अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन्।
फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन्।
‘अहिले दिने सोचमा छैन। तर भविष्यमा परिस्थितिअनुसार निर्णय फेरिन सक्छ,’ ट्रम्पले भने।
उनले युक्रेनलाई तोमहक मिसाइल दिँदा रूससँगको युद्ध थप चर्किन सक्ने बताए। त्यसकारण तत्काल मिसाइल दिन निर्णय नभएको भनेर ट्रम्पलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अक्टोबर २२ मा ट्रम्प र नाटोका महासचिव माक रुट्टबीच व्हाइट हाउसमा भएको भेटमा तोमहक क्षेप्यास्त्रबारे छलफल भएको थियो।
रुट्टले गत शुक्रबार उक्त विषय हाल पनि अध्ययनमा रहेको र अन्तिम निर्णय अमेरिकाले नै गर्ने बताएका थिए।
यसअघि तोमहक मिसाइलकै विषयमा कुरा गर्न ह्वाइट हाउस पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रित्तो हात फर्किएका थिए।