Fri. Jul 4th, 2025

त्रिपुरासुन्दरी माईको जात्रा मंसिर १२ र १३ गते लाग्ने


२४ कात्तिक, धादिङ –


धादिङ जिल्लामा लाग्ने त्रिपुरासुन्दरी माईको जात्रा आगामी मंसिर १२ र १३ गते लाग्ने भएको छ । पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित यस मेलालाई न्वागी जात्राको नाममा समेत चिनिन्छ । जात्रा हरेक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर भब्य रुपमा लाग्ने गर्दछ ।

यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोकमा गरेर दुइ ओटा मन्दिर रहेको छ । मंसिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ सल्यानकोट माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ माईथानबेसीको मन्दिरमा ल्याइन्छ ।

रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म केहि देख्न पाएका छैनन् । तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत यस मन्दिरमा रहिआएको छ ।

अन्य मन्दिरले भन्दा फरक प्रकृतिको विशेषता बोकेको यस मन्दिरको त्रिपुरा भगवतीको मुर्ति कसैले छुन नपाएपनि यस मन्दिरमा भने परम्परादेखि नै सबै जातजातिका श्रदालु भक्तजनहरुले सहज रुपमा पुजाआजा गर्न पाउने ब्यबस्था रहेको छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने उल्लेख गरिएको छ । प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ ।

जिल्ला सदरमुकाम धादिङबेशीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला नुवाकोट, चितवन, काठमाडौँ लगायतका मानिसहरु पनि आउने गर्दछन् ।

२०७६ कात्तिक २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: