बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’   

मंसिर २८, २०८२

गलकोट ,बागलुङ :  पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन् ।

घरबास पुग्नुभएका सामाजिक व्यक्तित्व डा सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताउनुहुन्छ । यहाँ पाउने अन्य परिकारसँगै धेरैको रोजाइमा कोदोका परिकार बढी रहेका छन् । पाठकलाई पनि आतिथ्यता, सांस्कृतिक कार्यक्रमसँगै बिहानको खाजामा दिइने कोदोका परिकारले झनै मोहित बनाएको थियो ।

उहाँले कोदोको ढिडो र रोटी खाए पनि सेलरोटी पहिलोपटक खान पाएकामा खुसी व्यक्त गर्नुभयो । “सामाजिक काममा धेरै स्थानमा पुगियो, धेरै घरबासमा खानाका परिकार चाखियो, तर कोदोबाट बनेको सेलरोटी बेलढुङ्गा सामुदायिक घरबासमा देख्न र चाख्न पाइयो । यो निकै मन प¥योे”, डा पाठकले भन्नुभयो, “घरबास चल्नका लागि खानाको परिकार, संस्कार, संस्कृति र प्रकृतिको संयोजन हुन आवश्यक रहेछ, जुन कुरा बेलढुङ्गा आएपछि देखियो । यहाँको आतिथ्यता र बेलढुङ्गाबाट आँखैअगाडि देखिने हिमालले मोहनी नै लगायो ।”

पाठकलाई मात्रै होइन गरिबको खान्की भनेर चिनिँदै आएको कोदोका परिकार सामुदायिक घरबास आउने अधिकांश पाहुनाको रोजाइमा पर्न थालेका छन् । घरबासमा कोदोको रोटी, सेलरोटी, कोदो र फापरको ढिडोसँग लोकल कुखुरा र खसीको मासु तथा भाँगो राखेको आलुको अचार मुख्य परिकारका रूपमा रहेका छन् ।

आगन्तुक पाहुनाले ढिडो, सेलरोटी, फापरका परिकार, उसिनेको आलु, सिल्टुमरको चटनी, आलु चिप्स, अचार, आलुको रोटीलगायत परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको हो । घरबासमा प्रगतिशील आमा समूहले पाहुनाको स्वागत तथा सांस्कृतिक कार्यक्रमको व्यवस्था मिलाउँदै आएको छ । आमा समूहका अध्यक्ष माया घर्तीले पाहुनालाई घरबासको सभाहलमा स्वागत तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको बताउनुहुन्छ । “राति पाहुनालाई सांस्कृतिक कार्यक्रमसहित सत्कार गर्छौं, खानाको कुरा त भइनै हाल्यो । पाहुनाले बिहानै बेलढुङ्गामा पुगेर सूर्योदय र हिमाल हेर्छन् । घरबासमा चितवन, पोखरा, म्याग्दी, पर्वत तथा बागलुङबाट पाहुना आउने गरेका छन् ।”

यो स्थान काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा अवस्थित छ । सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि यहाँ पर्यटक आगमनमा वृद्धि भएको छ, जसको फाइदा धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासलाई भएको छ । दुई हजार ६१४ मिटरको उचाइमा रहेको बेलढुङ्गा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।

विसं २०७५ मा यो स्थापित सामुदायिक घरबास हाल १० घरमा सञ्चालित छ, जहाँ एक रातमा ३० जनासम्म राख्न मिल्छ । घरबास सञ्चालक गोपाल श्रीस घरबासमा आयातित खाद्य सामग्रीलाई निषेध गरी स्थानीयस्तरमा उत्पादित खानाका परिकारलाई विशेष रूपमा प्रवर्द्धन गर्ने गरिएको बताउनुहुन्छ ।

“गाउँमै उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, साग तथा फापरको व्यावसायीकरण र अन्य उत्पादनलाई समेत प्रवर्द्धन गर्न अब गाउँलाई ‘अग्र्यानिक भिलेज’का रूपमा स्थापित गर्ने योजना छ”, उहाँले भन्नुभयो, “गाउँमा रासायनिक मल निषेध गरिएकाले अग्र्यानिक कृषि उपजले पाहुनालाई स्वागत गर्न सहज भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश 

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन  

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस 

‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’

बागमती प्रदेश सरकारको नौ महिनाको खर्च २३ प्रतिशत    

जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलनः पर्यटन प्रवर्द्धनमा जोड 

यो पनि पढ्नुहोस