
शंकर श्रेष्ठ
धादिङ
आसन्न स्थानीय निर्वाचनको टिकट पैसा र बलमा केन्द्रित देखिएको छ । पालिका तथा वडाका जनप्रतिनिधिको टिकट कि धन हुनेले लिएका छन् कि बल हुनेले पाएका छन् ।
पालिका तथा वडा तहमा दलहरुले उठाएका आधाजसो उम्मेदवारहरु गाउँवस्तीमै सामाजिक सेवामा भिजेका भन्दा फरक व्यक्तिहरु परेका छन् ।
दलहरुले पार्टीमा योगदान गरेका, सामाजिक सेवामै दिन व्यतित गरिरहेकाहरुलाई भन्दा पैसा भएका व्यक्तिहरुलाई नै रोजेका छन् ।
नेपाली काँग्रेसबाट सिद्दलेक गाउँपालिकाका अध्यक्षका उम्मेदवार बनेका परशुराम खतिवडा भुगोलमा बसेर राजनीति गरेका व्यक्ति होइनन् । काठमाडौमा करिब २० वर्षदेखि गार्र्मेन्ट संचालक र सप्लायर्स हुन् । गाउँठाउँ घुमेर जनताको सेवामा खासै देखिएका अनुहार होइनन् ।
कांग्रेसबाटै ज्वालामुखीमा अध्यक्षका उम्मेदवार यमनाथ दनै पनि व्यवसायी हुन् । उनी १५ वर्षदेखि नवलपरासीमा उद्योग संचालन गरेर बस्दै आएका छन् । एकाद समय मात्रै जिल्ला आइपुग्ने दनैलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाका नेकपा एमालेका उम्मेदवार उमेश थापा अधिकांश समय सामाजिक सेवा भन्दा आफ्नै टापटिपे काममा अल्झिरहने व्यक्ति हुन् । उनी हर समय जिल्ला बाहिरै हुन्छन् । पहुँचको राजनीतिमा टिकेका व्यक्ति हुन् । पार्टीको बैठक बाहेक अन्य समय जिल्लामा नभेटिने नेता हुन् । यस्तै एमालेले नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षका उम्मेदवार सुवर्ण रिमाल पनि गाउँ बसेर सामाजिक काममा भिजेका व्यक्ति होइनन् ।
नेकपा माओवादी केन्द्रले गजुरी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनाएको गणेशलाल श्रेष्ठ ढुंगा, गिट्टी, बालुवाका व्यापारी हुन् । जनताको घरदैलोमा पुगेर राजनीति गरेका भन्दा पैसाले राजनीति टिकाएका व्यक्तिमा पर्छन् ।
नेकपा एकिकृत समाजवादीले गल्छी गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएका कृष्णहरि श्रेष्ठ ढुंगा, बालुवाकै व्यापारीको रुपमा चिनिएपनि पञ्चायतका जनपक्षिय उम्मेदवार हुँदै तत्कालिन गाविस अध्यक्षदेखि गाउँपालिका अध्यक्षसम्म चलाइसकेका व्यक्ति हुन् ।
निर्वाचन र राजनीति दुबै महंगो भएको र खर्च व्यवस्थापनमा समस्या हुन थालेपछि दलहरुले पार्टीमा योगदान गर्नेलाई भन्दा पैसावालालाई नै महत्व दिन थालेको जानकारहरु बताउँछन् । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा भन्छन्–‘अबको राजनीति धन र बलमा केन्द्रित हुन थाल्यो ।’ यसले जनताको आकांक्षा पुरा गर्न र योजनावद्ध विकासमा बाधा पर्न जाने शर्माको बुझाई छ ।
राजनीतिक पार्टीका अग्रज नेताहरु भने नेतृत्वले देश र जनताप्रति बैमानी गरेको बताउँछन् । जनयुद्धमा गोली खाएर नयाँ जीवन प्राप्त गरेका र जिउँदो सहिदका नामले चिनिएका माओवादी केन्द्रका नेता राम बहादुर भण्डारी भन्छन्–‘देश र जनता भन्दा आफ्नो महत्वकांक्षा पुरा गर्न नेतृत्वले यस्ता व्यक्ति रोज्ने गरेका हुन् ।’
जनतामा नचिनिएका, भुगोल नै थाहा नभएका र स्थानीय ठाउँमा बस्दै नबस्नेहरुले टिकट पाउनुलाई भण्डारीले गैर राजनीति हावी भएको शंज्ञा दिए । ‘यो गुटबन्दी र राजनीतिलाई विचैमा टुंग्याउने गलत मान्छेहरुको हुल जम्मा गर्ने तरिका हो’, भण्डारीले भने–‘यो सुद्धिकरण गर्न जरुरी छ, यस्ता प्रवृत्तिलाई जनताले पनि औला उठाउनु पर्छ ।
नेपाली कांग्रेस धादिङका पुराना नेता नन्द प्रसाद रिजाल पनि राजनीतिक दलहरुले अघि बढाएका उम्मेदवारहरु प्रति चिन्तित छन् । बैदेशिक रोजगारीबाट फर्किएका, नेताका नजिकका व्यक्ति, थर्काइ र धम्कीका भरका टिकट दिनु दलहरुका नेतृत्वको कमजोरी औल्याउँछन् । ‘यो राम्रो संकेत होइन, जनप्रतिनिधि जनताप्रति बफादार हुने संकेत छैन’, नेता रिजालले भने । केन्द्रदेखि जिल्लासम्म नसच्चिने हो भने लोकतन्त्र नै धरापमा पर्ने रिजाल बताउँछन् ।
पहिलो निर्वाचनमा भन्दा यो निर्वाचनमा वडाअध्यक्षमा युवा पुस्ताको प्रवेशले प्राथमिकता पाएको छ । तर, राजनीतिक आचरणका भन्दा हुलदङ्गामा रमाउनेहरुलाई नै नेतृत्वले वडाअध्यक्षको उम्मेदवार रोजेका छन् ।
टिकट नपाए पार्टी छोड्छु, स्वतन्त्र उठ्छु भन्दै धम्क्याएर टिकट लिनेको जमात ठूलो देखिएको छ । युवा पुस्ताका केही उम्मेदवारहरुले त नेतृत्वमा रहेका नेताहरुलाई धम्क्याएकै भरमा टिकट लिएको जानकारहरु बताउँछन् । उनीहरु भन्छन्–‘पैसा पेलाई र बल मिचाईकै भरका टिकट लिने प्रवृत्तिले राजनीतिप्रति नागरिकको वितृष्णा जाग्नेछ र योजनाबद्ध विकास हुने कुराको विश्वास गुमेको छ ।’