Sat. Jul 5th, 2025

कांग्रेस युवा नेता महासमिति बैठकमा केन्द्रित

१९ असार, काठमाडौँ –

संघ–प्रदेश चुनावमा पराजयपछि पार्टी सुधार अभियानमा संगठित कांग्रेस युवा नेता भदौमा हुने महासमिति बैठकमा केन्द्रित हुन थालेका छन्। कांग्रेसभित्र महाधिवेशनपछि महासमिति बैठकलाई महत्व दिन्छ।

महासमिति बैठकअघि अभियानमा लागेका नेता गगन थापासहितका युवा नेता देशभरका महासमिति सदस्यसँग पार्टी सुधारबारे छलफल गर्ने योजनामा छन्।

उनीहरूले महासमिति बैठक केन्द्रित गरी सदस्यता वितरण, संघीय संरचनाअनुसार पार्टी संरचना, अधिकार प्रयोग र समावेशी बनाउन छलफल गर्ने तयारी गरिरहेको छ।

हेटौंडा जिल्ला सभापति भेलामा पार्टी सुधारको अभियानले खासै महत्व नपाएपछि कांग्रेसको युवा पुस्ता महासमितिलाई उपयोग गर्ने रणनीतिमा लागेको हो। अभियान प्रभावकारी बनाउन उनीहरूले केन्द्रीय समिति बैठकमा समेत संयुक्त दस्ताबेज प्रस्तुत गरेका थिए।

हेटांैडा भेलामा सहभागी पार्टीका जिल्ला सभापतिलाई बन्द सत्र सुरु हुनुअघि पनि युवा नेताहरूले केन्द्रीय समितिमा पेस गरिएको दस्ताबेज वितरण गरेका थिए। तैपनि भेलामा उनीहरूको दस्ताबेजबारे खासै चर्चा भएन। भेलामा उनीहरूका गतिविधि प्रभावशून्य जस्तै भएपछि उनीहरूको अभियानको कांग्रेसमा विभिन्न आकलन गर्न थालिएको छ।

शीर्ष नेतृत्वबीच मनमुटाव बिस्तारै घट्दै गएपछि युवा नेताहरूको अभियान कमजोर हुन सक्ने आकलन पनि हुन थालेको छ। चुनावपछि कांग्रेस पुनर्जागरण अभियान घोषणा गरेका नेतामध्ये एक नवीन्द्रराज जोशी भन्छन्, ‘हेटौंडा भेलापछिका गतिविधिलाई हामीले पनि महत्वका साथ लिएका छौं।’ अर्का युवा नेता प्रदीप पौडेलले महासमिति भेलाअघि युवा नेताहरूले गर्ने सबै तहको अन्तरक्रियाका आधारमा दस्ताबेज थप परिमार्जन गरिने बताए। उनी भन्छन्, ‘महासमिति बैठकमा हामी आफ्नो प्रस्ताव थप परिष्कृत गर्दैछौं।’ उनीहरूको दस्ताबेजले पार्टी सुधार गर्न नेतृत्वदेखि तल्लोतहसम्म व्यापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

२०७५ असार १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: