
काठमाडौ –
लोकदोहोरी गायक राजु परियारलाई लमजुङमा अभिनन्दनसहित सम्मान गरिएको छ।
बेसीसहर नगरपालिका– ३ गाउँसहरमा रहेको लमजुङ दरबारमा एक कार्यक्रमकाबीच परियारलाई सम्मान गरिएको हो। दरबार हाताभित्र पुनर्निर्माण गरिएको शिवमन्दिर र हनुमानको मूर्ति प्रतिस्थापन कार्यक्रमको अवसरमा परियारलाई लमजुङ गाउँसहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो।
लोकदोहोरीको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ गाउँसहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए।
परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र थापाले सम्मान गरेका हुन्। गायक राजु परियारसँगै उपकुलपति डा. जगमान गुरुङ, त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रमुख डा.बमबहादुर अधिकारी र गाउँसहरका जेष्ठ नागरिक १ सय ४ वर्षका रामबहादुर मालुवालाई अभिनन्दन गरिएको सशस्त्र प्रहरीका पूर्वएआइजी एवं लमजुङ गाउँसहर समाजका सदस्य रोहित थापाले बताए। उनका अनुसार कार्यक्रममा पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाको समेत उपस्थिति रहेको थियो।
बेसीसहर– २ चिसापानीमा जन्मिएका परियारले दोहोरी क्षेत्रमा झन्डै १५ हजार बढी गीतमा आवाज दिइसकेका छन्।