विकास कि विपत्ति ?

असार २९, २०८२

– रामकुमार एलन
चीनको नाकाबाट आयात निर्यातको रुमानी सपना बोेकेर ठूलो लगानीमा रसुवा नाका सञ्चालनमा आयो । तर नाका सञ्चालनसँगै राजनीतिक अस्थिरताले यसको यसको दीगोपन खोजिएन । सचेतना अपनाइएन र चीनमा आएको बाढीले नेपालको संरचनासमेत ध्वस्त भयो । रसुवा भन्सार सपना केही भौतिक सम्पत्तिसहित बगरमा परिणत भएको छ । चीनले तीन साताअघि नै आफ्नो देशमा बाढीपहिरोको ठूलो चपेटा रहेकाले नेपालका केही जिल्लालाई सचेतना अपनाउन भनेको थियो । सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रसुवा, रामेछापलगायतका जिल्लालाई यसको सतर्कता गराइँदा चीनकै ताल फुटेर उसले पनि ठूलो क्षति बेहोरेको छ । नेपालले पनि अकल्पनीय क्षति बहोरेको छ ।

‘चीन र नेपालको सिमाना भएर बग्ने नदीमा एक्कासी बाढी आएका कारण ठूलो जनधनको नोक्सानी भयो । विनाशकारी भूकम्पले नेपालको रसुवा गढी नराम्ररी प्रभावित भएको थियो । एघार जनाभन्दा बढी मानिसको मृत्यु भएको सूचना थियो । सानो आकारमा रहेको भन्सार तहसनहस नै भयो । कैयौँ गाडी पुरिए । बाटो, विद्युत् र टेलिफोनबाट रसुवागढी केन्द्रसँग सम्पर्कविहीन भयो,’ रसुवागढी भन्सार सञ्चालनताका खटिएका प्रमुख अधिकृत केदार पनेरुका शब्दहरु सापट लिएँ, ‘जो कोही त्यहाँ जानसक्ने अवस्था थिएन । चिनियाँ पक्षले एकपटक सडक सुधार गरेर धुन्चेसम्म यातायात जोड्ने कोसिस त नगरेको होइन तर पटकपटकको भूकम्पको पराकम्पले पुनः जस्ताको तस्तै हुन पुग्यो । सिमानामा रहेका नेपालीले चीन सरकारले बाँडेको राहतको नूनचामल र पिठोले गुजारा चलाउन बाध्य भए ।’ पनेरुकै शब्दमा सीमामा रहेका हुलाक, अध्यागमन, भन्सार र प्रहरी कार्यालय विस्थापित भएका थिए । रसुवागढीबाट तल टिमुरेमा भन्सार र प्रहरी स्थानान्तरण भयो भने अध्यागमन र हुलाक घट्टेखोलामा सरेको थियो । हप्तामा एकदिन पालैपालो हाजिर गर्न पुग्थे कर्मचारी । तत्पश्चात नेपाल सरकारले पनेरुलाई त्यहाँ खटाएको थियो । पनेरु बडो दुःखले पुगेका थिए । टुकिबत्तीको सहारा मैनबत्तीले गुज्रिएर एक हप्तामै सरकारका सबै निकाय हारगुहार गरेर पनेरुले सडक विभागबाट १५ दिनका लागि प्राविधिकसहितको टोली र डोजर ल्याउने व्यवस्था गरेका थिए ।

नेपाल विद्युत् प्राधिकरणले बिजुलीको पोल गाडिदिएको थियो । दूरसञ्चारले भिएचएफ प्रणाली जोडिदियो । २ महिनामा सबै बाटो, पानी, बत्ती र टेलिफोन चल्यो । टिमुरेमा अस्थायी पोष्ट खडा भएको सुनाउँछन् पनेरु । भन्सार पनि तलै टिमुरेमै रहने भयो । जेनेरेटर पनि व्यवस्था भयो । अब टिमुरे अलिअलि आन्तरिक रुपमा चलायमान हुन थाल्यो । त्यतिखेरको अनुभव सुनाउँछन् पनेरु । मानिस आउजाउ गर्न थाले । कैयौँ सरकारी निकाय र अरु साथीहरुलाई केरुङ अवलोकन गराउने कोसिस गरेको उनले सम्झिए ।

तर चीनतर्फ ठूलो पहिरोको कारण सडक यातायात जोडिन कठिन थियो । उनीहरु युद्धस्तरमा तयारी गर्दै थिए । त्यो पहाडमा उसले सम्पूर्ण संयन्त्र प्रयोग गरेर सडक बनाएरै छाड्यो । क्वारेन्टाइन, अध्यागमन सुरक्षा प्रणाली पुनः सक्रिय भयो । अन्तत चार महिनापछि चीनले केरुङ नाका खोल्न सफल भयो ।

‘हामीले पनि स्थायी पूर्वाधार तयार गर्ने सोचले सिमानामा भन्सार, क्वारेन्टाइन, प्रहरी, अध्यागमन, हुलाकको लागि एकीकृत भवनको नक्सा तयार गर्यौँ । स्वीकृत गराउन म आफैँ दुवै प्रहरी प्रमुखसँग छलफल र संवादबाट डिजाइनमा खटिएँ र फाइनल गरियो,’ पनेरु भन्छन्, ‘भन्सार विभागको नेतृत्वले पूरै सहयोग गरिदियो । स्वयम् प्रधानमन्त्री केपी ओली गढीमा पुग्नु भयो । योजना आयोग, भौतिक र अर्थमन्त्री पुग्नु भयो । हामीले शहरी विकासलाई भवन बनाउने जिम्मा दियौँ । अहिले लगभग तयार भयो । टिमुरेमै म आफैँले पार्किङ यार्ड बनाउने कोसिस गरेँ । सबै निकायले स्रोत साधन उपलब्ध गराउनाले यार्ड तयार भयो । गल्छीबाट स्याफ्रुबेसीसम्मको डबल लेन सडक बनाउने टेन्डर लाग्यो । अहिले बाटो बनिरहेछ । यसरी यस नाकाको पूर्वाधार निरन्तर बनिरहेकै छ । तर सरकार फेरियो । म त एघार महिनामै सरुवा भएँ । प्रमोसनको नम्बर नपुग्ने भयो । अदालत धाएँ । पुनः सरुवा बदर गरिदियो सर्वोच्चले । म चार महिनामा पुनः जोडिएँ । बाइस महिनामा नम्बर पुगेपछि म सरुवा मागेर निस्किएँ । मेरो त्यही दुर्गमकै नम्बरले प्रमोसन भएर सहसचिव भएँ सोही वर्ष ।’

यसरी रसुवाको टिमुरे बनाउन अहोरात्र लागेका एकजना हाकिमले यति सास्ती पाए भने सर्वसाधारणले सरकारसँग गरेको आसा कसरी पूरा हुन्छ ? पनेरु अहिले अवकाश भएको पाँच वर्ष भसकेको छ । रसुवा छाडेको आठ वर्ष भएको छ । चीनतर्फ आएको बाढीले नेपाली र चिनियाँ नागरिक बगाउदा पनेरुको पनि मन थामिएन । भावविह्वल भए । आँखा रसाए । चिनियाँ पक्ष र नेपालमा भएको जनधनले उनी पनि झस्किए । प्राकृतिक विपदका अगाडि त्यहाँ केही लागेन कसैको पनि । न नेपाल न चीन । जोखिम जहिले पनि छ । पनेरु कैयौँपटक सुक्खा पहिरोबाट बालबाल बचेको सम्झन्छन् । उनले भविष्यमा यस्तो विपद् पुनः भोग्न नपरोस् भन्ने कामना पनि गरेका छन् । यसरी साकार भएको एउटा सपना भताभुंग भएको सुनाउँछन् पनेरु । यसले धादिङसम्म असर गरेको छ ।

हामीले २०८१ असोज १२ गते आएको बाढीपहिरोको क्षति बेहोरेका हौँ । सधैँ दुःख पाएको हेर्न हेलिकोप्टर चढेर सरकार जाने गथ्र्यो । त्यतिखेर सरकार बाहिर जान परेन । काठमाडौँमै बाढीपहिरो गयो । कतिसम्म भने सरकारले हेलिकोप्टरबाट बाढीमाथि ज्यान जोगाइरहेकाहरुलाई बचाउन पनि सकेन । बरु सर्वसाधारणले ज्यान बाजी राखेर उनीहरुलाई बचाए । सरकार सिंहदरबारको ६–७ किलोमिटर पेरिफेरीमा पनि पुग्न सकेन । गृहमन्त्री रमेश लेखकलाई त्यो पद लायक थिएन कि भनेर त्यतिखेरै प्रश्न उठेको हो । तर गठबन्धनमा साझेदारको कमजोरीलाई ‘गड गिफ्टेड क्षमता’ मान्नु पर्ने बाध्यताले गृहमन्त्रीलाई कसैले ‘नैतिकताको प्रश्न’ सोध्न परेन । ठूला र सत्ता साझेदारले नसोधेपछि साना प्रतिपक्षीले भनेका भरमा ठूलो सरकारका ठूलो आकारका मन्त्रीलाई नैतिकताको जवाफ दिन पनि परेन । त्यतिखेरको उन्मुक्तिले नै अहिले उनी आफ्नै बहुमतको सरकारमा जवाफ दिन सक्ने हैयिसत गुमाइरहेका थिए । साना प्रतिपक्षीले बन्द गरेको संसदमा जवाफ दिँदा उनलाई ठूलो र पूर्ण सरकारको मन्त्रीको गर्वसमेत गर्न गाह्रो भयो ।

त्यही विपत्तिले काठमाडौँ, ललितपुर, मकवानपुर, धादिङ, काभ्रे, सिन्धुलीको सडक जीर्ण छन् । सडक टालटुल पारेर यातायात चलाइए पनि जनजीवनको सुरक्षित यात्रा कहाँनिर पासोमा पर्ने भन्ने भय छ । महोत्तरीको बर्दिबास हुँदै सिन्धुली–काठमाडौँ बिपी राजमार्ग असुरक्षित छ । कुनै पनि बेला यातायात अवरुद्ध हुने खतरा छ । यता हेटौँडा–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक पनि क्षत्विक्षत् छ । टालटुल पारिएको छ । कुलेखानीको पोखरी भरिएर भएको बाढीले स्कुले केटाहरु पनि बगे । सर्वसाधारण र सिस्नेरी बजार बग्यो । एउटा सडकखण्ड क्षत्विक्षत् हुँदा तत्काल त्यहाँ बालुवा पुरपार पारेर गाडी चलाउनेबाहेक हामीसँग कुनै विकल्प छैन । धूलो र धूँवाले वरपरका जंगल पूरै हरियोरहित भइरहेका हुन्छन् । सडकका खाल्डामा बढ्दो गाडीको चापले जनजीवन उस्तै स्वास्थ्य समस्या खेपिरहेको छ । यसवर्ष पहिलोपटक हेटौँडा–फाखेल–काठमाडौँ यात्रा गर्न डरलाग्दो भयो । हामीले बानी चैँ दुई–तीन घण्टामा काठमाडौँ पुग्ने बनायौँ । अब हेटौँडा–नारायणगढ–मुग्लिन–मलेखु–काठमाडौँ यात्रा गर्न समय नै छैन, बानी छैन भन्न थाल्यौँ । गाउँगाउँमा बाटो पुर्यायौँ तर कुनै पनि बाटो दीर्घकालीन बनाउन सकेनौँ । हामीले गरेको विकासलाई कुनै पनि बेला विपत्तिले दुई घण्टा मात्रै आरिघोप्टे वर्षाले झोक फेरे तुरुन्तै ज्यान जोगाउन कठिन हुने समस्या निम्त्याएर पासो थापेको जस्तो देखिँदै गयो ।

धादिङ, मकवानपुर, काभ्रे, सिन्धुली, नुवाकोट राजधानी काठमाडौँसँग जोडिए पनि सधैँ काठमाडौँको छायाले छोपेको छ । नेतृत्व काठमाडौँ वरपरका समस्या नदेख्ने भएको छ । शासकहरु काठमाडौँ आसपासका जिल्लामा विकास बढी भएको देख्छ । तर यहीँ आसपासको जनजीवन बहुतै कठिन बनिरहेको छ । कुनै पनि बेला छिमेकमा आउने विपत्तिले तहसनहस हुने अवस्था छ । हाम्रा बाटो, राजमार्ग, बस्ती सबै सबै धराप बनेका छन् । हामी अझै पनि आफ्नो बासस्थल र यात्राको मार्ग सुरक्षित बनाउन छाडेर कतै यही शासक ठीक छ भनेर कुर्लिँदै काठमाडौँमा परेड देखाउन जान्छौँ ।

कतै राजा ल्याउन पर्छ भनेर दुर्गा प्रसाईंको जुलुशमा जान्छौँ । कतै दशीप्रमाणसहित अदालतका चलिरहेको मुद्दामा प्रतिशोध होइन, न्याय चाहियो भनेर हस्ताक्षर र खर्च उठाउन थाल्छौँ । हाम्रै घरमाथिको डाँडो कति सुरक्षित छ ? घरमुनिको कुलो र रोडले कतिखेर घर तान्छ, हिसाब राख्दैनौँ । उपभोक्ता समिति बनाएर कीर्ते कागजमा भुक्तानी लिइरहँदा हामीले विकासका नाममा विपत्ति बोलाइरहेका छौँ ।
००००

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

यसरी फेरिदैछ रुपाको रुप   

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन 

प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश 

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन  

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस 

यो पनि पढ्नुहोस