Sat. Jul 5th, 2025

झुक्याएर महिलाको पाठेघरको शल्यक्रिया

 

१८ जेठ, बर्दिबास

महोत्तरीको बर्दिबासको एक निजी स्वास्थ्य संस्थाले पाठेघरमा क्यान्सरको खतरा रहेको भन्दै झुक्याएर एकजना महिलाको पाठेघरको शल्यक्रिया गरेको छ ।

बर्दिबास नगरपालिकास्थित डीएनबी मेडिकेयर सेन्टर प्रालिले सिन्धुलीको कमलामाई नगरपालिका-१० भिमान निवासी २९ वर्षीया तोपकुमारी खड्काको विनाकारण झुक्याएर पाठेघरको शल्यक्रिया गरिदिएको हो ।

जेठ १५ गतेको घटना भएपनि बिरामीका आफन्त कानुनी उपचार खोज्दै इलाका प्रहरी कार्यालय बर्दिबास पुगेपछि मात्रै घटना सार्वजनिक भएको हो ।पाठेघरबाट सामान्य रक्तस्राव हुन थालेपछि उपचार गर्न आफूहरु उक्त हस्पिटल पुगेको पीडित महिलाका श्रीमान शेषबहादुर खड्काले बताए ।

उक्त मेडिकेयरमा संचालन भैरहेको स्वास्थ्य शिविरमा जाँच गराउँदा २९ वर्षीया खड्काको पाठेघरमा क्यान्सर भएको र ननिकाले ज्यानै जान सक्ने भन्दै शल्यक्रिया गरिदिएको शेषबहादुरले बताए ।

हस्पिटलका चिकित्सकले मेडिकल रिपोर्ट वा कुनै परीक्षण बिना क्यान्सर भन्दै झुक्याएर अप्रेसन गरेको आरोप पीडित महिलाका आफन्तको छ ।महिलाका आफन्तका अनुसार अस्पतालका डाक्टरले त्यही दिन भर्ना गरेर त्यही दिन पाठेघर निकालिदिएका थिए ।

बिगत केही दिनदेखि पाठेघरबाट सामान्य रक्तस्राव भैरहेको भन्दै ती महिला उपचारको लागि उक्त हस्पिटल पुगेकी थिइन् ।पीडित महिलाका आफन्तहरुले अपरेसनमा संलग्न चिकित्सकको नाम दिन पटकपटक आग्रह गर्दासमेत आनाकानी गरेपछि बिनाकारण पाठेघर निकालेर फालेको घटना सार्वजनिक भएको हो ।

घटना लगतै महिलाका आफन्तले इलाका प्रहरी कार्यालय बर्दिबास र बर्दिबास नगरपालिकामा लिखित उजुरी दर्ता गराएपछि घटना सतहमा आएको हो ।बिना दर्ता रहेको भारतीय चिकित्सकले आफ्नो श्रीमतीको पाठेघर निकालेर फ्याकेको र आफूहरुले सोधीखोजी गर्न थालेपछि मेडिकेयरले चिकित्सक भगाएको आफन्त आरोप छ ।

महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घटनाको सम्बन्धमा बर्दिबास नगरपालिकाको न्यायिक समितिले छानबिन सुरु गरेको छ ।स्वास्थ्य संस्था स्थापना संञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका अनुसार उक्त मेडिकेयरले मापदण्ड अनुसार कुनै प्रकारको शल्यक्रिया गर्न नपाउने उल्लेख छ ।

नियम मिचेर उक्त मेडिकेयरले महिलाको पाठेघर निकालिदिएको हो । यसबैबीच उक्त मेडिकेयरको मापदण्ड बिपरीत रहेको र घटनाको सम्बन्धमा बर्दिबास नगरपालिकाले छानविन अगाडि बढाएको छ ।चिकित्सकको लापरवाहीले घट्ना घटेको आरोप लगाउँदै घटनाको छानविन गरी दोषिमाथि कारवाही हुनुपर्ने पिडीतको माग छ ।

२०७५ जेठ १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: