Sat. Jul 5th, 2025

माथिल्लो सडकको डिल भासिएर खसेको थियो झ्याप्ले खोलाको पहिरो

धादिङ- ‘पहिरो’को पर्यायबाची नाम हो ‘झ्याप्ले खोला’ । नौबिसे नागढुंगा हुँदै यात्रा गर्ने पूर्व पश्चिमका यात्रुहरुबीच पनि चर्चित नाम हो । त्यहाँ निरन्तर बग्ने कुनै खोला छैन ।

अहिले पहिरो चलेको भन्दा केही मिटर पर एउटा खोल्सा छ । त्यहाँ एक धारो पानी बग्छ । बिहिबार राती पहिरो खसेको अघिल्लो र पछिल्लो भित्ताबाट हरेक वर्खामा पहिरो चलिरहन्थ्यो । सबैले ‘झ्याप्ले खालाको पहिरो !’ अथवा ‘झ्याप्ले खोलाको जाम !’ भन्थे । चालकहरुले पनि त्रासैत्रासमा सवारी हुइक्याउँथे, यात्रुहरु पार गर्थे ।

यो पटक भने झ्याप्ले खोलाको पहिरोले निकै ठूलो रुप लियो । माथिल्लो सडकको डिल भासिएर तल्लो सडकमा थुप्रिन पुग्यो । माथिल्लो सडक भन्नाले नौबिसे नागढुंगा सडक कै सिरान हो । जुन स्थान नागढुंगाबाट थोरै तल पर्छ । त्यो स्थान पनि भौगोलिक हिसावले कमजोर छ । सडक विस्तारको क्रममा छेउकुना नै भस्काइएको छ । छेउपट्टि ग्याविन जाली र मेसिनरी वाल लगाइदै छ । कुनापट्टि भित्ता खारिएको छ । त्यहि भित्ता खारेर माटो फलिएकै डिलबाट सुरु भएको पहिरो बगेर तल्लो सडकसम्म पुगेको हो ।

तल्लो सडक र माथिल्लो सडकबीचको भर्टिकल दुरी गुगल अर्थले दिएको मापनअनुसार एक सय ८० मिटर छ । ढिस्को भासिएर जंगल मढार्दै झरेको पहिरो सडकमा गुडिरहेका सवारीमाथी बजारिन पुगेको हो । घटनास्थल पुगेर फर्कनुभएका धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले भन्छन्–‘माथिल्लो सडकको डिलबाट नै पहिरो झरेको देखिन्छ र गुडिरहेकै सवारीमाथी पहिरो खसेको अनुमान लगाउन सकिन्छ । किनकी पहिरोमा पुरिएका सवारीबाट कोहीपनि निस्किएर बाँचेको भेटिएन ।’

ढुंगामुढासहित डाँडै भासिएर खसेको लेदो तल्लो सडकमा करिब १० फिट भन्दा बढी उचाइमा थुप्रियो । पहिरोले सवारी पुरिएको पत्ता लगाउनै मुस्किल प¥यो । ढुङ्गामुढा र लेदो सहितको पहिरोले लु १ ज ४५७८ नम्बरको माइक्रोबस (विंगर म्यान)लाई सडकमै पुरेको र ना ४ ख २२७० नम्बरको बस र बा २ ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस)लाई सडकबाट तल खसालेर पुरेको अवस्थाबाट निकालिएको छ । एउटा माइक्रोबसलाई सडकमै पुगेको र अर्काे बस र माइक्रोलाई सडकभन्दा तल पुगेको अवस्थामा भेटिएको उद्धारकार्यमा संलग्न धुनिबेसी नगरपालिका–९ का वडा सदस्य विक्रम जंग रानाले बताए ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनास्थल भन्दा अगाडि काठमाडौतर्फ शुक्रबार बेलुका सानो पहिरो झ¥यो । त्यहि पहिरोले गर्दा गाडी जाम लाग्यो । अहिले दुर्घटना भएको स्थान अरुभन्दा फराकिलो ठाउँ भएकोले धेरै सवारीहरु त्यहि साइड लगाइएका थिए । जहाँ धेरै सवारी रोकिएको थियो त्यहि ठाउँमा सडक माथीबाट गेग्रानसहितको लेदो खसेको सडक छेउमा पसल गर्दै आउकी कमला ढकालले सुनाए । सवारीको वाम लागिरहेकै देखेर सुतेको र बिहान करिब ४ बजे बिउँझिदा पहिरोले गाडीहरू पुरिएको देखेको उनकाे भनाई छ ।

त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोबाट आइतबार बेलुकासम्म ३५ जनाको शव निकालिएको छ । जसमध्ये पुरुष २५ जना, महिला नौं जना र एक जना बालक छन् ।

चितवनबाट काठमाडौँ आउँदै गरेको बा३ज १३४५ नम्बरको माइक्रो बसका १३ जना,  गोरखाबाट काठमाडौँ आउँदै गरेको ना४ख २२७० नम्बरको बसका ८ जना र बुटवलबाट काठमाडौँ आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसका १४ जना रहेको बुझिएको छ । तर सबैको सनाखत नसकिएकोले कुन सवारीमा को थिए भन्ने प्रहरीले यकिन गर्न सकेको छैन । सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । पोस्टमार्टमपछि सनाखत गरेर उनीहरूको शव आफन्तलाई बुझाउने तयारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्काभेटर प्रयोग गरेर सोमबार पुनः उद्धार जारी राख्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं् सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।
पहिरोले सवारी पुरिएको स्थान काठमाण्डौको कलंकीबाट १५ किलोमिटर दुरीमा पर्छ  । यो क्षेत्रमा २०५५ र २०५९ सालमा समेत पहिरो गएर धनजनको क्षति भएको थियो ।

About The Author

अन्य समाचारहरु: