Fri. Jul 4th, 2025

धादिङको रामकोट सडकमा रुखसँगै उम्रिएको आशा

धादिङ ।
पानीमा हिलो, घाममा धुलो । वर्षैभरी हिलाम्मे र धुलाम्मे । स्थानीयलाई सधैंको सास्ती हुन्थ्यो । रामकोट सडकको यो कहानी बिस्तारै फेरिँदैछ । नयाँ कालोपत्रे सडकले रूप बदल्न थालेसँगै अब त्यसमा हरियाली थपिँदैछ ।

कहिल्यै नसकिने धुलो, वर्षातमा बग्ने हिलो अनि पैदलयात्रुका लागि अप्ठ्यारो सडक किनारमा बिरुवा रोपिएसँगै गाउँलेहरूमा छुट्टै आशा पलाएको छ । ऊर्जा थपिएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको दिन शनिबार सडक किनारमा विरुवा रोप्दै गर्नुभएका स्थानीय ठाकुर कुमाल भन्छन्–‘यो हामीले रोपेको रुख मात्रै होइन, यो त धुलो र हिलोको बीचबाट उम्रिने सपना हो । केही वर्षपछि यो सडकमा जोे हिँड्छ, उसले यो गाउँ, सडक र हरियालीको महशुस गर्न पाउनेछ ।’

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शनिबार नीलकण्ठ नगरपालिका–८ रामकोट सडक किनारमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ । गाउँ र सहरको सीमामा रहेको रामकोट सडकलाई हरियालीको घेरामा परिणत गर्ने लक्ष्यसहित छ फिट सम्म अग्ला तीन सय वटा ठूला बिरुवा रोपिएको हो । डिभिजन वन कार्यालय धादिङको आयोजना र नीलकण्ठ नगरपालिका–८ को व्यवस्थापनमा ट्री गार्डसहितका कल्की, ज्याकरन्डा, कपूर, अशोक र असारे फूल रोपिएको छ ।
डिभिजन वन कार्यालय धादिङका डिभिजन प्रमुख विष्णु प्रसाद आचार्य भन्छन्– ‘आज रोपिएका बिरुवाहरू भोलिका लागि हरियालीको जग हुन् । यसलाई संरक्षण गर्न सके यस्ता अभियानको प्रभाव पुस्तौँसम्म रहनेछ ।’ सडक किनारको वृक्षारोपणले धुलो र ध्वनी प्रदूषण नियन्त्रण गर्न, छायाँ प्रदान गर्न, जमिन क्षय रोक्न र जैविक विविधताको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । सौन्दर्यसँगै वातावरणीय संरक्षण र सामुदायिक सहभागिता सहयोग पुग्नेछ ।
हरेक बिरुवाको गहिराइ मापन गर्दै हिँडिरहनुभएका डिभिजन वन अधिकृत आचार्यले भने–‘हामीले सुरू गरेका छौं, अब यो संरक्षण गर्ने जिम्मा गाउँलेको हो ।’

सडक छेउमा वृक्षारोपणले केवल सौन्दर्य मात्र नभई दुर्घटनामा कमी, तापक्रम सन्तुलन र पर्यावरणीय शिक्षा प्रवाहमा सकारात्मक असर पार्ने नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकास कुमार श्रेष्ठको बुझाई छ । रामकोट सडकलाई हरित मार्गमा रूपान्तरण गर्ने उद्देश्यले थालिएको यो अभियानले नीलकण्ठ नगरपालिका र आसपासका क्षेत्रहरूमा वृक्षारोपणको सकारात्मक प्रभाव फैलाउने अपेक्षा गरिएको श्रेष्ठको भनाई छ ।

‘हिजो हिलोमा चिप्लिदै हिँड्नुपर्ने सडक छेउमा रुख रोप्दैछौं । अब केही समयपछि जब यी बिरुवाले छायाँ दिनेछन्, फुलाउनेछन्, त्यसबेला यो सडक हाम्रो वडाको गर्व बन्नेछ । यो सडक प्रयोग गर्ने जोकोहीलाई रुखहरूले स्वागत गर्नेछ । ‘हामी यो अभियानलाई निरन्तरता दिनेछौं र हरियाली गाउँको ब्रान्ड बनाउनेछौं,’ वडा अध्यक्ष श्रेष्ठले सुनाए ।

सडक छेउमा हरियाली हुँदा सडकमा हिँड्नेहरुलाई आनन्द त आउछ नै स्वस्थ जीवन शैलीमा टेवा पुग्नेछ । अहिले रोपेका विरुवाले सन्ततिसम्मलाई आनन्द दिने र सम्झना दिलाउने स्थानीय नेतृ भगवती पौडेल बताउछिन् । भन्छिन्–‘सहरका सडकजस्तै हाम्रो गाउँ पनि हराभरा बनेको हेर्न पाइयो भने यो नै प्रगतिको संकेत हो ।’ अब रोपेर मात्रै होइन, हुर्काउने जिम्मेवारी पनि हाम्रो हो ।’
सडक छेउमा रुख रोप्न खाल्डो खन्दै गर्नुभएकी वृद्धाहरु भन्दै थिए–‘रुख रोपेर हामी जान्छु होला, तर जब यी रुखहरू ठुला हुन्छन्, हाम्रा सन्तानले हिँड्दा हामीलाई पक्कै सम्झनेछन् ।’
धुलो, हिलो र उपेक्षाबाट उकालो लाग्दै गरेको रामकोट सडक सिर्जनशीलता, सौन्दर्य र सम्भावनाको प्रतीक बनेर आज रुखसँगै उभिएको छ । केही समयपछि यही सडक जीवन्त हुनेछ, फुल्नेछ, सुगन्ध फैलाउनेछ । तब यस गाउँका बासिन्दाले गर्वका साथ भन्न सक्नेछन्–‘हामीले रोपेथ्यौं, हाम्रो आशा हुर्कियो ।’

वृक्षारोपण कार्यक्रमले रामकोट सडकको दुबै किनारमा हरियाली अभियानको सम्भावना अझ बढाएको छ । डिभिजन वन कार्यालय धादिङले पनि स्थानीयको सहभागितामा थप वृक्षारोपण विस्तार गर्न सकिने जनाउँदै, सबै नागरिकलाई आफ्ना नाममा वा आफ्ना पूर्खाका नाममा रुख रोप्न आह्वानसमेत गरेको छ ।

आफ्नो नाममा वा आफ्ना पिता–पूर्खाका नाममा विरुवा लगाउन चाहने हरेक घर–परिवारलाई डिभिजन वन कार्यालयले अनुदानमा बिरुवा उपलब्ध गराउने डिभिजन वन अधिकृत आचार्यले जानकारी दिए । धादिङबेसी र आसपासलाई नमूना नगर बनाउने र सिंगो जिल्लालाई हराभरायुक्त बनाउने अभियानमा ठूला विरुवा पनि उपलब्ध गराउन तयार रहेको उनको भनाई छ ।

बारी र घर वरिपरि पनि यस्तै वृक्षारोपणको अभ्यास थालनी गर्नु पनि अधिकांशको सुझाव छ । यस्ता विरुवा हुर्किएपछि गाउँ र सडकको सुन्दरता झनै बढ्नेछ । सदरमुकाम धादिङबेसीदेखि वडा कार्यालयसम्मको यो पहाडी सडक नेपालकै नमूना सडक बन्नेछ । सडक छेउमा फल्ने फुल र हरियाली हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुनेछन् ।

डिभिजन वन कार्यालय र स्थानीय सरकारको सहकार्यमा सञ्चालन गरिएको वृक्षारोपण कार्यक्रमले रामकोट मार्गलाई हरियाली मार्गको रूपमा विकास गर्ने आधार तयार गरेको प्रकृति तथा संस्कृति संरक्षक डा. नविनबन्दु पहाडीको भनाई छ । अब स्थानीय बासिन्दाले ‘आफ्नो रुख, आफ्नो नाम’ भन्ने भावनासहित वृक्षारोपणमा सहभागी हुँदा यो अभियानले सांस्कृतिक, पारिवारिक र सामुदायिक सन्देश पनि प्रवाह गर्ने अपेक्षा गरिएको पहाडीले बताए ।

‘हरियाली अभियान’लाई वडाको नियमित कार्यक्रम बनाउने तयारीसमेत भएको छ । अघिल्लो वर्ष लगाइएका विरुवाहरु पनि सडक छेउमा हुर्कदैछन् । सडकको छेउमा हुर्कदै गरेका बिरुवाहरू अब केवल वातावरणीय सौन्दर्य मात्र होइन, कदर, सम्झना र पहिचानका जीवित प्रतीक बन्न थालेका छन् ।

About The Author

अन्य समाचारहरु: