
१० असार, धादिङ –
चर्चित हाँस्यकलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले ८० वर्षीय तुईन चालक चेपाङलाई नयाँ घर हस्तान्तरण गरेका छन् । धादिङ चरौदीस्थित त्रिशुली नदी किनारमा विगत २० वर्षदेखि तुईन तान्दै आएका उनलाई बस्नका लागि घरको रुपमा नयाँ घर हस्तान्तरण गरेका हुन् ।
धादिङ रोराङ गाउपालिका वडा नं ७ मा निर्माण गरिएको घर हस्तान्तर कार्यक्रममा जिग्री, पाँडे सहित मधुसुदन पाठक ‘सिते बा’, व्यवसायी हरि काफ्ले, नागरिक समूहका पदाधिकारीको उपस्थिती रहेको थियो ।
सञ्चारकर्मी श्यामहरि शिवभक्तिको संयोजनमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोगमा उक्त घर निर्माण गरिएको हो ।
शुक्रबहादुरले २० वर्षदेखि तुईन तारेर धेरै व्यक्तिलाई वारपार गराउनु पनि एउटा सामाजिक सेवा नै भएको जिग्रीको भनाई थियो ।
शुक्रबहादुरले काठमाडौं देखि कलाकार आएर घर हस्तान्तरण गरिदिदा मनमा निकै खुसी लागेको बताए । ‘घर थिएन, जग्गा थिएन । अब त जग्गा पनि पाए, घर पनि पाए । म तुईन तान्दिन ’ उनले भने ।
शारिरीक रुपमा अशक्त उनका छोरा बोल्न र सुन्न सक्दैनन् । सोही छोरा र आफ्नो जीविकोपार्जनको लागि उनले त्रिशुली नदीमा तुईन चलाउदै आएका थिए । घर निर्माणका लागि यूके निवासी गीता गुरुङ, साइप्रस निवासी कालिका थापा सेढाई, अष्ट्रिया रहने कुमार अधिकारी र दुबईमा बस्ने हरिचन्द्र गिरीले अभियान चलाएका थिए ।
२०७६ असार १० गते प्रकाशित