द्रराय यादवले आजको शपथ कार्यक्रममा उपस्थित हुन नसक्ने पनि जानकारी गराएपछि ठाकुरलाई यो अवसर जुरेको हो ।

दलहरुबीचको सहमतिपछि नेता यादवले शपथमा आफू उपस्थित हुन नसक्ने संघीय सचिवालयलाई जानकारी दिएका थिए । त्यसपछि उनीपछिका ज्येष्ठ सदस्य ७५ वर्षीय ठाकुरले शपथ गराउने निश्चित भएको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने कानूनी प्रावधान छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा फागुन २१ गते संघीय संसद्को पहिलो बैठक आह्वान गर्नुभएको छ । त्यसअघि आज दुवै सदनका सदस्यको शपथ हुन लागेको हो ।

२०७४ फागुन २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: