Wed. May 14th, 2025

रेल्वे स्टेसनमा गीत गाएरै अवसर


१५ भदौ , काठमाडौ –


राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेका छन्, ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल ।’ सिर्जना कहाँ, कति बेला प्रस्फुटन हुन्छ, पत्तै हुँदैन । यति बेला सीप र क्षमताले आफैं बाटो बनाउँछ भन्ने सिद्ध गरिदिएकी छन्, भारतीय एक महिलाले ।

भारतीय रेल्वे स्टेसनमा गीत गाएर जीविकोपार्जन गर्दै आएकी रानु मण्डलको गायकीले यति बेला न्याय पाएको छ । सुरिलो स्वरकी धनी मण्डलले गाएको भिडियो फुटेज सामाजिक सञ्जालमा आएपछि उनी एकाएक भाइरल बनेकी थिइन् । सञ्जाल प्रयोगकर्ताले उनको गायकीलाई गायिका लता मंगेशकरसँग तुलना गरेपछि चर्चा दिन दुगुना, रात चौगुना बढ्दै गयो ।

यति बेला भारतीय संगीतकार, गायक हिमेश रेशमियाले मण्डलको गीत नै रेकर्ड गराएका छन् ।आफ्नो नयाँ फिल्मका लागि रेशमियाले मण्डललाई पार्श्व गायनका लागि अवसर दिएका हुन् । त्यसअघि जब मण्डल टीभीमार्फत प्रसारण हुने सिङगिङ रियालिटी सो ‘सुपरस्टार सिंगर’ मा पाहुना बनेर पुगेकी थिइन् । जुन सोको निर्णायकमध्ये एक रेशमिया पनि छन् ।

मण्डलको गायकीबाट प्रभावित भई रेशमियाले आफ्नो फिल्मको गीतका लागि स्वर दिन आग्रह गरेका थिए । उक्त सोमा उपस्थित मण्डलको जीवन संघर्षले सबैलाई भावुक बनाएको थियो ।

कार्यक्रम सञ्चालिकाले रेल्वे स्टेसनमा गाउनुको कारणबारे सोधेपछि मण्डलले हाँस्दै भनेकी थिइन्, ‘रेल्वे स्टेसनमा किन गाउँथेँ भने मसँग बस्नका लागि घर छैन । गीत गाएरै आफ्नो पेट पालिरहेकी थिएँ । गीत सुनेर कोही खानेकुरा दिन्थे भने कोहीले पैसा ।’ कार्यक्रममा उनले जावेद अलीको अनुरोधमा ‘एक प्यारका नगमा।।।’ पनि गाएर सुनाएकी थिइन् ।

रानु मण्डलले फिल्म ‘ह्याप्पी हार्डी एन्ड हिर’ का लागि ‘तेरी मेरी कहानी’ युगल गीत गाएकी हुन्, जसमा मण्डललाई हिमेशले नै पुरुष गायनमा साथ दिएका छन् ।

२०७६ भदौ १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: