– रामकुमार एलन
चीनको नाकाबाट आयात निर्यातको रुमानी सपना बोेकेर ठूलो लगानीमा रसुवा नाका सञ्चालनमा आयो । तर नाका सञ्चालनसँगै राजनीतिक अस्थिरताले यसको यसको दीगोपन खोजिएन । सचेतना अपनाइएन र चीनमा आएको बाढीले नेपालको संरचनासमेत ध्वस्त भयो । रसुवा भन्सार सपना केही भौतिक सम्पत्तिसहित बगरमा परिणत भएको छ । चीनले तीन साताअघि नै आफ्नो देशमा बाढीपहिरोको ठूलो चपेटा रहेकाले नेपालका केही जिल्लालाई सचेतना अपनाउन भनेको थियो । सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रसुवा, रामेछापलगायतका जिल्लालाई यसको सतर्कता गराइँदा चीनकै ताल फुटेर उसले पनि ठूलो क्षति बेहोरेको छ । नेपालले पनि अकल्पनीय क्षति बहोरेको छ ।
‘चीन र नेपालको सिमाना भएर बग्ने नदीमा एक्कासी बाढी आएका कारण ठूलो जनधनको नोक्सानी भयो । विनाशकारी भूकम्पले नेपालको रसुवा गढी नराम्ररी प्रभावित भएको थियो । एघार जनाभन्दा बढी मानिसको मृत्यु भएको सूचना थियो । सानो आकारमा रहेको भन्सार तहसनहस नै भयो । कैयौँ गाडी पुरिए । बाटो, विद्युत् र टेलिफोनबाट रसुवागढी केन्द्रसँग सम्पर्कविहीन भयो,’ रसुवागढी भन्सार सञ्चालनताका खटिएका प्रमुख अधिकृत केदार पनेरुका शब्दहरु सापट लिएँ, ‘जो कोही त्यहाँ जानसक्ने अवस्था थिएन । चिनियाँ पक्षले एकपटक सडक सुधार गरेर धुन्चेसम्म यातायात जोड्ने कोसिस त नगरेको होइन तर पटकपटकको भूकम्पको पराकम्पले पुनः जस्ताको तस्तै हुन पुग्यो । सिमानामा रहेका नेपालीले चीन सरकारले बाँडेको राहतको नूनचामल र पिठोले गुजारा चलाउन बाध्य भए ।’ पनेरुकै शब्दमा सीमामा रहेका हुलाक, अध्यागमन, भन्सार र प्रहरी कार्यालय विस्थापित भएका थिए । रसुवागढीबाट तल टिमुरेमा भन्सार र प्रहरी स्थानान्तरण भयो भने अध्यागमन र हुलाक घट्टेखोलामा सरेको थियो । हप्तामा एकदिन पालैपालो हाजिर गर्न पुग्थे कर्मचारी । तत्पश्चात नेपाल सरकारले पनेरुलाई त्यहाँ खटाएको थियो । पनेरु बडो दुःखले पुगेका थिए । टुकिबत्तीको सहारा मैनबत्तीले गुज्रिएर एक हप्तामै सरकारका सबै निकाय हारगुहार गरेर पनेरुले सडक विभागबाट १५ दिनका लागि प्राविधिकसहितको टोली र डोजर ल्याउने व्यवस्था गरेका थिए ।
नेपाल विद्युत् प्राधिकरणले बिजुलीको पोल गाडिदिएको थियो । दूरसञ्चारले भिएचएफ प्रणाली जोडिदियो । २ महिनामा सबै बाटो, पानी, बत्ती र टेलिफोन चल्यो । टिमुरेमा अस्थायी पोष्ट खडा भएको सुनाउँछन् पनेरु । भन्सार पनि तलै टिमुरेमै रहने भयो । जेनेरेटर पनि व्यवस्था भयो । अब टिमुरे अलिअलि आन्तरिक रुपमा चलायमान हुन थाल्यो । त्यतिखेरको अनुभव सुनाउँछन् पनेरु । मानिस आउजाउ गर्न थाले । कैयौँ सरकारी निकाय र अरु साथीहरुलाई केरुङ अवलोकन गराउने कोसिस गरेको उनले सम्झिए ।
तर चीनतर्फ ठूलो पहिरोको कारण सडक यातायात जोडिन कठिन थियो । उनीहरु युद्धस्तरमा तयारी गर्दै थिए । त्यो पहाडमा उसले सम्पूर्ण संयन्त्र प्रयोग गरेर सडक बनाएरै छाड्यो । क्वारेन्टाइन, अध्यागमन सुरक्षा प्रणाली पुनः सक्रिय भयो । अन्तत चार महिनापछि चीनले केरुङ नाका खोल्न सफल भयो ।
‘हामीले पनि स्थायी पूर्वाधार तयार गर्ने सोचले सिमानामा भन्सार, क्वारेन्टाइन, प्रहरी, अध्यागमन, हुलाकको लागि एकीकृत भवनको नक्सा तयार गर्यौँ । स्वीकृत गराउन म आफैँ दुवै प्रहरी प्रमुखसँग छलफल र संवादबाट डिजाइनमा खटिएँ र फाइनल गरियो,’ पनेरु भन्छन्, ‘भन्सार विभागको नेतृत्वले पूरै सहयोग गरिदियो । स्वयम् प्रधानमन्त्री केपी ओली गढीमा पुग्नु भयो । योजना आयोग, भौतिक र अर्थमन्त्री पुग्नु भयो । हामीले शहरी विकासलाई भवन बनाउने जिम्मा दियौँ । अहिले लगभग तयार भयो । टिमुरेमै म आफैँले पार्किङ यार्ड बनाउने कोसिस गरेँ । सबै निकायले स्रोत साधन उपलब्ध गराउनाले यार्ड तयार भयो । गल्छीबाट स्याफ्रुबेसीसम्मको डबल लेन सडक बनाउने टेन्डर लाग्यो । अहिले बाटो बनिरहेछ । यसरी यस नाकाको पूर्वाधार निरन्तर बनिरहेकै छ । तर सरकार फेरियो । म त एघार महिनामै सरुवा भएँ । प्रमोसनको नम्बर नपुग्ने भयो । अदालत धाएँ । पुनः सरुवा बदर गरिदियो सर्वोच्चले । म चार महिनामा पुनः जोडिएँ । बाइस महिनामा नम्बर पुगेपछि म सरुवा मागेर निस्किएँ । मेरो त्यही दुर्गमकै नम्बरले प्रमोसन भएर सहसचिव भएँ सोही वर्ष ।’
यसरी रसुवाको टिमुरे बनाउन अहोरात्र लागेका एकजना हाकिमले यति सास्ती पाए भने सर्वसाधारणले सरकारसँग गरेको आसा कसरी पूरा हुन्छ ? पनेरु अहिले अवकाश भएको पाँच वर्ष भसकेको छ । रसुवा छाडेको आठ वर्ष भएको छ । चीनतर्फ आएको बाढीले नेपाली र चिनियाँ नागरिक बगाउदा पनेरुको पनि मन थामिएन । भावविह्वल भए । आँखा रसाए । चिनियाँ पक्ष र नेपालमा भएको जनधनले उनी पनि झस्किए । प्राकृतिक विपदका अगाडि त्यहाँ केही लागेन कसैको पनि । न नेपाल न चीन । जोखिम जहिले पनि छ । पनेरु कैयौँपटक सुक्खा पहिरोबाट बालबाल बचेको सम्झन्छन् । उनले भविष्यमा यस्तो विपद् पुनः भोग्न नपरोस् भन्ने कामना पनि गरेका छन् । यसरी साकार भएको एउटा सपना भताभुंग भएको सुनाउँछन् पनेरु । यसले धादिङसम्म असर गरेको छ ।
हामीले २०८१ असोज १२ गते आएको बाढीपहिरोको क्षति बेहोरेका हौँ । सधैँ दुःख पाएको हेर्न हेलिकोप्टर चढेर सरकार जाने गथ्र्यो । त्यतिखेर सरकार बाहिर जान परेन । काठमाडौँमै बाढीपहिरो गयो । कतिसम्म भने सरकारले हेलिकोप्टरबाट बाढीमाथि ज्यान जोगाइरहेकाहरुलाई बचाउन पनि सकेन । बरु सर्वसाधारणले ज्यान बाजी राखेर उनीहरुलाई बचाए । सरकार सिंहदरबारको ६–७ किलोमिटर पेरिफेरीमा पनि पुग्न सकेन । गृहमन्त्री रमेश लेखकलाई त्यो पद लायक थिएन कि भनेर त्यतिखेरै प्रश्न उठेको हो । तर गठबन्धनमा साझेदारको कमजोरीलाई ‘गड गिफ्टेड क्षमता’ मान्नु पर्ने बाध्यताले गृहमन्त्रीलाई कसैले ‘नैतिकताको प्रश्न’ सोध्न परेन । ठूला र सत्ता साझेदारले नसोधेपछि साना प्रतिपक्षीले भनेका भरमा ठूलो सरकारका ठूलो आकारका मन्त्रीलाई नैतिकताको जवाफ दिन पनि परेन । त्यतिखेरको उन्मुक्तिले नै अहिले उनी आफ्नै बहुमतको सरकारमा जवाफ दिन सक्ने हैयिसत गुमाइरहेका थिए । साना प्रतिपक्षीले बन्द गरेको संसदमा जवाफ दिँदा उनलाई ठूलो र पूर्ण सरकारको मन्त्रीको गर्वसमेत गर्न गाह्रो भयो ।
त्यही विपत्तिले काठमाडौँ, ललितपुर, मकवानपुर, धादिङ, काभ्रे, सिन्धुलीको सडक जीर्ण छन् । सडक टालटुल पारेर यातायात चलाइए पनि जनजीवनको सुरक्षित यात्रा कहाँनिर पासोमा पर्ने भन्ने भय छ । महोत्तरीको बर्दिबास हुँदै सिन्धुली–काठमाडौँ बिपी राजमार्ग असुरक्षित छ । कुनै पनि बेला यातायात अवरुद्ध हुने खतरा छ । यता हेटौँडा–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक पनि क्षत्विक्षत् छ । टालटुल पारिएको छ । कुलेखानीको पोखरी भरिएर भएको बाढीले स्कुले केटाहरु पनि बगे । सर्वसाधारण र सिस्नेरी बजार बग्यो । एउटा सडकखण्ड क्षत्विक्षत् हुँदा तत्काल त्यहाँ बालुवा पुरपार पारेर गाडी चलाउनेबाहेक हामीसँग कुनै विकल्प छैन । धूलो र धूँवाले वरपरका जंगल पूरै हरियोरहित भइरहेका हुन्छन् । सडकका खाल्डामा बढ्दो गाडीको चापले जनजीवन उस्तै स्वास्थ्य समस्या खेपिरहेको छ । यसवर्ष पहिलोपटक हेटौँडा–फाखेल–काठमाडौँ यात्रा गर्न डरलाग्दो भयो । हामीले बानी चैँ दुई–तीन घण्टामा काठमाडौँ पुग्ने बनायौँ । अब हेटौँडा–नारायणगढ–मुग्लिन–मलेखु–काठमाडौँ यात्रा गर्न समय नै छैन, बानी छैन भन्न थाल्यौँ । गाउँगाउँमा बाटो पुर्यायौँ तर कुनै पनि बाटो दीर्घकालीन बनाउन सकेनौँ । हामीले गरेको विकासलाई कुनै पनि बेला विपत्तिले दुई घण्टा मात्रै आरिघोप्टे वर्षाले झोक फेरे तुरुन्तै ज्यान जोगाउन कठिन हुने समस्या निम्त्याएर पासो थापेको जस्तो देखिँदै गयो ।
धादिङ, मकवानपुर, काभ्रे, सिन्धुली, नुवाकोट राजधानी काठमाडौँसँग जोडिए पनि सधैँ काठमाडौँको छायाले छोपेको छ । नेतृत्व काठमाडौँ वरपरका समस्या नदेख्ने भएको छ । शासकहरु काठमाडौँ आसपासका जिल्लामा विकास बढी भएको देख्छ । तर यहीँ आसपासको जनजीवन बहुतै कठिन बनिरहेको छ । कुनै पनि बेला छिमेकमा आउने विपत्तिले तहसनहस हुने अवस्था छ । हाम्रा बाटो, राजमार्ग, बस्ती सबै सबै धराप बनेका छन् । हामी अझै पनि आफ्नो बासस्थल र यात्राको मार्ग सुरक्षित बनाउन छाडेर कतै यही शासक ठीक छ भनेर कुर्लिँदै काठमाडौँमा परेड देखाउन जान्छौँ ।
कतै राजा ल्याउन पर्छ भनेर दुर्गा प्रसाईंको जुलुशमा जान्छौँ । कतै दशीप्रमाणसहित अदालतका चलिरहेको मुद्दामा प्रतिशोध होइन, न्याय चाहियो भनेर हस्ताक्षर र खर्च उठाउन थाल्छौँ । हाम्रै घरमाथिको डाँडो कति सुरक्षित छ ? घरमुनिको कुलो र रोडले कतिखेर घर तान्छ, हिसाब राख्दैनौँ । उपभोक्ता समिति बनाएर कीर्ते कागजमा भुक्तानी लिइरहँदा हामीले विकासका नाममा विपत्ति बोलाइरहेका छौँ ।
००००