धादिङ : स्थानीय सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ सम्बन्धी तीनदिने तालिम आजदेखि धादिङको बेनीघाट रोराङमा सुरु भएको छ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले वेनिघाट रोराङ गाउँपालिकाको सहयोगमा तालिम संचालन गरेको हो । तालिममा धादिङ जिल्लाभित्र रहेर विभिन्न संचारमाध्यममा कार्यरत २६ जना पत्रकार सहभागी छन् ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले एआईजस्ता आधुनिक प्रविधिले पत्रकारितामा नयाँ सम्भावना खोलिदिएको धारणा राख्नुभयो ।
“एआईले पत्रकारिता सजिलो मात्रै बनाउने होइन, जिम्मेवारी पनि बढाउँछ,” अध्यक्ष थपलियाले भन्नुभयो, “यस्तो तालिमले तथ्यपरक र विश्वसनीय सूचना प्रवाहमा मद्दत पुग्नेछ ।” विकास–निर्माणका विषयलाई पत्रकारिताले निरन्तर एजेण्डा बनाइरहन पनि आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले विकास पत्रकारिता आजको आवश्यकता बनेको उल्लेख गर्दै स्थानीय विकासका मुद्दा उठान र तथ्यमा आधारित रिपोर्टिङमा एआईको उपयोग महत्वपूर्ण बनेको बताउनुभयो । “पत्रकारितामा प्रविधि अनिवार्य भइसकेको छ । एआईलाई सही तरिकाले प्रयोग गर्न सके स्थानीय पत्रकारिताको स्तर अझै उकासिन्छ,” अधिकारीले भन्नुभयो ।
मंसिर १५ देखि १७ गतेसम्म सञ्चालन हुने तालिममा सहभागी पत्रकारहरूलाई विकास पत्रकारिताका सिद्धान्त, तथ्य संकलनका विधि, स्थानीय विकासका मुद्दा पहिचान तथा एआई उपकरणहरूको प्रयोगबारे व्यावहारिक प्रशिक्षण दिने कार्यक्रम छ। तालिमले जिल्लामा विकास पत्रकारिता सुदृढ गर्न, प्रविधि–मैत्री समाचार लेखन प्रवर्धन गर्न तथा स्थानीय सञ्चारकर्मीलाई सक्षम बनाउने लक्ष्य राखिएको छ।