
शंकर श्रेष्ठ, धादिङ ।
‘नारी दिवस साथी हो मार्च ८ को मिति ।
स्वागत गर्छौं सब दर्शक अतिथि ।।’
जुट्नु पर्छ
‘जुटौं–जुटौं साथी हो केही गर्ने निमित्त ।
घर धन्दामै नबनौं सिमित ।।’
यो गीतमा जोर मादलको रन्को पाउने बित्तिकै एक हुल महिला मंञ्चमा नाच्न पुगे । कलाकार मात्रै होइनन्, कार्यक्रम हेर्न आएका सबैलाई यो गीतले छमछमी नचायो ।
नारी दिवसको अवसरमा गजुरी गाउँपालिकाले आयोजना गरेको लोकगीत प्रतियोगितामा महिला समूहले प्रस्तुत गरेको गीत थियो यो । मलेखुस्थित भद्रकाली आमा समूहले गाएको यहि गीत प्रतियोगितामा प्रथम भएको छ ।

‘छोराछोरी हुन् बराबरी, एउटै रथका दुई पाङ्ग्रा सरी ।
शुन्य छ आकास संसारैभरी, जुन र तारा एकै भर परी ।।
हो भन– लैंगिक विभेद चाहिंदैन– भो भन ।।’
गजुरी रुद्रेश्वर आमा समुहका महिलाहरुले गाएको यो गीतले पनि सबैलाई छमछमी नै पा¥यो । जानी नजानी स्वर नमिसाई दर्शकले धर पाएनन् । लैंगिक समानताको बारेमा प्रस्तुत गरिएको यो गीत प्रतियोगितामा दोश्रो भएको छ ।

झट्ट हेर्दा झण्डै ६० नागेकी दुई महिलाले गाएको देशभर भइरहेको महिला हिंसाका घटना समेटिएको गीत प्रतियोगितामा तेश्रो भएको छ । सबै प्रतियोगीले लेखेर ल्याएका गीत हेरीहेरी प्रस्तुत गरिरहँदा पिण्डेश्वरी आमा समूहका दुई जना आमाहरुले कापीमा नहेरिकनै गीत प्रस्तुत गरेका थिए । ५ वर्षिय बालिकाको बलत्कार प्रयासदेखि निर्मला पन्तमाथी भएको हिंसाका घटनासमेत गीत मार्फत उनीहरुले प्रष्ट सुनाएका थिए । महिला बहुउद्देश्यीय सहकारीको समूह प्रतियोगितामा सान्त्वनाले स्थान पाएको छ ।

मेगावी समुहले गाएको ‘अधिकार चलाउने अभियान, नारीहरुको सफलता स्वाभिमान, नारी मरे हत्यामा परेर पुरुष हिड्छन् षड्यन्त्र गरेर’, गजुरी– ५, च्याङ्लीका सरिता प्रजाको नेतृत्वमा आएका प्रतियोगी समूहले गाएको ‘धन पैसाको केशमा, नारी चेली बेचिन्छन् नेपाल हाम्रो देशमा’ लगाएतका टुक्काहरु पनि निकै गहकीला थिए ।
‘स्थानीय चुनाव छ संघारमा, समावेशी आओस् है नेपालमा’, हास्दै हास्दै जाउँ है मेलामा, घरको काम नभन्नु है नारी अधिकार लिने बेलामा’, जस्ता गीतले पनि अब महिला पनि जानकार भइसकेका छन् है भन्ने सन्देश छलङ्गै बनाएको गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाले बताइन् ।

प्रतियोगिता उद्घाटन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, गजुरीका प्रमुख प्राशासकीय अधिकृत राजन घिमिरे, वडा अध्यक्षहरुले महिला समूहले प्रस्तुत गरेका गीतका खुलेरै प्रशंसा गरे । प्रतियोगितामा गजुरी गाउँपालिकाभित्रका १८ समूह सहभागी थिए ।
प्रथम, दोश्रो, तेश्रो र सान्वना हुने समूहहरु क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदसहित पुरस्कृत भएका छन् । सहभागी समूहहरुलाई पनि हौसला स्वरुप नगद १५ सय सहित सम्मान गरिएको छ ।




