

२१ जेठ, धादिङ –
सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । अपरिचित व्यक्तिको समूहले सोमबार बिहान तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।
तोडफोडबाट क्याम्पसमा रहेको २ थान कम्प्यूटर, १ वटा कलर प्रिन्टर सहित दुई वटा प्रिन्टर, २ वटा कुर्ची, १ वटा पोडियम, ८ वटा झ्यालका सीसा, १ वटा टेलिफोट सेटमा पूर्ण रुपमा क्षति पुगेको क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिए ।
घटनामा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी कविता श्रेष्ठ गम्भीर घाईते भएकी छन् । क्याम्पसको नियमित पठनपाठन र स्नातक तह दोस्रो वर्षको आन्तरिक परीक्षा सन्चालन भइरहेको अवस्थामा क्याम्पसमा तोडफोड गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
तोडफोडपछि प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पसले शान्त वातावरणमा अध्ययन भइरहेको क्याम्पसमाथि अशान्त वातावरणमा सिर्जना गर्ने क्रियाकलाप तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । दोषाीलाई तत्काल कारबाही गरी घाईते विद्यार्थीको उपचार र क्षति भएका सामग्रीहरुको क्षतिपूर्ति उपलब्धको माग गरेका छन् ।
तोडफोड गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
विभिन्न तीन विप्लव, बैध र बाबुराम भट्टराई नेतृत्वको पार्टीका भातृ विद्यार्थी संगठनहरुले आब्हान गरेको शैक्षिक हड्तालका कारण पठनपाठन प्रभावित बनेको छ । पेट्रोलियम पदार्थ मुल्यबृद्धी फिर्ता लिनुपर्ने लगायतका माग राखी शैक्षिक संस्था बन्दको आह्वान गरेका छन् ।
२०७५ जेठ २१ गते प्रकाशित