धादिङमा माघ १३ गतेदेखि २५ गतेसम्म एकीकृत परिवार व्यवस्थापन शिविर सञ्चालन हुँदै 

माघ ८, २०८२

धादिङ : जनस्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न आठ पालिकामा पायक पर्ने स्थानमा एकीकृत परिवार व्यवस्थापन शिविर (परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर) सञ्चालन गर्ने भएको छ । स्थानीय पालिकाहरुको समन्वय, सहकार्यमा सुनौलो परिवार नेपाल / मेरी स्टोप्स (एमएसआई)को प्राविधिक सहयोगमा यही माघ १३ गतेदेखि माघ २५ गतेसम्म ती पालिकाभित्रका विभिन्न स्वास्थ्य सस्थामा शिविर सञ्चालन हुने जनस्वास्थ्य कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनाका अनुसार सो शिविर बेनीघाट गाउँपालिकास्थित बेनीघाट आधारभूत अस्पतालमा माघ १३ , धुनेबेसी नगरपालिकास्थित नौबिसे स्वास्थ्य चौकीमा माघ १५, थाक्रे गाउँपालिकास्थित महादेवबेसी स्वास्थ्य चौकीमा माघ १८ गते, गल्छि गाउँपालिकास्थित बैरेनी अस्पतालमा माघ १९ गते, गजुरी गाउँपालिकास्थित गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा माघ २० गते, सिद्धलेक गाउँपालिकास्थित कुम्पुर स्वास्थ्य चौकीमा माघ २२ गते,त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा माघ २४ गते र नीलकण्ठ नगरपालिकास्थित धादिङ अस्पतालमा यही माघ २५ गते सञ्चालन हुने जनाइएको छ । शिविरमा परिवार योजनाका सम्पूर्ण साधनहरूको सेवा निःशुल्क उपलब्धता हुनेछन् । ती सेवाअन्तर्गत परिवार योजनाका स्थायी माध्यम ‘मिनील्याप’ (महिला बन्ध्याकरण), ‘भ्यासेक्टोमी’ (पुरुष बन्ध्याकरण), परिवार योजनाका लामो अवधि काम गर्ने आइयुसिडी, इम्प्लान्ट र छोटो अवधि काम गर्ने परिवार योजनाका साधन तीनमहिने सुई (डिपो), खानेचक्की पिल्स र कण्डम रहेका छन् ।
    
समन्वयात्मक ढाँचामा ‘एकीकृत परिवार योजना शिविर’ सञ्चालन    

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले पछिल्ला वर्षहरूमा परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेष गरेर एकीकृत परिवार योजना शिविर सञ्चालन गर्न सेवाप्रदायक सस्थासँग समन्वयात्मक र साझेदारी नीति अवलम्बन गरेको छ ।

जिल्ला जनस्वास्थ्य/ स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमै एकीकृत परिवार योजना शिविर सञ्चालनमा स्वास्थ्य कार्यालयलाई प्राविधिक सहयोग पुर्याउने समझदारीको ढाँचा रहेको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाले जनाएको छ । यसबाट परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर बढाउन परिवार व्यवस्थापनका सेवालाई अझ सुदृढ बनाउन सहयोग पुग्ने जनाइएको छ ।

जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (२०२२) का अनुसार परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर ५३ प्रतिशतमा सीमित छ । आधुनिक परिवार योजना (नियोजन) सेवाको प्रयोगदर ४२.८ भन्दा माथि उक्लिन सकेको छैन । अझै प्रजनन उमेरका २३.७ महिलाले परिवार नियोजनको सेवा उपलब्ध गर्न पाएका छैनन् । अर्कातर्फ नेपालमा जन्मदर घट्नु र असुरक्षित गर्भपतन बढ्नु चिन्ताको विषय मानिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका कुल ३५ प्रतिशत किशोरीको १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको छ । त्यसैगरी, विवाहको कानुनी उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्षको उमेरमा र ७६ प्रतिशतको २० वर्षको उमेरमा विवाह भएको पाइन्छ । नेपालमा १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा वा गर्भवती भइसकेका हुन्छन् ।

परिवार योजना आवश्यक पर्ने दम्पती एवं अन्य महिलालाई लक्षित गरेर स्वास्थ्य मन्त्रालयले हरेक वर्ष निःशुल्क एकीकृत परिवार योजना शिविर सञ्चालन गर्दै आएको छ । परिवार व्यवस्थापन कार्यक्रमसहित शिविरका लागि कम लगानी गरिँदा परिवार योजना कार्यक्रम नै सङकटमा परेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जिल्ला जनस्वास्थ्य/ स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत परिवार योजना आवश्यक पर्ने सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमा एकीकृत परिवार योजना सेवा शिविर आयोजना गर्ने समझदारीका ढाँचामा सेवा प्रदान गर्ने नीति अवलम्बन गरिएको र यसबाट सेवाप्रवाह प्रभावकारी र चुस्त भएको जानकारी दिनुभयो ।

परिवार योजना एवं सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएकोएमएसआई नेपालका वरिष्ठ सल्लाहकार केपी उपाध्याय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत एकीकृत परिवार योजना शिविर सञ्चालनको ‘मोडालिटी’ले विशेष गरेर विपन्न समुदायसम्म परिवार योजनाको सेवाको पहुँच पुर्याउने काम गरेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “हामी जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयले पालिका तहहरूसँग समन्वय र सहकार्यमा शिविर सञ्चालन गर्न प्राविधिक सहयोग गर्दछौँ । यसका लागि ती निकायसँग समझदारी गर्दछौँ । ग्रामीण क्षेत्रका गरिब, बिपन्न , सीमान्तकृत समुदायसम्म परिवार योजनाका सेवाको पहुँच पुर्याउन लागिरहेका छौँ । ”

उहाँका अनुसार समझदारीमा कुन निकायले के सेवा प्रदान गर्ने भन्ने कुरा स्पष्ट उल्लेख गरिएका हुन्छन् । पालिका तहले आवश्यकताका आधारमा शिविर सञ्चालन गर्ने, स्थान छनोट गर्ने, यसका बारेमा सेवाग्राहीलाई घरदैलोमा नै पुगेर शिविरका बारेमा जानकारी दिने र सुनौलो परिवार नेपालका ‘मेडिकल टिम’मार्फत सेवा प्रदान गर्ने अवधारणाले सेवा प्रदान भइराखेको वरिष्ठ सल्लाहकार उपाध्यायले जानकारी दिनुभयो । संस्थाले अहिले सातवटै प्रदेशलाई समेट्नेगरी नौवटा ‘मेडिकल टिम’ परिवार योजनाका शिविरमा परिचालन गरेको छ । २० वर्षभन्दा कम उमेरमा विवाहलाई अन्त्य, परिवार योजनाका साधनमा पहुँच पुर्याउन, सुरक्षित गर्भपतन सेवालाई विस्तार र यौन तथा प्रजनन स्वास्थ्य चेतनामा अभिवृद्धि गर्न अझै पनि चुनौती छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

यो पनि पढ्नुहोस