
काठमाडौ –
दोस्रो कृषि तारा अवार्ड धादिङका उद्धवप्रसाद न्यौपानेले जितेका छन्। इजरायलको राजदूतावास र अवसर फाउन्डेसनले इजरायलबाट कृषि प्रशिक्षण लिएर फर्किएकाहरूमध्येबाट एकजनालाई उत्कृष्ट कृषि तारा अवार्ड दिएको हो।
कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव तथा नेपालस्थित इजरायली राजदूत खनान गोदार लगायतले ५ लाखसहित प्रमाणपत्र प्रदान गरे।
इजरायलबाट कृषि तालिम सकेर फर्किएपछि व्यावसायिक कृषि कर्ममा लागेका युवाहरूमध्येबाट न्यौपाने उत्कृष्ट भएका हुन्। उनले अहिले ७० बिघामा कृषि गरिरहेका छन्। उनले पुरस्कार पाएका ५ लाख रुपैयाँले राम्रो नर्सरी सञ्चालन गर्ने पनि बताए।
कार्यक्रममा इजरायली राजदूत खनान गोदारले कृषि सोख नभएर व्यवसाय भएको बताए। कृषिबिना कुनै पनि देशको विकास सम्भव नभएको भन्दै उनले कृषिको उत्पादनमा ध्यान दिनु पर्ने बताए।
देश भरबाट छनोटमा परेका १० युवा कृषकहरु मध्येबाट न्यौपाने उत्कृष्ट घोषित भएका थिए। उत्कृष्ट दशमा नवीन जोशी, दीप नारायण राउत, सशिन कर्माचार्य, सङ्कर सिलवाल, बाबुराम केसी, अनिल दमाई, विजय गाउली, प्रवीण राजवंशी र रामहरि रोइला रहेका थिए। उनीहरूले तरकारी खेती तथा पशुपन्छी पालन गर्दै आएका थिए।
यस्तै, कार्यक्रममा कृषि मन्त्री यादवले कृषिमा इजरायल सरकारले प्रयोग गरेको प्रविधि नेपाली किसानमा प्रयोग गर्ने वातावरण सरकारले तय गर्ने बताएका छन्।