म यो पुस्ताको लागि लेख्दिनँ । म अन्य युगहरूका लागि लेख्दै छु । यदि यसले मलाई पढ्न सक्यो भने, तिनीहरूले मेरा पुस्तकहरू, मेरो सम्पूर्ण जीवनको काम जलाइदिनेछन् । अर्कोतर्फ, यी लेखहरूको व्याख्या गर्ने पुस्ता शिक्षित पुस्ता हुनेछ; तिनीहरूले मलाई बुझ्नेछन् र भन्नेछन्, ‘हाम्रा हजुरबा हजुरआमाको रातमा सबै सुतेका थिएनन् ।’
–जोस रिजाल
१९ औँ शताब्दी शुरु नहुँदै फिलिपिनो लेखक जोस रिजालले आफ्नो कलिलो जीवनमा यो के अन्तर्यको कुरा गरे, २१ औँ शताब्दीको अन्त भएर २२ औँ शताब्दीको यात्राउन्मुख हामी अझै बुझ्न सकिरहेका छैनौँ । पुस्ताका लागि लेख्न छाडेर युगका लागि लेखेकाले उनले दुई शताब्दीअघि लेखेको यो वाक्ले अहिले पनि हाम्रो मथिंगलमा गल लगाएर फोहोर पल्टाएर राम्रो कुरा उमार्नका लागि लगभग गोर्खेलौरीले नै हान्नु पर्ने अवस्था छ । जबकि युगका लागि लेखिएकाले उनलाई कलिलो उमेरमै मृत्युदण्ड भयो र आज दुई शताब्दीपछि बल्ल हामी उनले लेखेका बुझन् खोज्दैछौँ । शासकहरुले उहिले बुझेर कलिलो उमेरमै लेखको इहलीला इन्तकाल गरिदिए ।
फिलिपिन्सका महान् लेखक–विचारक जोस रिजालले १९औँ शताब्दी क्रान्तिको अँध्यारो भित्तामा एउटै टल्किने प्रश्न टाँसे, ‘म यो पुस्ताका लागि लेख्दिनँ; म अन्य युगहरूका लागि लेख्दै छु ।’ यो सामान्य वाक्य होइन, साहित्यले धारण गर्ने समय–ऊर्जा, दर्शन र मानवीय जटिलताको सबैभन्दा गहिरो उद्घाटन हो । आज २१औँ शताब्दीको अन्त्य उक्लँदै २२औँतिर यात्रा गरिरहेका हामी अझै यो वाक्यको अर्थ टुङ्ग्याउन सकिरहेका छैनौँ, जसरी हाम्रो समाज अझै नयाँ वर्षको क्यालेन्डर बोकेर पुरानै चेतनाको बाटो हिँडिरहेको छ ।
रिजालले देखेको एउटा सानो सत्यः ‘लेखक आजका लागि होइन; लेखक समयभन्दा अघि उभिने जीव हो’, हाम्रा समाज, राजनीति, समुदाय, भाषा र पिँढीगत द्वन्द्वसँग टाँसिएको युगीन प्रश्न हो । र, यही प्रश्नले फेरि उठाउँछ, ‘के लेख्ने ? किन लेख्ने ? कति लेख्ने ? र, आखिर कहिलेसम्म लेख्ने ?
१. के लेख्ने ?
पक्कै पनि ‘आज’ भित्र लुकेको ‘भोलि’ लेख्ने । लेखनको शुरु नै प्रश्नबाट हुन्छ । जोस रिजालले आफ्नो समयमा उपनिवेशवादी अत्याचार, सामन्ती सोच, र शिक्षा–चेतनाको अभावलाई खुला किताबजस्तै खोले । तर उनले लेखेका शब्द उनी बाँच्दासम्म पूर्ण रूपमा ‘बुझिने’ शब्द थिएनन् । समयभन्दा अघि जन्मिएको चेतना प्रायः आफ्नै देशमा अनाथ हुन्छ । यस्तै, हामी आधुनिक युगमा लगभग निशस्त्र छौँ । हामीसँग इन्टरनेट छ । यो कसले दिइरहेको छ, थाहा छैन । अस्ति मात्रै नेपालका मै हुँ भन्ने अनलाइनहरु झ्याप्प भए । ‘क्लाउडफेर’मा समस्या आयो भने । नेपाली हौँ तर ‘दौराको फेर’ पनि बिर्सेका बेला यो क्लाउडफेर को हो, थाहा पाएनौँ । कसैले एक निमेषमै हाम्रो फूर्ति अर्थात् अनलाइनको साहु, सम्पादक भन्ने घमण्ड त खरानी बनाइदिने रहेछ । यो आज थाहा पाइएको विषय थिएन । भोलि यस्तो हुन्छ भन्ने ज्ञान हाम्रा साहु, सम्पादकहरुलाई भएन, जसरी सबै थाहा हुँदाहुँदै पनि भदौ २४ गते चैँ नेपालमा नेताहरुको घर छानिछानी जल्छ भन्ने थाहा भएन । यसैले भोलि के हुँदैछ भनेर हामीले थाहा दिन पनि लेख्नुपर्छ भनेर लेखिएकै छ ।
हामी पनि निरन्तर यही द्वन्द्वमा बस्छौँः समाज अहिले जे देखिरहेको छ, लेखनले त्यो लेख्ने कि समाजले भविष्यमा देख्नुपर्ने कुरा लेख्ने ? यो जटिलताभित्र लेखकहरु हराइरहेका छन् । सानो र अराजक समाजका सदस्य हौँ हामी । केही लेखिहाले एक हूल बाटोमा छोराछोरीलाई तर्साउँछ । अर्को हूल घर पुगेर आमाबाबुलाई थर्काउँछ । अर्को हूल भाइबहिनीको अफिस तोडफोडमा पुगिसक्छ । यसैले, ‘भयो–छाडिदिउँ’ भनेर लेखक पनि कसैको प्रशंसामा रमाउन थाल्छ, ‘लोकल कस्मेटिक’ अस्तित्वका लागि दासत्व स्वीकारेर स्वास्नी, छोराछोरी पाल्न केही हजार रुपैयाँ उपलब्ध हुने निबन्ध लेखेर लेखक ‘गधा जूनी’ काटिरहेको छ ।
आज लेख्नेहरूलाई सामाजिक सञ्जालले पनि ‘झटपट ताली’ दिन्छ । दृश्यात्मक मान्यता र छोटो खालका प्रतिक्रिया लेखनलाई क्षणिक बनाइरहेका छन् । तर युगले माग्ने लेखन त्यस्तो हुँदैन । युगको लेखनले आजको सतह मात्रै होइन, आजका भित्ता, हड्डी, रेखा र घाउसम्म प्रवेश गर्नुपर्छ । भोलि फेरि कसैको घाउ यो भन्दा चर्केर अंग नै कुहिएर झरोस् । अहिले गणतन्त्रको प्रदेश लगभग यस्तै घाउले कुहिएर झर्ने अवस्थामा छ । भला आजको भोलि राजतन्त्र त नआउला तर प्रदेश त लगभग ऐँजेरु भएको पक्का हो ।
त्यसैले के लेख्ने ?
उत्तर सरल छः आजको भित्री नाडी छामेर भोलिको चेतनाले बुझ्ने कुरा लेख्ने । के हामी त्यस्तो लेखिरहेका छौँ त ? लेखेको कसले पढ्छ, साहुले दिने रु. हजार–पन्ध्रसयका लागि के दिमाग खर्च गर्ने भन्न थालेका छौँ । धन्न साहुले दिइरहेका छन् । खासमा भन्ने हो भने हामीले दिमाग खर्च गर्न छाडेका हैनौँ, हाम्रो दिमागै छैन भन्दा अरुले उडाउछन् र मजाक गर्छन् भनेर दिमाग खर्च नगरौँ भनेका हौँ । साँच्चै छामेर हेरौँ त हाम्रो दिमाग त छ ? छ भने खोइ त लेखनको अर्थ बुझाउन सकेको ?
२. किन लेख्ने ?
बाँच्दाका कुरा भन्दा बाँचिसकेपछि अर्थ पाइने कुरा लेख्ने विषयमा हामी कमजोर भएका छौँ । अध्ययन गर्न छाडेका छौँ । घरमा भएका किताब हामीले ‘खाली शिशी’जस्तै ‘रद्दी’मा बेचिसक्यौँ । पुस्तकालय नगएको धेरै भयो । बजारमा आएको नयाँ पुस्तक किनेका छैनौँ । कसैले मोबाइलमा किताब पढ् भनेर पुस्तकको पिडिएफ पठाइदिए पनि हामी सामाजिक सञ्जाल हेर्छौँ र बुद्धिजीबी भएको घमण्ड गर्छौँ । भोलिको समाज कस्तो होला भनेर सोच्न छाडेका छौँ । कतिसम्म भने निदाएर मोबाइल निधारमा झरिसक्यो, हामी टिकटक हेरेर संसार जानेको भ्रममा छौँ । अनि समाज बदल्ने कुरा कसरी लेख्न सक्छौँ ?
जोस रिजालले आफ्नो पुस्तक नोली मि तेङजेयर (टच मि नट) र यसकै सिक्वेल इआइ फिलिबस्तेरिज्मो (द रिबेलियन) लेखेका थिए । जहाँ उनले लेखेका शब्दहरुबारे उनलाई थाहा थियो कि, यी शब्दहरूले तत्कालै परिवर्तन ल्याउँदैनन् । तर बह भन्न खोज्थे, ‘एक युगले नबुझेको कुरा अर्को युगले बुझ्छ ।’ जुन हामीकहाँ भइरहेको छ । सत्तामा पुग्ने, आफन्त व्यवस्थापन गर्ने, अकुत कमाउने, समाजसेवाका नाममा टेलिकमबाहेक यातायात, स्वास्थ्य, शिक्षा, सञ्चार र धर्ममा जुन खालको ‘नेपालीटाइप’को व्यापारको रडाको यो ३० वर्ष मच्चाइयो । यसले विद्रोह अन्त्य गरेन, नयाँ नयाँ ‘भेरियन्ट’मा उत्पादन गर्न थाल्यो । हालै डिस्कर्ड र रेडिटमा भएको जेन्जी कुराकानीले सत्ता मात्रै ढालेन, देशमा खरानीको उत्पादन पनि कैयौँ साललाई पुग्ने गरी भएको छ ।
खासमा राष्ट्रिय चेतनाका बीउ रोप्न सकेका छैनौँ ।
हामी किन लेख्छौँ?
मानिन्छः लेखन आफ्नो पुस्तालाई सम्झाउने होइन, अगाडिका पुस्तालाई सम्झाइराख्ने हो कि ‘हामी निदाएको थिएनौँ ।’ हो, आज हामीले गरेको चिन्तनले भोलिका पुस्ता हामीलाई नसरापून् । उनीहरुका पालामा पनि उनीहरु राष्ट्र, राष्ट्रियता, स्वाभिमान, राज्यको भविष्य र प्रगतिशील कुरामा सकुन्जेल घोत्लिएका रहेछन् भन्ने सन्देश हामीले दिनु पर्छ । यहाँ त सबै बुढेसकालमा भ्रष्टाचारले डामिएर छोरानातिको फोटोसमेत फेसबुकमा पनि हाल्न नसक्ने होलान् भन्ने भय छ ।
रिजालले भने झैँ, ‘शिक्षित पुस्ता’ले मात्र बुझ्नेछ यसका गहिराइ । त्यही भएर लेखन तत्काल परिणामको सौदाबाजी होइन । आजै एक छाक मासुभातका लागि लेखिने होइन । आजको साँझ रिमरिम र रमरम हुनका लागि लेखिने होइन । यो त पाठक, स्रोता, दर्शक र आफैँलाई गहिरो खाल्डोमा हाल्ने सजिलो उपाय मात्रै हो ।
यसैले लेखन समयसँग गरिने एक प्रकारको दीर्घकालीन सम्झौता हो । ‘तिमी आज म बुझ्दैनौ, तर एक दिन तिमीलाई चाहिएको सत्य यही थियो ।’
३. कति लेख्ने?
मात्रा होइन, मथिंगल हल्लाउने कागज लेख्ने हो । टिकटकमा ज्वरोजस्तो दुई दिन, सात दिन भाइरल हुने कुरा लेख्ने होइन । अचेल त फिल्म, गीत, अभिनय सबै भाइरल अर्थात् । एउटा सिटामोल खाएपछि तापक्रम घट्दै जाने ज्वरो जस्तो । कालजयी लेख्नेहरुको पुराना रचनाले नै हामी उँभो लागिरहेका छौँ । भाइरल गीतहरुले बुढाको दौरासुरुवालमा टिकटक त बनाइएको छ । केही समयपछि यो कामै नलाग्ने र आफैँलाई लाजलाग्ने जिनिसमा परिणत भइसकेको हुनेछ ।
लेखनको संसारमा कति लेख्ने भन्ने प्रश्न सामान्य देखिए पनि यसको उत्तर शताब्दीयौँदेखि जटिल नै छ । सामाजिक सञ्जालले लेखनलाई ‘दैनिक खपत’ को सामग्री बनाइदिएको छ । आज मानिसहरू लेखेका भेटिन्छन् । कोही पाँच लाइन लेख्न नसक्ने लेखक र वरिष्ठ पत्रकार छन् । कोही दश लाइन तलमाथि पारेर लेखेर स्वास्नी, छोराछोरी पालेर वेशीमा घडेरीसम्म किन्ने भएका मूर्धन्यहरु छन् ।
जसले के लेख्यो भनेर पढ्न एक मिनेट पनि लाग्दैन । बिसर्न पनि एक दिन भन्दा बढी लाग्दैन । राति उखुबारीमा कराउने स्यालको स्वर कराइजेल ठूलो हो, त्यो पनि आधा त निदाइसकेकाले सुन्दैनन् । सुन्नेले बिहान उठ्दा स्याल कराएको बिर्सिसकेको हुन्छ । यस्तै छ हाम्रा वरिष्ठ लेखक र पत्रकारहरुको लेखाइ । जसले अहिलेसम्म सदाबहार हिरो भुवन केसीलाई चिन्छ । राजनीतिमा कैयौँ परिवर्तन आइसके । उनीहरु चैँ अझै पनि ठूला नेता भनेर बुद्धिमाङ तामाङ, राजेन्द्र पाण्डेकहाँ ‘ठूली’ गरेँ भन्दै पुग्छन् र ‘भाग्यमानी भएस्’ खाएर फर्कन्छन् ।
यसैले युगका लागि लेखिने कुरा यति सजिलो हुँदैन । जोस रिजालका ग्रन्थहरू धेरै छैनन्, तर पर्याप्त छन् । स्तोत्र वा शास्त्र पनि कति छन् ? धेरै छैनन् नि । तर ती कालजयी छन् । संसारभरका हिन्दूको न्वारान गर्ने शास्त एउटै होइन ? जो अहिलेसम्म पुरेतहरुले ‘उम्, उम्, त्रिपन्ताम’ भनेर कनिकुथी पढिरहेका छन् । लेख्नेहरु कति दूरदर्शी रहेछन् त ?
त्यसैले, प्रश्न–
कति लेख्ने ?
उत्तरः जति लेख्दा शब्दले युगको धड्कन छामोस्, त्यति मात्रै लेख्ने ।
युगका लागि लेख्नेहरू ‘किताबको थुप्रो’ बनाउँदैनन्, तर चेतनाको घनत्व बढाउने शब्दहरू जन्माउँछन् । लेखनको मूल्य पृष्ठको संख्यामा होइन, पृष्ठले उठाउन सक्ने कम्पनको गहिराइमा हुन्छ ।
४. कहिलेसम्म लेख्ने ?
समयसँग होइन, सत्यसँग नाता टुंगिनेसम्म लेखिरहने । तपाईं को हो, म चिन्दिनँ, तपाईं कि मलाई स्वाद मानेर पढिरहनु भएको छ, कि मलाई झूर झोले भन्दै सरापिरहनु भएको पक्का हो । यति नुबझे लेखकले लेख्ने हिम्मतै गर्दैन ।
अतः तत्काल नबुझिने लेखियो भनेर गाली नगर्नु होला जो समय आएपछि सबैभन्दा बढी र अत्यन्त बुझिने हुनपनि सक्छ !
लेखकले आफ्नो लेखन कहिलेसम्म निरन्तर राख्ने ?
उत्तरः लेखन तबसम्म लेख्ने, जबसम्म आफ्नो सत्यको बोझ हल्का हुँदैन । युगको सत्य एक दिनमा सुल्झिँदैन । यसलाई उज्यालो पार्न लेखकले धेरै रातहरू त्याग्नुपर्छ । यसैले जोस रिजालले भनेका हुन्, ‘हाम्रा हजुरबा–हजुरआमाहरू रातमा सुतेका थिएनन् ।’ आफ्नो देश, समाज, इतिहास र भविष्यका लागि अनिद्रा बोकेर हामी देशको मायामा सकारात्मकतासहित जुटौँ । किनभने हामीलाई अहिले लोकप्रियता होइन, दीर्घकालीन प्रभाव चाहिएको छ । ताली होइन, इतिहासको चिहान हल्लाउने साहस खोज्नु छ । आजको चिसो माटोभित्र भोलिका लागि आगोका बीउ गाड्ने हिम्मत लेखकमा हुनुपर्छ । किनकी लेखन अब पुस्ताको होइन, मानव युगको जिम्मा हो । हामी २२औँ शताब्दीको दैलोमा छौँ । प्रविधि, मिडिया, सामाजिक चेतना, भूराजनीति—सबै अतिवेगमा बदलिँदै छन् । तर लेखनको मूल प्रश्नः के लेख्ने, किन लेख्ने, कति लेख्ने, कहिलेसम्म लेख्ने ? आज पनि हामी यही शुरुवातमा भड्किरहेका छौँ । किनभने हामीलाई कसैले बुझेन भन्ने बहुमत लेखकहरुलाई थाहा छैन कि हामीले किन बुझ्ने पात्र बनेर लेख्न सकेनौँ ? अतः पिँढी–पिँढीको बादल हटाउने गरी लेख्न म प्रयास गर्नेछु, तपाईं पढिदिनुहोला, प्रतिक्रिया दिएर मानव समाजको यो मनोदशा छुट्यो नि भनेर बेलाबेला चिमोटिदिनुहोला ।
@ramkumarelan
००००