

२६ फागुन, काठमाडौं –
दोहोरो सुविधा लिने भूकम्पपीडितसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम फिर्ता गर्ने भएको छ ।
गैरसरकारी संस्थाबाट रकम प्राप्त गर्ने र सरकारी अनुदानप्राप्त लाभग्राहीको अलग–अलग विवरण तयार पार्न जिल्ला समन्वय समितिको सचिवालयलाई पत्राचार गरिएको प्राधिकरणका सहायक प्रवक्ता डाक्टर भीष्मकुमार भुसालले जानकारी दिए ।
दुवै सूची आएपछि सरकारतर्फको अनुदान सरकारी बाँकी सरह असुलउपर गर्ने भुसालले बताए । गैरसरकारी संस्थाले किस्ता नदिई आवास पुनःनिर्माण गरेका वा एकीकृत बस्ती विकासअन्तर्गत अनुदान प्राप्त लाभग्राहीले पनि सरकारी अनुदान लिएको भए फिर्ता गर्नुपर्नेछ ।
त्यसैगरी जनता आवासलगायत अन्य माध्यमबाट घर बनाएका लाभग्राहीले पनि अनुदानको रकम लिन नपाउने र लिएको भए फिर्ता गर्नुपर्ने प्राधिकरणका प्रवक्ता भुसालले जानकारी दिए ।
२०७४ फागुन २६ गते प्रकाशित