काठमाडौं : स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त मागेको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले दरखास्त आह्वान गरेको हो । चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् ।
दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने भनिएको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।
म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने सूचनामा भनिएको छ ।
२०७८ साउन १ गतेदेखि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्राथमिकता पाउनेछन् । नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ ।
म्यादी प्रहरी सम्बन्धी अन्तिम नतिजा २२ चैतमा प्रकाशित हुनेछ भने उनीहरुको सेवा अवधि ४० दिन रहेनछ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) ले ३० हजार २४० रुपैयाँ दिइने भनिएको छ ।
उनीहरुलाई खाद्यान्नवापत एकमुष्ठ ७ हजार २०० रुपैयाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने भनिएको छ ।
निर्वाचनमा खटिने कर्मचारीका लागि तयारी रुवरुप खटाइएको ठाउँमा आउन जान थप एक हजार रुपैयाँ उपलब्ध गराइने पनि भनिएको छ ।