
१८ साउन, धादिङ–
युरोपमा बसोबास गरिरहेका नेपालीहरुको कथाबस्तुमा तयार पारिएको धाराबाहिक टेलिश्रृङखला ‘हैट युरोप’को पहिलो भाग सार्वजनिक भएको छ।’मेमोरिज बाई अ लेन्स’ युट्युव च्यानलले उक्त कार्यक्रमलाई निर्माण तथा सार्वजनिक गरेको हो।
छायांकनको शुरुवातबाटै हैट युरोप शब्द फेसबुक र टिकटक प्रयोगकर्ताहरुमाझ निकै नै लोकप्रिय र चासोको बिषय बनिरहेको छ।निर्माण समुहले हैट युरोप श्रृङखलासँग सम्बन्धित प्रोमो र अन्य भिडियोहरु सार्वजनिक गरिरहदा पनि यसलाई खुब चासोका साथ हेरिएको पाईएको छ।
नेपालमा लामो समयसम्म विभिन्न टेलिश्रृङखलाहरुमा अभिनय गरेका कलाकार शम्भु सिलवालले हैट युरोपको निर्देशन गरेका छन।उनी झ्याईकुटीँ झ्याई कार्यक्रमको घिन्ताङे रोलमा चर्चित र लोकप्रिय थिए।त्यसैगरी उनी नेपाली लोकदोहोरी गीत,भजन गायन र निर्देशनमा पनि सक्रिय छन।करिव एक दर्जन म्युजिक भिडियोहरु निर्देशन गरेका सिलवालले भिडियो छायांकन र सम्पादनको पनि जिम्मा लिएका छन।
हाम्रो अर्को एक प्रश्नमा निर्देशक सिलवालले भने-युरोपमा सबै साथीहरुको समय ब्यबस्थापन गरेर भिडियो तयार पार्नु नै मुख्य चुनौती हो।त्यो अबस्थालाई ब्यबस्थापन गर्न फुर्सदमा हामी लगातार कार्यक्रम तयार पारिरहेका छौ।
हैट युरोप भन्दै गर्दा समाजमा सकारात्मक वा नकारात्मक कस्तो प्रभाव पर्छ भन्ने कुरा त कार्यक्रमले देखाउँदै जाला तर कार्यक्रममा कस्तो बिषयबस्तु समाबेश भैरहेको छ त भन्ने हाम्रो जिज्ञासामा कथा,संवाद तयार पारिरहनुभएका फुर्बान रायमाझीले भने(यो युरोपको कथा हुनेछ,परदेशको कथा हुनेछ,परदेशीको कथा हुनेछ।युरोप भित्रिएपछि हरेक नेपालीले भोगेको,देखेको ससाना बिषयहरुलाई समाबेश गरेर कथामा उतारिने प्रयास नै मुख्य रहनेछ।हाम्रो समाजमा सकारात्मक सन्देश र खबरदारी गर्नु नै कार्यक्रमको प्रमुख उद्देश्य हो।
उक्त टेलिश्रृङखलामा शम्भु सिलवाल भगवान गिरी,फुर्बान रायमाझी,गीता मास्के,दिपेश पुरी,अन्जना बिस्ट,कुशुम भुजेल लगायतको अभिनय देख्न सकिन्छ भने शीर्ष गीतमा शम्भु सिलवाल र गीता मास्केको आवाज, शिशिर भाटको संगीत र दुर्गा थापाको संगीत संयोजन रहेको छ।कार्यक्रम हरेक अंग्रेजी महिनाको १ र १५ तारिक नेपाली समय बेलुकाको ८:०० बजे र पोर्चुगलको समय अनुसार दिउँसोको ३:१५ बजे प्रसारण हुने हैट युरोप टिमले जानकारी गराएको छ।
२०७७ साउन १८ गते प्रकाशित