Fri. Jul 4th, 2025

ज्वालामुखीमा खानेपानी बोर्डको दीगो व्यवस्थापन सम्बन्धी समन्वयात्मक अन्तरक्रिया

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकामा ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको दीगोपनाका विषयमा समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा फोकस नेपाल, अक्सफाम नेपाल र ज्वालामुखी गाउँपालिकाको आर्थिक, प्राविधिक तथा समन्वयात्मक सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा बोर्ड मोडेलमा आधारित खानेपानी व्यवस्थापनको अनुभव, चुनौती र सम्भावनाबारे सामुहिक छलफल गरिएको छ।

गाउँपालिका अध्यक्ष एवं् बोर्ड अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रियामा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठ प्रमुख अतिथि थिए । समावेशी, न्यायपूर्ण र दीगो खानेपानी सुशासनप्रति प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दनैले आगामी दिनमा बोर्ड मोडेलमा आधारित योजनालाई अझ सशक्त ढंगले अघि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रममा स्थानीय राजनीतिक दल, उपभोक्ता समिति, प्राविधिकहरु सहभागी थिए ।

अध्यक्ष दनैले प्रारम्भिक अवरोध, फोकस नेपाल र अक्सफामको सहयोग र हालको अवस्था प्रस्तुत गर्दै राजनीतिक सहमतिसहित अगाडि बढ्नुपर्नेमा जोड दिए । हटिया खानेपानीका उपभोक्ता प्रतिनिधि कृष्णप्रसाद काप्रीले बोर्ड स्थापना पश्चात् देखिएको पारदर्शिता र सहजताको अनुभव सुनाए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश थापाले केही नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै संस्थागत समन्वय अझ बलियो बनाउनुपर्ने धारणा राखे । गाउँपालिका उपाध्यक्ष धर्मबहादुर अर्यालले बहुपक्षीय समन्वय र उपभोक्ता समितिको आवद्धता बढाउनु अपरिहार्य रहेको बताए ।

फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले दीगो खानेपानी सुशासनका लागि बोर्ड मोडेल महत्वपूर्ण भएको उल्लेख गर्दै सबै पक्षलाई साझा धारणा बनाउँदै अघि बढ्न आग्रह गरे । बोर्डका प्रबन्धक सबिना रेग्मीले बोर्ड मोडल कार्यान्वयनका चुनौती र सिकाइहरू प्रस्तुत गरिन् ।

अक्सफामका थिमेटिक लिड एञ्जिल अधिकारीले दीगो व्यवसायिक योजना र अवसरबारे बताए । परामर्शदाता पंकज आचार्यले विद्यमान व्यावसायिक योजनामा देखिएका कमजोरी र सुधारका सुझावहरू प्रस्तुत गरे । महानिर्देशक इन्जिनियर श्रेष्ठले बोर्ड मोडेल सम्बन्धमा संघीय अवधारणसहित राष्ट्रिय नीतिमा समावेश हुने सम्भावनाबारे चर्चा गरे ।

राजनीतिक दलका तर्फबाट कांग्रेसका सभापति रेशमलाल काप्री, नेकपा एकिकृत समाजवादी ज्वालामुखी गाउँ कमिटिका अध्यक्ष भानुभक्त दुबाडी, नेकपा एमाले जिल्ला कमिटि धादिङका सदस्य युगेश्वर अर्याल लगायतले बोर्ड मोडल कार्यान्वयनमा पारदर्शिता, सहकार्य र संस्थागत सुधारको आवश्यकता औंल्याउँदै समर्थनको प्रतिबद्धता जनाए। वडा नं ६ का अध्यक्ष किशोर सेढाईंले राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर बोर्डलाई सहयोग गर्न अपिल गरे ।

About The Author

अन्य समाचारहरु: