व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

भदौ ३, २०८२

–रामकुमार एलन
केही दिनअघि हेटौँडा–११, नवलपुरमा व्यवसायी गोकर्ण पराजुली भेट भयो । २०५४ र २०७४ का शक्तिशाली घरानिया वडाध्यक्ष हुन् पराजुली । उनीसँगको भलाकुसारीमा के थाहा भयो भने बागमती प्रदेश सरकारले यसवर्ष उनको वडा नम्बर ११ मा ११ वटा जति मन्दिरलाई बजेट छुट्याएको छ । हेटौँडा–११, बागमती प्रदेशका प्रथम मुख्यमन्त्रीको वडा हो । नेकपा एमालेको जिल्ला इञ्चार्ज र केन्द्रीय सदस्यको वडा हो । यस्तै अनेक उपमा छ यो वडाको । स्वयम् पराजुली त्यस वडाका तीन दशक जोडिएका दुई कालखण्डका राजनीतिक अनुहार हुन् । अहिले पनि यातायात व्यवसायीका नेता हुन् । त्यही वडामा मन्दिर र गुम्बाका लागि बजेट यति धेरै कहाँबाट परेको हो, को हुने पार्ने, ल्याउने, काम गर्ने ? जटिल जिज्ञासा, कौतुहलता र प्रदेशको बजेट कार्यान्वयनमै यो एउटा महत्वपूर्ण प्रश्न हो ।

यो वर्ष बागमती प्रदेशको बजेट निकै पेचिलो बन्यो । उसो त पुराना बजेटहरु पनि यस्तै थिए । सुधारको अपेक्षा गर्नु लोकतन्त्रको सुवास हो । तर सुधार गर्न मन्त्रीहरु चाहँदैनन्, सांसदहरु केही बजेट मागेर प्रदेश चाहिन्छ भन्छन्, खबरदारी गर्न सक्दैनन् । यसैले प्रदेश सोचेभन्दा चाँडै कुपोषणले कुरुप छ । दोलखका अर्थमन्त्रीलाई नवलपरासीमा बजेट दिनु पर्ने बाध्यता के हो ? मन्त्री मिल्छ भन्ने र कर्मचारीले मिल्दैन भन्ने प्रदेश साँच्चै आम सर्वसाधारणका लागि हरियो सर्प सावित हुँदै गएको छ । यसले देखाएको रमिता, बजेटका नाममा आफन्तहरुका लागि छरेको कनिका र प्रदर्शन भइरहेको बदमासीको रिहर्सलले प्रदेशबारे शुरुमा चित्र बहादुर केसीले भनेको जस्तै प्रदेश ‘बोको भनौँ नसो छैन, खसी भनौँ बोसो छैन’ भनेजस्तै भइरहेको छ । प्रदेशमा मन्त्री हुँदामात्र केही रकम र पिए, झोलेलाई तर मार्न पाइने नत्र प्रदेश सांसद हुनु भएको वडाको सदस्यजति पनि हैसियत नभएको पक्का हो । बरु वडाध्यक्षले मन परेकालाई जग्गा नै दिन सिफारिस गर्न सक्ने भूमि आयोग भन्दा शक्तिशाली वडाध्यक्ष देखिने, प्रदेश सांसदको कुनै राजनीतिक हैसियत नभएको पक्का हो ।

एक वर्षे मन्त्री हुने प्रणाली २०७४ सालबाटै शुरु भएकाले एक वर्ष मन्त्री हुन चाकरी गर्नु पर्ने बाहेक प्रदेश सभा सदस्यले मेहनत गर्नु पर्ने कुनै पनि विषय देखिएको छैन । कानून कसरी बन्छ, जनताका चाहना के छन् ? जनतामा जानै नपर्ने भएकाले यस्ता विषयहरुबारे प्रदेश सभा सदस्य अनविज्ञ छन् । संसदीय दलका नेताले सौराहा भने सौराहा, काठमाडौँ भने काठमाडौँ र जर्घा भने जर्घा जाने, खाने र हस्ताक्षर या ल्याप्चे मार्नेमा सीमित देखिएको प्रदेश सभा सदस्यको भूमिका । यसको उदाहरण हो हेटौँडा ११ मा मन्दिरलाई बजेट । बागमती प्रदेश सरकारको रातो किताब हेरौँ । त्यहाँ कति मन्दिर, गुम्बा, चर्च र मस्जिदलाई बजेट छ्ुट्याइएको छ ।

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङको भोगाइ यस्तै छ । गाउँपालिकाको बजेटमा चर्चलाई यति धेरै बजेट माग भयो कि झन्डै ३ सय जति चर्चलाई बजेट दिनु पर्ने भयो । यसपछि पालिकाले चर्चको आफ्नै लालपूर्जा भएको अवस्थामा भवन बनाउन बजेट दिने भनेपछि यो संख्या झरेर एकपटक ४० भन्दा तल पुग्यो । यसरी ऐलानी जग्गामा मन्दिर, चर्च, गुम्बा, मस्जिद बनाउने काममा स्थानीय तह र प्रदेश सरकारको बजेट कनिका छरे झैँ छरिएको छ । यसको हिस्सेदार स्वयम् स्थानीय सर्वसाधारण छन् कि छैनन् ? गोकर्ण पराजुलीले भने अनुसार, यस्तोमा बजेट पार्ने र ल्याउने वडामा भेटिएको छैन । अघिल्लो साल गणेश रिजालले ढुंगा ठाडो पारेर, अबिर छर्केर ‘गणेश मन्दिर’ बनाएर उनी बसाइँ सरे । त्यस्तो मन्दिरमा अघिल्लो साल २ लाख रुपैयाँ आएको थियो, यसपालि त्यही मन्दिरलाई १० लाख रुपैयाँ परेको छ । जसले मन्दिर थपना गरे, उनै बसाईं सरेर गइसके । कसले गणतन्त्रको कनिष्ट सन्तान प्रदेशको फाइदा उठाइरहेको छ । न त्यहाँका जनता गणेश मन्दिरमा पूजा गर्न जान्छन् । यो ठिमाहा संस्कृतिको मन्दिरलाई बजेट छुट्याएर कसले तर मारिरहेको छ, खोजीको विषय बनेको छ ।

बजेट किताबमै बजेट उल्लेख हुने तर बजेट ल्याउने र सेवा पाउनेहरु गुमनाम हुने अवस्था प्रथम मुख्यमन्त्रीकै वडामा देखियो भने अन्य वडाका बजेटले के साँच्चैका लाभग्राही लाभान्वित होलान् ? खोजी गरौँ । केही न केही रहस्य त अवश्य भेटिन्छ । गाउँका टाठाबाठा र कर्मचारीको लामो हात पक्कै देखिन्छ । यसले प्रदेश सरकारको अलोकप्रियता झल्काउँछ । केन्द्र र स्थानीय तहलाई संयोजन गर्नु पर्ने हाम्रा प्रदेश सरकारहरु आफू कुर्सीमा पुग्नसके मात्र बजेटका केही अरब रुपैयाँमा तर मार्न पाइने, चम्चाहरुलाई जागिर खुवाउन, निकटकालाई ठेक्का र उपभोक्ता समिति बनाएर कमिसन बटुल्न सकिने भएकाले प्रदेश सरकारमा जानेको होड छ । सरकारमा भएकाहरु पनि बेखुश भएर आफ्नै मुख्यमन्त्रीलाई ह्वाट्स एपमा राजीनामा पठाउने प्रदेशका मन्त्रीहरु संघीयताका घामड हुन्, ऐजेँरु हुन् । जनतामा वितृष्णाको पिँडालु उमार्ने यिनै हुन् । जो नोकरका रुपमा जोकर बनेर मालिकलाई जागिर खुवाएँ भन्ने भ्रममा होलान् । यिनलाई जनताले अर्को चुनावमा कसरी मत दिने ? किन मत दिने ? लोकतन्त्रको गहना बहुमत र बहुमत भत्काउन प्रयोग हुने यो अपांग अल्पमतको बहुमतले लोकतान्त्रिक व्यवस्थाकै हुर्मत लिएको छ । मन्त्रीले नै सरकार ढाल्ने यस्तो प्रदेश जनतालाई पक्कै नराम्रो लाग्नु स्वाभाविक हो ।

यति मात्र होइन, प्रदेशको अर्को कमजोरी भनेको आफू अनुकुल कर्मचारीको सरुवाबढुवा देखिन्छ । आफू अनुकुल कर्मचारी ल्याउने र बजेट अनुसार ठेक्काको मापदण्ड मिलाउने र आफन्तको कम्पनीको हुलियाअनुसारको ठेक्का निकाल्न लगाउने बेहद बदमासी यहाँ देखिन्छ । उसो त काठमाडौँकै ठेक्कामा पनि कर्मचारी र मन्त्रीले आफूअनुकुलका लाई ठेक्का दिन मापदण्ड छिराएर अरु व्यवसायीलाई दुःख दिने गरेका छन् । तर नौ वर्षको प्रदेश सरकारले २ दशक बढी अनुभवी कम्पनी खोजेर ठेक्का दिने कुरा बिल्कुल आफन्तलाई ठेक्का पार्नु र स्वतन्त्र र व्यवस्थित प्रतिपस्र्धी बनाउन नचाहनु नै हो । सरुवाका लागि गर्नु पर्ने चाकरीको फेहरिस्त लामो छ । मन्त्री, सचिव, महाशाखा प्रमुख र त्यही जिल्लाका मन्त्री तथा सांसद र नेताको रुचि नभए प्रदेशमा काम गर्न चाहने कर्मचारीलाई फुटबलजस्तो दर्शकले पनि लात हान्ने पीडा देखिन्छ ।

खासमा व्यवस्थाका लागि क्रान्ति भएको हो । क्रान्तिले नै यो परिवर्तन आएको हो । तर परिवर्तन अहिले मन्दिर, मस्जिद, गुम्बा र चर्च विकासमा केन्द्रित भएको छ । विज्ञान पढाउने शिक्षक नभएकाले गणित पढाउने शिक्षक अभाव भएको छ । नेपाली भाषा ध्वस्त छ । शिक्षाको हालत यस्तो छ कि सरकारी पाठशालामा कक्षा ५ मा पढ्नेले क, ख नलेखेको र लेख्न नआउने बस्ती पनि पुगेको छु । शहरमा नर्सरी, एलकेजी हुँदै कक्षा २ सम्म पुगेकाले पनि क, ख लेख्न नजानेको देखेको छु । यसरी शिक्षा प्रणाली ध्वस्त बनाइएको छ । यसअघि संस्कृति ढालिएको थियो । गाउँका मुकुण्डो, ढ्यांग्रो सबै कसैले किनेर लगेका थिए । अहिलेको पुस्तालाई याद छ कि छैन ? ती मुकुन्डो, ढ्यांग्रो किनेर लैजानेले किन लगे, अहिलेसम्म उनीहरु फर्केर आएनन् । यसरी संस्कृतिमाथि प्रहार भयो । त्यसपछि मन्दिर भत्काउन थालियो, गुम्बा भन्दा बढी चर्चहरु बनाइए । क्यालेन्डर भत्काउने काम भयो । यावत् ढंगले नेपाली भाषा, संस्कृति, सम्पदा, सभ्यता भत्काउने काममा दलका नेताहरुले आँखा चिम्लेर समर्थन गरिदिए ।

यसैको परिणाम अहिले मन्दिर, चर्च, गुम्बा, मस्जिदमा बजेट लैजाने अवस्था बनेको छ । सबै पार्टीका नेताहरु मन्दिरका अध्यक्ष हुने होडमा छन् । जबकि यतिखेर शिक्षा निःशुल्क हुनुपथ्र्यो । सबैले शिक्षा पाउनु पथ्र्यो । तर गुणस्तरीय शिक्षा परको विषय भएको छ । गाउँका टाडाबाठाले शहरमा, शहरकाले सदरमुकाममा, सदरमुकामकाले राजधानीमा र राजधानीकाले विदेशमा छोराछोरीलाई शिक्षाका लागि पठाउनु पर्ने बाध्यता बढ्दै गयो । अहिले हामीसँग करोडौँका विद्यालय, कलेज भवन छन् तर अर्बाैँ रुपैयाँ हामी छोराछोरी विदेश पठाउने नाममा विदेशमा पठाइरहेका छौँ । ती पढेकाहरु उतैको संस्कृतिमा रत्तिन्छन् र यताको संस्कृति बिर्सन्छन् । ठिमाहा संस्कृतिमा हुर्केकाले तिनीहरु न अशल क्रिश्चियन हुन्छन्, न इमानदार हिन्दू वा बौद्धमार्गी हुन्छन् ।

हाम्रो शिक्षा प्रणालीले क्रिश्चियन धर्मको नजानिँदो ढंगले प्रवद्र्धन गरेको छ भन्दा धेरै रिसाउलान् । रिसाउन पर्ने विषय छैन । हिन्दूलाई गैरहिन्दू र बौद्धमार्गीलाई गैरबौद्धमार्गी बनाउने उद्योगका रुपमा शिक्षा, संस्कृति भत्काउने काम यो पछिल्लो ३ दशकमा भएको छ । यसको समीक्षा जरुरी छ । कर्मचारीले लोकसेवा पास गरेको जागिर खानका लागि मात्र सीमित छ । जनताको काम गर्न परे कमिसन र घुसबिना केही पनि हुँदैन । कमिसनको गिफ्ट ह्याम्पर मिलेका दिन नहुने काम पनि धमाधम भएका छन् । कर्मचारीले नै यसरी नहुने काम गरिदिँदा मकवानपुरको बकैयाका आशालाग्दा एउटा वडाध्यक्ष भीमफेदी कारागारमा पुर्पक्षमा छन् । कर्मचारीको भरोसामै धेरै जनप्रतिनिधि डुबेका छन् । आर्थिक मोलमोलाइका कुरा कहिल्यै बाहिर आउँदैन । नेता खराब, अदालत खराब, जनप्रतिनिधि खराब, पत्रकार खराब भन्ने ओठहरुले कर्मचारीको बदमासीमा आँखा चिम्लेर बसेको पनि चार दशक हुनै लागेको देखिन्छ । पहिला नेता, मन्त्रीले कर्मचारी नचाउँथे, अहिले कर्मचारीले सिंगो प्रणाली नचाइरहेका छन् । फसाउन चाहेका खण्डमा कुनै पनि नेता कुनै पनि बेला फस्छन् तर कर्मचारी उम्कने गरेको छ । फेरि पनि हामी नेतालाई मात्र गाली गरिरहेका छन् । नेता चैँ अब गाली गर्न पनि लायक छैनन् ।

राजा र राजपरिवारका लोभीहरुका कारण पञ्चायत बदनाम भयो । नेताहरुका कारण व्यवस्थामा फेरि निरंकुश राजतन्त्र हाबी भयो । यो बीचमा जनप्रतिनिधि नहुँदा कर्मचारी र सर्वदलीय मिलेर दुवै भ्रष्ट भए । लोकतन्त्र, गणतन्त्र र संविधानसभाले फेरि दुवैलाई भ्रष्टाचारमा बराबर हिस्साको व्यवस्था गरेको छ । बदनाम चैँ नेता र जनप्रतिनिधि मात्रै भइरहेका छन् । हुँदाहुँदा निजी बैंकहरुमा समेत कर्मचारीको बदमासी बढेको छ । सहकारीका कर्मचारीहरु सहकारी भन्दा धनी हुने गरेका छन् । नेताले के विदेश भ्रमण र सिफारिस गर्छन्, राज्यको बजेटमा कर्मचारीकै हालिमुहाली र विदेश भ्रमण तथा अध्ययन बिदा देखिन्छ । फेरि पनि हामी कर्मचारी संयन्त्रका दास भएका छौँ किन ? के कर्मचारीको बदमासी पुरस्कारयोग्य र नेता तथा जनप्रतिनिधिको बदमासी कारबाहीयोग्य हो ?

व्यवस्थाकै बदनाम गर्ने मन्दिर, मस्जिद, चर्च, गुम्बा भन्दा विद्यालयको भौतिक पूर्वाधार सुधार, गुणस्तरीय शिक्षक उत्पादनमा बजेट दिउँ भनेर कर्मचारीहरु किन नेता, मन्त्रीलाई सुझाव दिन चाहँदैनन् ? किनभने त्यहाँ कमिसन छैन । यस्ता भौतिक निर्माणमा देखिएको भ्रष्टाचार, डिपिआरका नाममा भइरहेको भ्रष्टाचार र नीतिगत भ्रष्टाचारमा कर्मकारीको पनि उस्तै मदत र मिलिभगत छ । वश नेताहरु मात्र बदनाम छन्, व्यवस्था मात्र बदनाम छ । समग्रमा यो व्यवस्थाका लागि खबरदारी गर्नु पर्नेहरु पनि कमिसनको चास्नीमा डुबेको र कुनै पनि बेला फाइल ‘उम्रन सक्ने’ भएकाले सबै भयभित देखिन्छन् । भएको यति मात्र हो । यो गणतन्त्र र संघीयता तथा प्रदेश अभ्यासकै गलगाँडका रुपमा विकसित भइरहेको छ । ००००

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

राहदानी सेवा दुई दिन बन्द हुने

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

नयाँ मुख्यसचिवमा कार्की नियुक्त

प्रतिनिधिसभाः रासायनिक मलको सहज व्यवस्था गरियोस्

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

तुइन खोलामा पहिरो रोकथाम सुरु

वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छः मन्त्री चौधरी

यो पनि पढ्नुहोस