Fri. Jul 4th, 2025

नौ लाख पचाउन नेपाली सेनाले गरे आफ्नै साथीको हत्या

चितवन– बिहिवार चितवनना मृत भेटिएका धादिङ नीलकण्ठ-१३, साङ्कोसका भरत गुरुङ्को आफ्नै साथीले हत्या गरेको पुष्टि भएको छ । नेपाली सेना हुद्दा गुरूङको हत्या आरोपमा उनकै सहकर्मी पक्राउ परेका छन् । सिपाही गंगाधर ढकालले ९ लाख रुपैयाँका लागि गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्न्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१७ को सिमलडाँडा नजिकै गोली हानेर हत्या गरिएको अवस्थामा गुरुङको शव फेला परेको थियो । नेपाली सेनाको महिन्द्र दल गण, शिवपुरीमा कार्यरत ढकालले गुरूङलाई ९ लाख रकमका लागि हत्या गरेको खुलेको छ ।

एसपी ओमप्रसाद अधिकारीका अनुसार हुद्दा भरत गत पुसमा मात्रै शान्ति सेनाको मिसनमा लेवनानबाट फर्किएका थिए । शान्तिसेनामा जाँदा कमाएको रकमबाट उनले चितवनमा जग्गा बैना गरेका थिए । उनले ग्लोबल आइएमई बैंकमा रहेको आफ्नो खाताको चेक मिल्ने साथी भएकाले गंगाधरलाई नै दिएका थिए ।

प्रहरीका अनुसार गंगाधरले साउन ३ गते भरतको हस्ताक्षर आफैंले गरेर ९ लाख रकम निकालेको पाइएको छ । एक लाख आफूसँग राखेर बाँकी ८ लाख परिवारका सदस्यलाई दिए । जग्गा पास गर्न भरत आएपछि ५ गते उनीहरु होटलमै बसे । चितवनका प्रहरी प्रमुख एसपी अधिकारीका अनुसार ६ गते भरतका माइलो बुबाका छोरा रविनको भरतपुर–१९ शारदानगरस्थित घरमा पुगे ।

त्यही दिन बजार घुमाउन लगेका  गंगाधरले भरतलाई अत्याधिक मादक पदार्थ खुवाई रातभर मोटरसाइकलमा घुमाएको र असार ७ गते बिहान ५ बजेतिर सिमलडाँडा नजिकै पुगेपछि गोली हानेर हत्या गरेको प्रहरीको दाबी छ ।

पिसाब लाग्यो भनेर झरेका गंगाधरले मोटरसाइकलको पछाडि बसिरहेका भरतलाई दायाँ कान नजिकबाट गोली हानेका थिए । भरत भुइँमा लडेपछि ७/८ मिटरको दूरीमा रहेको कुलोमा फालेर गंगाधर घटनास्थलबाट फरार भएका थिए । उनले घटनामा प्रयोग भएको हतियार भरतपुर–८ स्थित गरुवा कामक्ष मन्दिर क्षेत्रमा पुगेर सडकको किनारामा रहेको झाडीमा फालेका थिए ।

दिउँसो भरतपुर–१० मा रहेको हुण्डाई कारको शोरूममा कार्यरत काकाका छोरासँग मोटरसाइकल साटेर भागेका उनलाई केही घण्टामै पक्राउ गर्न प्रहरी सफल भएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उनलाई मुलुकी अपराधसंहिता–२०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसूर अन्तर्गत दफा १७७ बमोजिम जन्मकैदको सजायको व्यवस्था हुने प्रहरीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: