
धादिङ– धादिङका तीन जना कृषक जिल्ला स्तरीय रास्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् ।
धुनिबेसी नगरपालिका-९ का मौरी पालक कृषक रामराजा पाण्डे, फुल खेती गर्ने कृषक पेमा डोल्मा, नीलकण्ठ नगरपालिका-३ मा भैंसी पालक कृषक विनोद कुमार श्रेष्ठ पुरस्कृत भएका हुन् ।
उत्कृष्ट छनोट भएका तीन जना कृषकलाई ४३औं खाद्य दिवसको अवसरमा कृषि ज्ञान केन्द्र धादिङले जनही १२ हजार पाँच सय नगद र प्रमाणपत्रसहित पुरस्कार वितरण गरेको छ । विभिन्न चरण र विधामा मुल्यांकनको आधारमा उत्कृष्ट छनोट गरिएको कृषि ज्ञान केन्द्र धादिङका प्रमुख निर्मला गुरुङले बताउनुभयो ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले कृषि पेसालाई समानित पेसा बनाउन सबै क्षेत्रले समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय तहहरुले पनि कृषक सम्मानको कार्यक्रम ल्याएर किसानको हौसला बढाउने काम गर्न आवश्यक रहेको बताए । ‘थोरै उपलब्धिको लागि धेरै संघर्ष गर्ने किसानलाई पुरस्कारले हौसला थप्नेछ’, गैह्रेले भने-‘कृषि क्षेत्रमा सुधार ल्याउन पनि सरकारले किसानको सम्मान गर्न सक्नुपर्छ ।’