आदिकविको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाइँदै  

पुस २३, २०८२

दमौली (तनहुँ)  : भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिने सो गुरुयोजनालाई मङ्गलबार बसेको भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो । स्वीकृत गुरुयोजनाअनुसार उद्यानको पुनर्निर्माणका लागि करिब रु एक अर्ब बजेट अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सहरी विकास मन्त्रालयबाट रु २० करोड बजेट विनियोजन भइसकेको छ ।

उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्र सडक निर्माण गरिनेछ भने ५४ फिट उचाइको आदिकवि भानुभक्त आचार्यको प्रतिमा निर्माण गर्ने योजना रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँले गत आर्थिक वर्षमै रम्घाडाँडामा आवश्यक ‘रिटेनिङ वाल’ निर्माण तथा जग्गा अधिग्रहण काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म गुरुयोजना कार्यान्वयनका लागि करिब चार सय रोपनी जग्गा प्राप्त भइसकेको छ ।

उद्यानलाई साहित्य, संस्कृति र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बहुवर्षीय योजनामा समावेश गर्न आवश्यक प्रक्रिया अघि बढाइएको नगरप्रमुख त्रिपाठीको भनाइ छ । उहाँले भन्नुभयो, “गुरुयोजना कार्यान्वयनपछि उद्यानमा साहित्यिक संरचना, सांस्कृतिक प्रतीक, पर्यटकीय पूर्वाधार तथा अध्ययन, अनुसन्धानका सुविधा विकास गरिने अपेक्षा गरिएको छ ।” भाषाका माध्यमबाट जोड्ने आदिकविको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो, “राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारका सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।”

साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिनेछ । नगरप्रमुख त्रिपाठीका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ ।

रम्घाकोटमा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्नु, नेपालको सामाजिक तथा सांस्कृतिक एकीकरण प्रक्रियामा भानुभक्तले दिएको योगदानलाई परिलक्षित गर्न नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी सप्तधाम निर्माण गर्नु, रम्घाडाँडामा भानुभक्तकालीन घरबस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्राङ्कित रूपमा प्रदर्शन गर्नु यसको उद्देश्य रहेको छ । भानु साहित्यिक उद्यानका लागि हालसम्म रु एक करोड ८० लाख खर्च भएको छ । साहित्यिक उद्यान निर्माणका लागि पछिल्लो दुई आर्थिक वर्षमा गरी रु एक करोड ८० लाख ४१ हजार ५०० खर्च भएको जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

छ सय सोह्र विपद्का घटनामा ३४ जनाको मृत्यु

कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै  

धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याउन सुरु

बाख्रापालनबाट स्वरोजगार   

गल्छी–रसुवागढी सडकका अतिक्रमण हटाउन सुरु   

माइक्रोबस दुर्घटनामा १२ जना घाइते

यो पनि पढ्नुहोस