
१८ भदौ , काठमाडौ –
काठमाडौँ — मञ्चको अगाडि टेबलमाथि गरिब किसानको लास लमतन्न छ । लासमाथि मुख्यमन्त्रीको भोज चलिरहेको छ । लासको दायाँ दर्शकको सामुन्ने भर्खरै डीआईजीबाट पदोन्नति भएको प्रहरीको भोज चलिरहेको छ भने बायाँतर्फ विधानसभाको चुनावमा माहोल आफ्नो पक्षमा उर्लने निश्चितप्रायः भएपछिको उल्लासमा अर्को भोज चलिरहेको छ ।
मञ्चको कुनामा लासको मृत्युमा उसैको साथी जिम्मेवार रहेको फर्जी बयान बनाउन प्रहरीले पसिना चुहाइरहेको छ । र, नाटक ‘महाभोज’ ले दुई घण्टा लामो यात्राबाट विश्राम लिन्छ ।
भारतीय लेखिका मन्नु भण्डारीले ७० को दशकमा तत्कालीन भारतीय समाजमा देखिएको प्रेस, पोलिटिक्स र प्रहरीको पावरमा कसरी समाज र दीनहीनलाई आफ्नो मुठ्ठीमा कसेर महाभोज चलाइरहेका छन् भनी उपन्यास लेखेकी थिइन् । रंगकर्मी अनुप बरालले सोही उपन्यासमा यति बेलाको नेपाली समाजलाई देखे । कवि विप्लव प्रतीकको भावानुवादमा बरालले निर्देशन गरेको नाटक ‘महाभोज’ को बिहीबार अनामनगरस्थित मण्डला थिएटरमा विशेष मञ्चन गरिएको छ । शनिबारदेखि नाटक एक महिनासम्म नियमितमञ्चन हुने छ ।
दलित, किसानहरूको बाहुल्य रहेको तराई क्षेत्रको एक सीतापुर गाउँमा केहीअघि आगजनी भएको थियो । तर उद्धारका लागि न स्थानीय प्रहरी परिचालन भए, न त आगो निभाउन दमकल नै आयो । गाउँका झुपडी खरानी भए, केही गाउँले आगोमा परी अँगार बने । तर गाउँकै विशु भनिने विश्वेश्वरलाई भने आगजनी कुनै भवितव्य नभई नियोजित थियो भन्ने थाहा छ । प्रमाण छ । तैपनि यसमा कसैको चासो छैन । गाउँले मर्नु र कुकुर मर्नुमा भेद देख्दैनन्, पत्रकार पनि । तर यसपटक हठात् विशुको लास पुलमुनि भेटियो । चुनावको सम्मुख उक्त घटनाले भने राजनीतिक रंग पाएपछि सनसनी फैलिएको छ ।
चुनावका दुवै पक्षका उम्मेदवारहरू विशुको निधनलाई हत्या वा आत्महत्या बनाउने खेलमा आ–आफ्नै तरिकाले लागेका छन् । एकातिर घटनालाई शक्तिको आडमा दबाउने प्रपञ्च चलिरहँदा अर्कोतर्फ पीडितका परिवारलाई रकम दिएर चूप लगाउन खोजिएको छ । गरिब, निमुखाको लासमाथिको राजनीतिले सफलता पाउने संकेत देखिएपछि महाभोज चल्छ ।
२०७६ भदौ १८ गते प्रकाशित